Logo
१७ बैशाख २०८१, सोमबार
(April 16, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुदूरपश्चिमका प्रदेश प्रमुखलाई एकीकृत समाजवादीको पत्र : मुख्यमन्त्रीमा लक्ष्मणकिशोरलाई समर्थन छैन

 सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको पत्र प्रदेश प्रमुखलाई बुझाएको छ ।

मंगलबार एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता दीर्घ सोडारीले प्रदेश प्रमुख नजिर मियालाई एक पत्र बुझाउँदै लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको जानकारी गराएको हो ।

यसअघि गत आइतबार चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गर्दा आफ्नो दलसँगै नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थन रहेको उल्लेख गरेका थिए । त्यसको दुई दिनपछि एकीकृत समाजवादिले चौधरीलाई समर्थन नरहेको भन्दै प्रदेश प्रमुखलाई पत्र दिएका हुन् ।

सत्तारुढ गठबन्धनमा आफूहरुलाई मुख्यमन्त्री दिने सहमति कार्यान्वयन नभएको भन्दै एकीकृत समाजवादीले सुदूरपश्चिममा कांग्रेससँग मिलेर सरकार बनाउन नाउपाको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीलाई समर्थन दिएको थियो ।

तर काठमाडौंमा सत्ता गठबन्धन जोगाउन सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने विषयमा छलफल भएपछि यसअघि दिएको समर्थन फिर्ता लिएको हो ।

सुदूरपश्चिममा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्दा नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले पनि दाबी गरेका छन् । मुख्यमन्त्रीमा दुई जनाको दाबी परेपछि प्रदेश प्रमुख नजिर मियाले कानुनी परामर्श गर्ने भन्दै मुख्यमन्त्री नियुक्त गरेका छैनन् ।

प्रकाशित मिति: Apr 16, 2024

प्रतिक्रिया दिनुहोस्