Logo
१५ बैशाख २०८१, शनिबार
(October 5, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जीवनशैली : खुट्टा हल्लाउने बानी फाइदाजनक

हामीले अक्सर देख्ने गरेका छौँँ, कतिपय मानिस छटपटी हुँदा कतै बसेर खुट्टा हल्लाउँछन्, कोही टेबल बजाउँछन्, कोही यताउती डुल्छन् ।

बच्चा हुँदा हामीमध्ये धेरैले चकचक गर्दा, कुर्सीमा समातेर हल्लिँदा, पेन्सिलको रबरलाई कोतर्दा शिक्षक वा आमाबुबाको गाली खाएकै हुनुपर्छ । यस्तो हर्कतलाई अंग्रेजीमा ‘फिजेटिङ’ भनिन्छ ।

फिजेटिङलाई पहिलाभन्दा अचेल निकै फराकिलो तरिकाले हेर्न आवश्यक छ । किनकि, फिजेटिङ वा चञ्चलताले हामीलाई स्वस्थ तौल बनाइराख्न, तनावलाई व्यवस्थान गर्न र सम्भवतः लामो समयसम्म जीवित रहनसमेत मद्दत गर्न सक्ने नयाँ शोधले पत्ता लाएको छ ।

लिड्स विश्वविद्यालयमा कार्यरत पोषण रोग विशेषज्ञ ज्यानेट केडले बीबीसीको कार्यक्रम ‘द इनफाइनाइट मन्की केज’ को एक एपिसोडमा भाग लिँदै भनेकी छन्, ‘तपाईं एक ठाउँमा स्थिर बसिरहनुहुन्छ भने यो तपाईंका लागि राम्रो होइन । तर, बस्ने क्रममा आउने छटपटीले पनि खासमा तपाईंको स्वास्थ्यमाथि हुने खतरालाई कम गर्छ ।’

फिजेटिङबारे अझ विस्तृतमा बुझौँँ

सामान्यतया फिजेटिङको अर्थ, ब्यग्र (नर्भस) भएर छटपटिनु हुन्छ । तर, इपसेन फाउन्डेसनका अध्यक्ष एवं मेयो क्लिनिकमा मेडिसिनका प्राध्यापक जेम्स लोभाइनको भनाइमा यो शरीरको एक भागलाई एक लयमा ल्याउने गतिविधि हो, जुन तपाईंको दिमागबाट नियन्त्रित हुन्छ ।

फोर्टिस हेल्थकेयरका राष्ट्रिय मानसिक स्वास्थ्य कार्यक्रमका अध्यक्ष डाक्टर समिर पारिखको धारणा केही फरक छ । उनका अनुसार, फिजेटिङलाई असल वा खराब भनेर वर्गीकरण गर्नु गलत हो ।

कतिपय अवस्थामा फिजेटिङले तपाईंको प्रदर्शनलाई कम गरिदिन्छ । गल्ती गर्ने सम्भावनालाई बढाइदिन्छ ।

उनका अनुसार, यो एक शारीरिक बिमारको लक्षण पनि हुन सक्छ । डा. पारिख भन्छन्, ‘केही मानिसका लागि फिजेटिङ लाभदायक पनि हुन सक्छ । तर, यस आधारमा हामीले फिजेटिङ कुनै बिमारको निशानी हो वा फाइदाजनक छ भनेर आमधारणा बनाउन सक्दैनौँ ।’

मुम्बईस्थित मनोरोग चिकित्सक डा. रुक्षिदा सैय्यदा पनि फिजेटिङबारे पछिल्लो शोधप्रति पूर्ण सहमत देखिन्नन् ।

खेल्ने, कुदने समय नमिल्ने वा खेल्नका लागि पर्याप्त ठाउँ नभएका बच्चाको गतिविधि फिजेटिङकै जस्तो देखिने उनी बताउँछिन् । उनका अनुसार, फिजेटिङलाई विभिन्न भागमा बाँड्न सकिन्छ । एक, तपाईंको सामान्य बानी हुन सक्छ । यसले तपाईं कुनै बिमारको सिकार हुँदै गरेको संकेत पनि गर्छ । यस्तो पनि हुन सक्छ कि तपाईंको फिजेटिङ निकै प्रोडक्टिभ छ । त्यसैले फिजेटिङलाई स्तरीकृत गर्नु सही होइन ।

