Logo
१५ बैशाख २०८१, शनिबार
(February 27, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टी-२० त्रिकोणात्मक शृङ्खला : विश्वकप तयारीको सुरुआत

नेपालले पहिलो खेल नामिबियासँग खेल्दै त्रिकोणात्मक टी-२० आई शृङ्खलाको सुरुआत गर्दैछ ।

खेल आज बिहान साढे ११ बजे खेल टीयु क्रिकेट मैदानमा सुरु हुँदैछ ।

नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीच त्रिकोणात्मक टी-२० आई शृङ्खला हुनेछ । यस शृङ्खलादेखि नेपालले आगामी जुनमा अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपको औपचारिक तयारी सुरुआत गर्नेछ ।

विश्वकपका सानदार प्रदर्शन गर्ने सोच राखेको नेपालले तयारीमा कुनै कमी गर्नेछैन । नेपालले विश्वकपअघि ३०-३५ टी-२० खेल खेल्ने सम्भावना छ । १५ खेलको तालिका सार्वजनिक गरिसकेको छ ।

विश्वकपमा नेपाल रहेको समूह डी मा नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन् । आईसीसी विश्वकप लिग २ पछि नेपालले यी दुई टोलीसँग टी-२० आई त्रिकोणात्मक शृङ्खला खेल्न लागेको हो ।

लिग २ को प्रदर्शन नेपाल आफैं सम्झन चाहँदैन । नेपाल चारमध्ये तीन खेलमा पराजित हुन पुगेको थियो । जसमा नामिबियासँग ४ विकेट र २ विकेटको हार व्यहोरेको थियो । खराब ब्याटिङ, भद्रगोल ब्याटिङलाइनअप, गलत सट छनोट र मानसिकता हारका कारण थिए । यो पीडाबाट नेपाल उम्किंन चाहन्छ । नेपालको लक्ष्य आगामी विश्वकपमा बढी केन्द्रित छ ।

नेपालका मुख्य प्रशिक्षक मोन्टी देशाइले लिग २ मा नामिबियासँगको खेल छाडेर दीपेन्द्रसिंह ऐरीलाई टी-२० विश्वकप तयारीको लागि भन्दै यूएई क्रिकेट बोर्डले आयोजना गर्ने इन्टरननेशनल लिग खेल्न पठाएका थिए ।

गत नोभेम्बरमा आईसीसी विश्वकप एसिया क्षेत्र छनोटमा समूह चरण र फाइनल दुवैमा नेपाल घरेलु मैदान टीयुमा ओमानसँग स्तब्ध भएको थियो । फाइनलमा सुपर ओभरमा अभिनाश बोहराले तीन छक्कासहित कुल २१ रन खर्चेका थिए ।

विश्वकपमा नेदरल्यान्ड्स र नामिबियाको प्रभावशाली प्रदर्शन

नेपालले एकपटक मात्रै २०१४ मा टी-२० विश्वकप खेलेको थियो । तर, एक दशकमा टी-२० क्रिकेटमा धेरै परिवर्तन भएको छ । नामिबियाले पछिल्ला दुवै टी-२० विश्वकपमा राम्रो प्रभाव छाडेको छ । २०२२ को विश्वकपमा श्रीलंकालाई स्तब्ध पारेको थियो । डच टोली नेदरल्यान्ड्सले बंगलादेश र दक्षिण अफ्रिकालाई स्तब्ध पारेको थियो । १५९ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका नेदरल्यान्ड्ससामु ८ विकेटको क्षतिमा १४५ रन मात्रै बनाउन सकेको थियो ।

त्यो समय विश्वकप खेल्दाका डेविड विजा, डेभिन ला कुक र स्टेफन ब्राड बाहेक अन्य खेलाडी नेपालमा आएका छन् । नेदरल्यान्ड्समा पनि अधिकांश खेलाडी आएका छन् ।

टी-२० मा नेपाल र नेदरल्यान्ड्सको टोलीमा परिवर्तन

नामिबियाले लिग २ को टोलीलाई निरन्तरता दिएको छ । नेपाल र नेदरल्यान्ड्सले भने खेलाडी थपघट गरेका छन् ।

