Logo
१७ बैशाख २०८१, सोमबार
(April 14, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जग्गा किन्न रकम नपुगेपछि हवल्दारको योजनामा दिउँसै लुटपाट !

२ वैशाख, काठमाडौं । लुटपाटको आरोपमा पक्राउ परेका प्रहरी हवल्दार चक्रबहादुर शाहीले जग्गा किन्न रकम अपुग भएपछि लुटपाट गरेको खुलेको छ ।

लुटपाटको आरोपमा प्रहरी वृत्त नयाँ बानेश्वरको सादा पोशाकका हवल्दार शाहीसँगै रोतोपुलको क्याबिन रेष्टुरेन्टका सञ्चालक विकास लुइँटेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ६ चैतमा पक्राउ गरेको थियो ।

५ चैतमा लुटपाट गरेको भन्दै उजुरी परेपछि पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको थियो । परिसर काठमाडौंले अनुसन्धान सकाएर अहिले जिल्ला अदालत काठमाडौंमा चोरीको कसुरमा मुद्दासमेत दायर भएको छ । न्यायाधीश दीनबन्धु बरालको इजलासमा उनीहरुको बयान भइरहेको छ ।

जग्गा किन्न रकम अपुग भएपछि लुटपाट गरेको हवल्दारको भनाइ रहेको प्रहरी स्रोतले जानकारी दियो । यता हवल्दारले भने जग्गा किन्ने योजनामा आफू रहेको स्वीकारोक्ति बयान दिएका छन् ।

‘धनगढीमा जग्गा किन्ने योजना बनाएको थिएँ । त्यसका लागि ५ लाख रकम अपुग भएको भन्दै विकास बम भन्ने व्यक्तिसँग सापटी मागेको हुँ,’ हवल्दारको दाबी छ । रकम सापटी मागेको बताए पनि उनै हवल्दारले प्रमोद श्रेष्ठ नाम गरेका व्यक्तिलाई हत्कडी लगाएर डेढ घण्टासम्म थुनेर लुटपाट गरेको खुलेको छ ।

यता हवल्दारको भनाइ छ, ‘जग्गा किन्नका लागि विकास बमसँग रकम माग गरेको थियो । विकासले ५ चैतमा भरत भन्ने व्यक्ति पैसा लिएर विकास लुइँटेलको वेलकम क्याबिन रेष्टुरेन्टमा बसेका छन् । त्यहाँ गएर समन्वय गरी चार लाख रुपैयाँ लिनु भनेकाले मैले लिएको हो ।’ हवल्दारले इन्कारी बयान दिए पनि उनकै मुख्य योजनामा लुटपाट भएको खुलेको छ ।

हिरासतदेखि लुटपाटसम्म सँगसगै

यो लुटपाटको योजना भने प्रहरी हिरासतबाट सुरु भएको खुलेको छ । विकास बम र होटल सञ्चालक विकास लुइँटेल झगडा गरेपछि प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा पुगेका थिए । सो क्रममा हवल्दार शाहीको बम र लुइँटेलसँग चिनजान भएको थियो । हवल्दारल नै समन्वय गरेपछि उनीहरु दुई जना मिलापत्र गरेर हिरासतमुक्त भएका थिए ।

हिरासतमा भएको चिनजान हिरासतमुक्त भएपछि थप दोस्ती बनेको थियो । निरन्तर भेटघाट गर्ने, रेष्टुरेन्टमा जाने खाने काम हवल्दारबाट निरन्तर भएको थियो । उनीहरु तीन जनाकै योजनामा ५ चैतमा प्रमोद श्रेष्ठलाई लुइँटेलको होटलमा बोलाएर लुटपाट गरिएको खुलेको छ ।

लुटिएका व्यक्ति प्रमोदले क्रिप्टोको कारोबार गर्ने गरेको भन्दै विकास बमले हवल्दार शाहीलाई सूचना दिएका थिए । त्यसपछि हवल्दारले क्रिप्टो कारोबारीका लागि पर्याप्त कानून नभएको बताउँदै बरु योजना बनाएर रकम लिन सकिने बताएपछि लुटपाटको योजना बनेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

विदेशी मुद्रा (डलर) सटही गरिदिने भन्दै रेष्टुरेन्टमा बोलाएर प्रमोदलाई लुटपाट गरिएको थियो । पोर्चुगलबाट आउन लागेका साथीले दुई वटा म्याकबुल ल्याइदिनु भन्दा डलर पठाउन भन्ने सन्देश आएको र डलरको खोजी गर्ने क्रममा अहिले लुटपाट भएको गिरोहको सम्पर्कमा पुगेको प्रमोदको भनाइ छ ।

डलर साटिदिने भन्दै रातोपुलका वेलकम क्याबिन रेष्टुरेन्टमा बोलाएर प्रमोदको साथमा भएको मध्ये ७ लाख ५ हजार लुटपाट गरिएको थियो । बाँकी रहेको १० हजार भने घर जना गाडीभाडा भन्दै लुटेराहरुले प्रमोदलाई दिएका थिए ।

डलर साट्न पैसा निकालेर गन्दै गरेका बेला हवल्दार शाहीसहितको टोली होटलमा गएर प्रमोदको हातमा हत्कडी लगाउँदै आफू सीआईबीको प्रहरी भएको भन्दै धम्कयाइएको थियो ।

मोबाइलमा भिडिओसमेत बनाउने र यसअघि विकास बमसँग भएको कुराकानी समेत डिलेट गर्न लगाइएको थियो ।

लुटपाट भएकोमध्ये १ लाख ८२ हजार रुपैयाँ होटल सञ्चालक लुइँटेलबाट बरामद गरेको भएको थियो भने हवल्दारबाट ४ लाख रुपैयाँ बरामद भएको थियो । बाँकी रकम भने हाल फरार भएका बमले लिएर फरार भएका थिए । उनी अहिलेसम्म पक्राउ परेका छैनन् ।

बमसँगै सुमन तामाङ र भरत भनिने व्यक्ति फरार रहेको उनीहरुको बारेमा सम्पूर्ण विवरण नखुलेको भन्दै खुलेका वखत प्रतिवादी बनाउने भन्दै मुद्दा दायर भएको छ ।

प्रकाशित मिति: Apr 14, 2024

प्रतिक्रिया दिनुहोस्