Logo
१५ बैशाख २०८१, शनिबार
(February 12, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्यानडाविरुद्ध नेपाल ९ विकेटले विजयी, सिरिज क्लिनस्वीप

क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपाल ९ विकेटले विजयी भएको छ । यससँगै नेपालले तीन खेलको सिरिज क्लिनस्वीप गरेको छ ।

सोमबार अन्तिम एकदिवसीय खेलमा त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले अनिलकुमार साह र भीम सार्कीको शतक मद्दतमा ४४।३ ओभरमा लक्ष्य पूरा गर्‍यो ।

नेपालले ओपनर कुशल भुर्तेललाई १३ रनमै गुमाएको थियो, जतिबेला टिमको स्कोर ४५ रन थियो ।

तर अनिल र भीमले दोस्रो विकेटका लागि अविजित १८९ रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई जित दिलाए । यो एकदिवसीय क्रिकेटमा नेपालको सबभन्दा ठूलो साझेदारी हो ।

यसअघि एकदिवसीय क्रिकेटमा गत जुनमा जिम्बाब्वेविरुद्ध कुशल भुर्तेल र असिफ शेखले पहिलो विकेटका १७१ रनको साझेदारी गरेका थिए ।

अनिलले ११६ बलमा ११ चौका र एक छक्काको मद्दतमा शतक पूरा गरे भने भीमले १२७ बलमा ११ चौका र एक छक्काको मद्दतमा शतक बनाएका हुन् ।

एकदिवसीय क्रिकेटमा दुई नेपाली ब्याट्सम्यानले शतक पूरा गरेको यो पहिलो पटक हो ।

अनिल ११२ र भीम १०१ रनमा अविजित रहे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन बनाएको थियो । उसका लागि नवनित दलिवालले ५० रन बनाए भने निखिल दत्तले ४५ रन बनाए ।

नेपालका डेब्युटेन्ट हेमन्त जिसीले ३ विकेट लिए भने कुशल मल्लले २ तथा पवन सरार्फ, आकाश चन्द र ललित राजवंशीले समान १–१ विकेट लिएका थिए ।

यसअघि भएको पहिलो एकदिवसीय खेल नेपालले ७ रनले र दोस्रो खेल ४ विकेटले जितेको थियो ।

प्रकाशित मिति: Feb 12, 2024

प्रतिक्रिया दिनुहोस्