Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 16, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हामी सिद्धिएपछि मित्रता दिवस मनाइदिए हुन्थ्यो : महजोडी

महजोडी भन्छन् – ‘हामी सिद्धिएपछि मित्रता दिवस मनाइदिए हुन्थ्यो’  ।

पोखरामा चलिरहेको नेपाल लिटरेचर फेस्टिभलमा शुक्रबार महजोडी वक्ताको रुपमा उपस्थित थिए । हरिवंशले मदनकृष्णसँगको मित्रताबारे कुरा गरे । उनीहरुले लेखन, नाटक, अभिनय र प्रहसनबारे लामो गफ गरे ।

‘महतन्त्र’ नामक यो सत्रमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले मित्रताबारे पनि विमर्श गरे ।

हरिवंशले केही कुरा राखे, जसमाथि प्रशस्त बहस पनि हुनसक्छ । उनले कलाकारले राजनीति गर्नुहुँदैन भन्ने तर्क राखे ।

‘राजनीति राजनीतिज्ञले नै गर्ने हो, हामीले होइन । हामीले हाम्रो काम जे हो त्यो गर्नुपर्छ । हामीले समाजसेवा गर्दा धेरैजनाले रुचाइदिनुभएको छ,’ हरिवंशले भने ।

पञ्चायतले आफूहरुलाई बहुदलबादीको बिल्ला भिराइदिएको उनले स्मरण गरे । सहजकर्ता बसन्त बस्नेतले महजोडीलाई भने, ‘तपाईंहरुको जिन्दगी आन्दोलन नै रहेछ ।’

यो सत्रमा अभिव्यक्ति स्वतन्त्रताको भरपुर प्रयोग हुने अहिलेको परिस्थितिमा कसरी व्यंग्य गर्नेबारे विमर्श पनि भयो ।

मदनकृष्ण र हरिवंशले आफूहरु घुमाउरो ढंगले व्यंग्य गर्नुपर्ने पञ्चायतकालीन अवस्थाबाट आएको स्मरण गरे ।

‘पञ्चायतकालमा घुमाउरो ढंगले हास्यव्यंग्य गर्नुपर्ने बाध्यता थियो ।

त्यसरी भन्दा कलात्मक हास्यव्यंग्य हुन्थ्यो । अहिले जस्तो सिधै भन्ने परिस्थिति थिएन,’ मदनकृष्णले भने, ‘सकेसम्म सिधै नभनौंजस्तो लाग्छ ।

अहिलेका नयाँ कलाकारको व्यंग्य राम्रो छ । घुमाएर साहित्य मिसाएर भन्दा रमाइलो लाग्छ मलाई ।’

मदनकृष्णको मित्रताबाट आफूले नेवारी भाषा सिक्न पाउनु उपलब्धि भएको हरिवंशले बताए । ‘आफ्नोभन्दा अर्काको भाषा बोल्न रमाइलो हुन्छ ।

अर्काको भाषा बोल्दाखेरि सामाजिक सद्भाव बढ्छ । मलाई देशभरका भाषा सिक्न पाएँ हुन्थ्यो कि जस्तो लाग्छ ।

नेवारी भाषा बोल्दा मलाई मदन दाइ जत्तिकै माया गर्छन्,’ हरिवंशले मित्रताको सकारात्मक पक्षको कुरा गरे ।

सहजकर्ता बस्नेतले हरिवंशलाई अर्को प्रश्न तेस्याए, ‘नेगेटिभ क्यारेक्टरजति तपाईंको भागमा किन पर्छ रु’ हरिवंशले नकारात्मक चरित्रले मात्रै कुनै पनि कथाले पूर्णता पाउने तर्क गरे ।

‘फिल्म वा नाटक जे भएपनि क्लाइमेक्समा लैजान एउटा नेगेटिभ र अर्को पोजेटिभ पात्र चाहिन्छ । यसमै दर्शकले रमाइलो मान्नुहुन्छ ।

हरेक कथामा नेगेटिभ र पोजेटिभ पार्ट हुन्छ ।’ उनले मदनकृष्णले पनि ‘लालपूर्जा’ सिरियलमा आफूले दुःख दिने चरित्र निर्वाह गरेको सम्झिए ।

हरिवंशले लेखन र मनोरञ्जन प्रस्तुति विधा अलग नरहेको बताए । ‘यी दुई विधा अलग हुन् भन्ने भ्रम पनि छ ।

मैले पुस्तक लेख्दा तपाईंहरु त मनोरञ्जन गर्ने मान्छे लेखक कसरी बन्नुभयो भनेर कतिले सोध्नु पनि भयो,’ हरिवंशले भने, ‘हामीले रंगमञ्चमा पाइला टेक्दा सबैभन्दा पहिला स्क्रिप्ट लेख्छौं ।

युट्युबमा राखिएका ३०० भन्दा बढी नाटकलाई हामीले लेखेका छौं । प्रस्तुति दोस्रो कुरा हो । लेखनमा सन्तुष्टि नहुँदा प्रस्तुति राम्रो हुँदैन । पहिला लेखन राम्रो हुनुपर्छ ।’

 

प्रकाशित मिति: Feb 16, 2024

प्रतिक्रिया दिनुहोस्