तीव्र गतिका बलर फर्द क्लासेन र टिम भान डर गुग्टेन डच टोलीको टी-२० खेलाडीको रुपमा मात्रै नेपाल आएका छन् ।

यता नेपालले लिग २ मा नभएका बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सी, ब्याटर सन्दीप जोरा, विकेटकिपर विनोद भण्डारी, विवेक यादव, राशिद खान, सागर ढकाल र अभिनाश बोहरालाई समेटेको छ । अलराउन्डर विवेक र डेथ ओभर स्पेलिष्ट अभिनाश पहिलो रोजाइमा खेल्ने सम्भावना छ ।

टस निर्णायक नहुने सम्भावना

लिग २ मा टस नै जितको लागि निर्णायक जस्तै मानिएको थियो । ६ मध्ये पाँच जित टस जित्ने टोलीले जितेका थिए । लिग २ का खेल बिहान ९ :३० मा सुरु हुन्थ्यो । तर, टी-२० आई खेल साढे ११ बजे सुरु हुनेछन् । जसले गर्दा घाम लागिसकेको हुँदा कन्डिसनले खासै फरक पार्ने देखिंदैन ।

कडा प्रतिस्पर्धाको सम्भावना

यी तीन टोलीबीच कडा प्रतिस्पर्धाको अपेक्षा गरिएको छ । तीन टोलीको लक्ष्य नै विश्वकप तयारी छ । एक बल वा रनले पूरा मोमेन्ट्स मोडिन सक्छ । विशेषगरी मोमेन्ट्स निकै महत्वपूर्ण हुनेछ ।

नेपालबाट कुशल भुर्तेल, कुशल मल्ल र अनिल शाह टी-२० विशेष ब्याटर हुन् । दीपेन्द्रसिंह ऐरी, विवेक यादव र करण केसी टी-२० अलराउन्डर हुन् । जसबाट नेपालको प्रदर्शनमा धेरै निर्भर हुनसक्छ । तर, टी-२० मा खेल जिताउन वा हराउन एउटै खेलाडीको प्रदर्शन पर्याप्त हुनसक्छ । टी-२० मा कुनै पनि टोली कमजोर हुँदैनन् । त्यो खेल समयभित्र जसले राम्रो खेल्छ त्यसैले जित्ने हो ।

नेपालको लक्ष्य ?

नेपालको लक्ष्य यस शृङ्खलामा दुई हुनेछन् । एउटा अपराजित रहँदै फाइनल पुगेर उपाधि जित्ने । अर्को आफ्ना सबै खेलाडीलाई मौका दिंदै उत्कृष्ट टोलीको खोजी । विश्वकप अघि नेपालले ३० खेलबाट आफ्नो उत्कृष्ट टोली निर्माण गर्नुपर्ने हुन्छ ।

नेपालले ध्यान दिनुपर्ने कमजोरी

नेपालले सबैभन्दा पहिला ब्याटिङ लाइनअपमा ध्यान दिनुपर्छ । यसमा ओडीआईमा जस्तो समय हुँदैन । एक दुई ओभरमा रन नआउँदा खेल मोडिन सक्छ । तीव्र गतिको बलिङ आक्रामणमा करण, गुलशन, सोमपाल र अभिनाश गरी चारलाई खेलाउनु हानिकारक हुन्छ ।

पाँचौं सिमरको रुपमा विवेक यादव हुनेछन् । टी-२० क्रिकेटमा रोहित र कुशल भुर्तेलमाथि बलिङमा भरोसा गर्नुपनि ठूलो जोखिम हुन्छ । साथै जिम्मेवारी र परिपक्क प्रमुख खेलाडीले देखाउन आवश्यक देखिन्छ ।

नेपालको खेल तालिका

मंगलबार :  नेपालविरुद्ध नामिबिया
बुधबार   :   नेपालविरुद्ध नेदरल्यान्ड्स
शुक्रबार  :   नेपालविरुद्ध नामिबिया
शनिबार  :  नेपालविरुद्ध नेदरल्यान्ड्स

मंगलबार शीर्ष दुई टोलीबीच फाइनल

नेपाली टिम

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्शन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल साह, रसिद खान, सागर ढकाल, आरिफ शेख र अविनाश बोहरा ।

प्रकाशित मिति: Feb 27, 2024

प्रतिक्रिया दिनुहोस्