Logo
१७ बैशाख २०८१, सोमबार
(November 30, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्री एयरलाइन्सले ५ अर्ब लगानी थप्दै, डेढ वर्षभित्र अन्तर्राष्ट्रिय उडान

निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सले जहाज थपेर आन्तरिक उडान बिस्तारका साथै अन्तर्राष्ट्रिय उडान गर्ने योजना बनाएको छ। यसका लागि कम्पनीले पाँच अर्ब रुपैयाँ लगानी थप्न लागेको छ।

चालु वर्षभित्रै आन्तरिकतर्फ बम्बार्डियरका तीन टर्बोप्रोप ‘क्यू-४००’ जहाज र आउँदो डेढ वर्षभित्र न्यारोबडी सिरिजका तीन जहाजमार्फत अन्तर्राष्ट्रिय उडान सुरु गर्ने योजनामा काम भइरहेको प्रबन्ध निर्देशक सुधीर मित्तलले जानकारी दिए।

उनका अनुसार कम्पनीले एक महिनाभित्र एउटा टर्बोप्रोप जहाज ल्याउँदैछ। थप दुईवटा टर्बोप्रोप चालु आर्थिक वर्षभित्र ल्याउने तयारी छ। अबको डेढ वर्षमा अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीको योजना छ।

‘हामीले आफ्नो व्यावसायिक योजनाअनुसार सन् २०२५ मेबाट अन्तर्राष्ट्रिय उडान सेवा सुरु गर्नेछौं‚’ प्रबन्ध निर्देशक मित्तलले भने, ‘अहिले बोइङ र एयरबससँग कुराकानी भइरहेको छ। प्राविधिक र आर्थिक हिसाबले भायवल जहाजमार्फत सेवा दिनेछौं।’

सुरुमा ब्राण्ड न्यु जहाज अर्डर गर्ने र त्यसको डेलिभरी हुनुअघि लिजको जहाज प्रयोग गर्ने कम्पनीको योजना छ।

‘हामीले नेपालीलाई नेपाली एयरलाइन्सबाटै सेवा लिन सहज होस् भनेर दुबई, दोहा, मलेसिया लगायत श्रम गन्तव्यका साथै दिल्ली र बैंककमा उडान गर्ने योजना बनाएका छौं‚’ उनले भने‚ ‘हामीले अन्तर्राष्ट्रियतर्फ तीनवटा न्यारोबडी जहाजमार्फत सेवा दिनेछौं। प्रतिस्पर्धामार्फत यात्रुलाई फाइदा हुने हिसाबले यी अन्तर्राष्ट्रिय उडान गन्तव्य छनोट गरेका हौं।’

पर्यटन मन्त्रालयबाट चार वर्षअघि नै अन्तर्राष्ट्रिय चार्टर्ड उडान अनुमति पाएको श्री एयरलाइन्सले कोभिडको समयमा नियमित यात्रु उडानको अनुमति लिएको थियो।

मित्तलका अनुसार कम्पनीले अनुमति अद्यावधिक गर्न भने बाँकी छ।

सन् १९९९ मा एयर अनन्या नामबाट स्थापना भएको श्री एयरलाइन्सले हेलिकोप्‍टरबाट हवाई सेवा व्यवसाय सुरु गरेको हो। सुरुमा एमआई-१७ हेलिकोप्टरमार्फत सेवा सुरु गरेको कम्पनीसँग हाल एयरबसको हेलिकोप्टर छ।

फिक्सविङ उडान सेवा अनुमति पाएको ६ वर्षपछि कम्पनीले अन्तर्राष्ट्रियतर्फ नियमित उडान सुरु गर्ने योजना बनाएको हो। हाल कम्पनीले आन्तरिकतर्फ बम्बार्डियर कम्पनीको २/२ वटा सीआरजे-२०० र सीआरजे-४००, ४ वटा टर्बोप्रोप क्यु-४०० गरी कुल आठ जहाजमार्फत विभिन्न सुगम गन्तव्यमा नियमित उडान गरिरहेकाे छ।

 

प्रकाशित मिति: Nov 30, 2023

प्रतिक्रिया दिनुहोस्