Logo
१५ बैशाख २०८१, शनिबार
(February 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वविद्यालयमा बाहुबल देखाए तपाईंहरुकै भविष्य संकटमा पर्नेछ : चैतन्य मिश्र

त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्न गठित सर्च कमिटीले दोस्रो चरणमा जारी गरेका अल्पसूचीप्रति विभिन्न प्राध्यापक, सरोकारवालाहरुले प्रतिक्रिया जनाउने क्रम जारी छ ।

केदारभक्त माथेमा, नवीनजंग शाह लगायतका पूर्वउपकुलपतिहरुले शुक्रबार वक्तव्य निकालेर विरोध जनाइसकेका छन् । उनीहरुले फेरि पनि नियुक्तिमा दलगत, गुटगत गन्ध आउन सक्ने आशंका गर्दै रहेका बेला अर्का प्राध्यापकका पनि वक्तव्य सार्वजनिक भएको छ ।

त्रिवि समाजशास्त्र विभागका संस्थापक प्रमुख रहेका प्राध्यापक चैतन्य मिश्रले प्रधानमन्त्री, मन्त्रीहरु र सांसदहरुलाई खुलापत्र लेख्दै नियुक्तिको गम्भीरताबारे ध्यान दिन आग्रह गरेका छन् । उनले अहिले हुन लागिरहेका नियुक्ति र जारी हुने प्रक्रियामा रहेको शिक्षा विधेयक र उच्च शिक्षा विधेयक सामान्य विषय होइनन् भनी मनन गर्न आग्रह पनि गरे ।

मिश्रको अपिलको पूर्णपाठ :

प्रिय प्रधानमन्त्रीज्यू, एक–एक मन्त्रीज्यू र एक–एक सांसदज्यूहरु,

नेपाल र नेपालीको तिर्नै नसकिने गरी ऋण खाएको र ४५ वर्ष विश्वविद्यालय पढाएको नागरिक र शिक्षकको नाताले आज यो अपिल गर्दैछु ।

तपाई‌ंहरु हाल शिक्षा विधेयक र उच्च शिक्षा विधेयकबारे छलफल गरिररहनुभएको छ । त्रिवि र अन्य तीन विश्वविद्यालयको पदाधिकारी नियुक्त गर्ने क्रममा हुनुहुन्छ । यी विधेयक र नियुक्तिमात्रै होइनन् भन्ने सत्य गम्भीर रुपमा मनन गर्नुहोला ।

के पनि मनन गर्नुहोला भने विधेयक र नियुक्तिभित्र नेपालको एउटा सिंगो पुस्ता आश्रित रहेको छ । अन्तर्राष्ट्रिय र छिमेकी मुलुकहरुको सन्दर्भमा नेपालकै भविष्यको प्रकृति वा चरित्र सन्निहित छ । अर्थात् नेपाली र नेपालको भविष्य तपाईंहरुको हातमा र अठोटमा अडेको छ ।

मुलुक र देशवासीप्रति जिम्मेवार र कर्तव्यपरायण हुने संगीन घडीमा तपाईंहरु उभिनुभएको छ । यो घडीमा दल, गुट, नेता, भ्रातृसंगठन, नातेदार, कार्यकर्ता, चन्दादाता, आसेपासे आदिको मुख नहेरी र मर्म गुमाएको कर्मकाण्डलाई तिरस्कार गर्दै मुलुकवासीको भविष्यप्रति दत्तचित्त रही आफ्नो कर्तव्य पूरा गर्नुहोला ।

जहाँसम्म त्रिवि र अन्य विश्वविद्यालयको सवाल छ, रीति धानेर, लोकप्रियतावादी बनेर विद्यार्थीलाई उच्च कोटीको शिक्षामा सहभागी तुल्याउन सकिँदैन । मनन गर्नुहोला कि हाम्रा विश्वविद्यालयहरु थलिएका छन् ।

यहाँहरुको बाहुबल अन्तर्गत नै यिनीहरुलाई सुकेनास लागेको हो । अझै पनि दलीयता, गुटगतता र नेतागिरी नछाड्ने हो र भ्रातृसंगठनको पालपोषण नै विश्वविद्यालय, युवा र मुलुकको भविष्य देख्ने हो भने र यिनै स्वार्थ अन्तर्गत विश्विद्यालयको नेतृत्व चयन गर्ने हो भने तपाईहरुकै भविष्य पनि अल्पकालीन बन्ने छ ।

तर त्यसो हुँदाको मुल्य भने सिंगो मुलुकले चुकाउनुपर्ने छ । त्यसैले यहाँहरुलाई मेरो नम्र निवेदन छ– कृपया विधेयक र नियुक्ति प्रक्रियाको गम्भीर पुनरावलोकन गर्नुहोस् ।

दुई–चार हप्ता थप समय लिनुहोस् । स्वामित्व बोक्न सक्ने र समर्पित बोर्डमार्फत विश्वविद्यालय सञ्चालन हुने अवस्था सिर्जना गर्नुहोस् । त्यसबाट आउने श्रेय लिनुहोस् र भावी पुस्ताको भविष्य उज्ज्वल तुल्याउन तल्लीन रहनुहोस् ।

 

 

प्रकाशित मिति: Feb 11, 2024

प्रतिक्रिया दिनुहोस्