Logo
१५ बैशाख २०८१, शनिबार
(March 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विशेष अदालतले थाल्यो अनलाइनबाटै मुद्दाको सुनुवाइ

१६ चैत, काठमाडौं । विशेष अदालतले अनलाइन प्रणालीबाटै मुद्दाको सुनुवाइ गर्न थालेको छ । बिहीबार परीक्षणको रुपमा सुरु गरिएको अनलाइन प्रणालीमार्फतको सुनुवाइ आगामी आइतबारदेखि नियमित रुपमा अघि बढ्नेछ ।

बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा विशेष अदालतको १ नम्बर इजलासमा अनलाइन बहसको सुरुवात भएको हो ।

बिहीबार सुरेन्द्रबहादुर सिंह विरुद्धको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अधिवक्ता अपूर्व खतिवडाले अनलाइनबाटै बहस गरे । त्यही मुद्दामा सरकारी वकिलको तर्फबाट उपन्यायाधिवक्ता गोपाल लामिछानेले विशेष सरकारी वकिलको कार्यालयबाट अनलाइन बहस गरे ।

‘हामीले परीक्षणको रुपमा सुनुवाइ थालेका हौं, आइतबारदेखि दुईवटै इजलासमा अनलाइन बहस प्रणाली कार्यान्वयनमा आउनेछ’, विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले भने, ‘यसबाट काठमाडौं बाहिरका सेवाग्राहीहरुलाई ज्यादा सहज हुने अपेक्षा गरेका छौं ।’

अब विशेष अदालतमा सुनुवाइ हुने मुद्दाका कानुन व्यवसायी तथा पक्षहरुले बहस पैरवीका लागि अदालतको इजलासमा पुग्नुपर्ने बाध्यता हटेको छ । कानुन व्यवसायीले आफ्नै घर, कार्यालय वा ल फर्मबाटै बहस गर्न सक्छन् ।

अनलाइन सुनुवाइको सुरुवातबारे प्रतिक्रिया दिँदै प्रधानन्यायाधीश श्रेष्ठले टाढाका सेवाग्राहीलाई अदालत परिसरमै उपस्थित हुनुपर्ने बाध्यता हटेको बताए । ‘देशभर क्षेत्राधिकार भएको विशेष अदालतले सुरुवात गरेको अनलाइन सुनुवाइ प्रणालीले सेवाग्राहीहरु अदालतमै आउनुपर्ने अवस्थाको अन्त्य भएको छ । यसबाट छिटोछरितो न्यायसम्पादनमा सहयोग पुग्ने विश्वास छ’, उनले भने ।

अब विशेष अदालतमा सुनुवाइ हुने मुद्दाका कानुन व्यवसायी तथा पक्षहरुले बहस पैरवीका लागि अदालतको इजलासमा पुग्नुपर्ने बाध्यता हटेको छ । कानुन व्यवसायीले आफ्नै घर, कार्यालय वा ल फर्मबाटै बहस गर्न सक्छन् ।

‘भर्चुअल बहस गर्न चाहने कानुन व्यवसायीहरुले हामीलाई पहिले जानकारी गराउनुपर्ने हुन्छ, त्यसपछि हामीले अनलाइन बहसका लागि युजरनेम र पासवर्ड दिन्छौं’, प्रवक्ता कार्कीले  भने, ‘उहाँहरुले गरेको बहस अदालतले आफ्नो प्रणालीभित्र रेकर्ड गरेको हुन्छ, भोलि आवश्यक परे फेरि हेर्न पनि सकिन्छ ।’

विशेष अदालतले विशेष सरकारी वकिलको कार्यालयलाई पनि कार्यालयबाट बहस गर्न सकिने भनी पत्र पठाएको छ ।

एउटा पक्ष अदालतमा उपस्थित हुने र अर्को पक्ष अनलाइनबाट बहस गर्न चाहेमा दुवैले बहस सुन्न र त्यसको प्रतिवाद गर्न अनुकुल हुनेगरी इजलासमा मनिटर र स्पिकरको व्यवस्था गरिएको छ ।

विशेष अदालतले सुरु गरेको अनलाइन बहस अहिलेका लागि ऐच्छिक हो । कानुन व्यवसायीहरुले चाहेमा मात्रै अदालतले उनीहरुलाई अनलाइन बहसको सुविधा दिने गरेको छ । अदालतमै उपस्थित हुन चाहने कानुन व्यवसायीले यसअघिकै प्रक्रिया अनुसार इजलासमा उपस्थित भएर बहस गर्न सक्नेछन् ।

भ्रष्टाचार, सम्पत्ति शुद्धीकरणलगायत विशेष अदालतले हेर्ने मुद्दाका पक्ष देशको जुनुसुकै ठाउँमा रहे पनि सुनुवाइका लागि काठमाडौं नै आउनुपर्ने बाध्यता छ ।

बाहिरी जिल्लाबाट कानुन व्यवसायी ल्याउन कठिन हुने भएकाले उनीहरुले काठमाडौंमा नै रहेका कानुन व्यवसायीलाई मुद्दाको जिम्मा दिनुपर्ने बाध्यता थियो ।

‘स्थानीय तहका कतिपय मुद्दाहरु स्थानीय कानुन व्यवसायीहरुले बुझेका हुन्छन् । अब मुद्दाको पक्षले उहीँकै कानुन व्यवसायीलाई जिम्मा दिएर अनलाइन बहस गराउन सक्छन्’ प्रवक्ता कार्कीले भने, ‘यसबाट मुद्दाको पक्षलाई पनि काठमाडौं आउनुपर्ने बाध्यता हट्छ भने काठमाडौं बाहिर रहेका कानुन व्यवसायीले पनि अनलाइनबाट बहस गर्न सक्नेछन् ।’

यसअघि नै विशेष लगायतका अदालतहरुमा अनलाइनबाट बकपत्र गर्ने व्यवस्था सुरु भइसकेको छ । चार वर्षअघि कोरोना महामारीको समयमा अदालतहरुमा अनलाइन बहस सुरु भएको थियो । तर यसले निरन्तरता पाउन सकेको थिएन । बकपत्र गर्ने र तारेख लिने काम भने अन्य अदालतमा पनि अनलाइन प्रणालीबाट भइरहेको छ ।

प्रकाशित मिति: Mar 29, 2024

प्रतिक्रिया दिनुहोस्