Logo
२४ बैशाख २०८१, सोमबार
(October 17, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोशी प्रदेशमा ५ वटा मन्त्रालय दाबी गर्ने एमालेको तयारी

कोशी प्रदेश सरकारमा एमालेले ५ वटा मन्त्रालयमा दाबी गर्ने भएको छ । कोशीमा मुख्यमन्त्रीसहित नौ वटा मन्त्रालय छन् । एमालेको सहयोगमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेसँगै एमालेले ५ वटा मन्त्रालयमा दाबी गर्ने भएपछि मुख्यमन्त्री कार्कीलाई मन्त्रालय भागबण्डा गर्न सकस पर्ने देखिएको छ ।

मुख्यमन्त्री कार्कीले बुधबार प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनुअघि मन्त्रालयको भागबण्डा गर्नुपर्ने एमालेको माग छ । यता मुख्यमन्त्री कार्कीलाई माओवादीले पनि विश्वासको मत दिने बताइसकेको छ भने कांग्रेसको संस्थापन पक्षले पनि विश्वासको मत दिने तयारी गरेको छ ।

कात्तिक १ गते बुधबार विश्वासको मत लिने आसयसहित प्रदेश सभा बैठक बोलाइएको छ । त्यसअघि आज मंगलबार मुख्यमन्त्री कार्कीले एमाले लगायतका दलसँग छलफल गरेर मन्त्रालय भागबण्डा टुंग्याउने तयारी गरेका थिए । तर, मंगलबार पनि कार्कीले समय अभाव भन्दै दलहरुसँग छलफल गरेका छैनन् ।

‘आज मंगलबार मुख्यमन्त्री कार्की र हामी बसेर मन्त्रालय भागबण्डा र विश्वासको मतबारे छलफल गर्ने भनिएको थियो तर मुख्यमन्त्रीले समय अभाव भयो भनेर मंगलबारको छलफल हुन सकेन’, एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवती भण्डारीले भने, ‘अव बुधबार बिहान बसेर छलफल गर्छौ ।’

नेता भण्डारीका अनुसार एमालेले ५ वटा मन्त्रालयमा दाबी गरेको छ । ‘हाम्रै साथ र सहयोगमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री बन्नुभएको हो । त्यस्तो अवस्थामा एमालेले अहिले ५ वटा मन्त्रालय दाबी गर्नु स्वभाविक हो’, कार्कीले भने, ‘नौ वटा मन्त्रालयमा एमालेले ५ वटामा दाबी गरेपछि बाँकी मन्त्रालय मुख्यमन्त्रीले ककसलाई दिनुहुन्छ त्यो उहाँको कुरा हो ।’

कांग्रेसको शेखर समूहका कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

संविधानको धारा १६८(३) अन्तर्गत मुख्यमन्त्री भएका हिक्मत कार्कीले असोज २० गते मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । हिक्मतले मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८(५) अन्तर्गत सरकार गठनको आह्वान गरेपछि केदार कार्की एमालेका ३९ र कांग्रेसको शेखर कोइराला समूहका ८ सांसदको सहयोगमा मुख्यमन्त्री बन्न सफल भएका थिए ।

कार्की मुख्यमन्त्रीमा नियुक्त भएपछि कांग्रेसका नेता शेखर कोइराला बालुवाटार पुगेर केन्द्रीय सत्ता गठबन्धन दायाँबायाँ नगर्ने कबुलियतनामा गरेका थिए ।

कोइरालाले प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापतिसँग यस्तो कबुलियतनामा गरेसँगै एमालेलाई सरकारमा समेत सहभागी नगराउन प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाले दबाब दिएका छन् । तर मुख्यमन्त्रीको शपथ लिएलगत्तै कार्कीले एमालेका एक जना र आफ्नो पार्टीका एक जना गरी तीन सदस्यीय मन्त्रीमण्डल गठन गरेका थिए । तर कार्कीको उक्त कदमलाई प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाले रुचाएका छैनन् ।

प्रकाशित मिति: Oct 17, 2023

प्रतिक्रिया दिनुहोस्