मोटोपनको लडाइँ र फिजेटिङ

संसारभर सन् १९७५ यता अहिलेसम्म मोटा मानिसको सङ्ख्यामा तीन गुणा वृद्धि भएको छ । यसको एक कारण हाम्रो काम गर्ने तरिका हो । कामका क्रममा हामी घन्टौँ कुर्सीमा बसिराख्छौँ । यसबाट हाम्रो शरीरको मेटाबोलिज्म सुस्त हुन्छ । यसले हाम्रो ब्लड सुगर र ब्लड प्रेसरलाई नियन्त्रित गर्ने क्षमतालाई प्रभावित गर्छ । हाम्रो शरीरमा रहेको बोसो कम गर्नमा पनि बाधा गर्न सक्छ ।

तर, अहिले फिजेटिङबाट हाम्रो शरीरको तौल कम गर्न मद्दत मिल्न सक्ने प्रमाण फेला परेको छ । किनकि, यसले हामीलाई एक ठाउँमा स्थिर बसिराख्नुको साटो कुनै न कुनै हर्कत गर्न उक्साउँछ ।

लोभाइनले एक रिसर्चमा भनेका छन्- अफिसमा काम गर्ने दुब्ला पातला मानिसमा धेरैजसो चञ्चलता देखिएको छ । अफिसमा मोटा मानिसको तुलनामा दुब्ला पातला मानिस धेरै समयसम्म उभिन्थे । हरेक दिन करिब दुई घण्टा आफ्नो ठाउँमा उठेर यताउती हिँडडुल गर्थे ।

उनका अनुसार, खुट्टा हल्लाउँदै बस्नेजस्तो फिजेटिङको सामान्य उदाहरणबाट हामीलाई आफ्नो शरीरको अत्यधिक ऊर्जा खर्च गर्नमा मद्दत मिल्न सक्छ ।

एउटा सानो अध्ययनमा २४ मानिसको फिजेटिङ बानीमा कति ऊर्जा खर्च भयो भन्नेबारे मापन गरियो । यसमा के पाइयो भने, जो मानिस हिँडडुल नगरी स्थिर बस्थे, उनीहरूको तुलनामा फिजेटिङ गर्ने मानिसले शरीरबाट २९ प्रतिशत बढी क्यालोरी खर्च गर्थे ।

फिजेटिङले शरीरको ऊर्जा सन्तुलनमा राख्न मद्दत गर्ने कुरा यसले पुष्टि गर्छ । तर, आफूलाई फिट राख्नका लागि यो कसरतको कुनै विकल्पचाहिँ होइन ।

हाम्रो तौललाई नियन्त्रित गर्नुका साथै फिजेटिङका अन्य फाइदा पनि छन् । यो हाम्रो दिमागका लागि पनि फाइदाजनक हुन सक्छ । डाक्टर सैय्यदाका अनुसार, फिजेटिङबाट मोटोपन कम हुन सक्ने सल्लाह सायद कुनै पनि डाक्टरले तपाईंलाई दिँदैन । फिजेटिङ र शारीरिक गतिविधिमा धेरै फरक छ । र, वर्क आउटको विकल्प फिजेटिङ होइन पनि ।

फिजेटिङबाट हुन्छ लामो उमेर ?

फिजेटिङबाट तपाईंको उमेर लामो हुन सक्ने कुराको सिधा प्रमाण अहिलेसम्म छैन । तर, विशेषज्ञहरू लगातारको तनावबाट हाम्रो आयु कम हुन सक्ने बताउँछन् । जानकारहरूका अनुसार, सधैँ स्थिर बस्दा तपाईंलाई मुटुको रोगले गाँज्ने खतरा दुई गुणा बढ्छ । यसबाट डायबिटिज, मोटोपन, डिप्रेसन र एन्जाइटी हुने सम्भावना पनि बढ्छ । फिजेटिङबाट तपाईंलाई मद्दत मिल्न सक्छ ।

फिजेटिङबाट हामीलाई तनाव कम गर्न मद्दत मिल्छ । एक अध्ययनमा ४२ मानिसलाई एक तनावपूर्ण स्थितिमा राखियो । उनीहरूलाई जागिर अन्तर्वार्ताका लागि बसाइयो । त्यसपछि उनीहरूलाई दुई मानिससामु दिमागबाट जोड घटाउ गर्न केही टास्क दिइयो ।

यो अध्ययन गर्ने शोधकर्ताले पाए- जो मानिस फिजेटिङ बिहेवियरका सिकार थिए, उनीहरू आफ्नो ओठ टोक्थे वा बारम्बार आफ्नो अनुहार छुन्थे । उनीहरूलाई यसो गर्नु कम तनावपूर्ण लाग्थ्यो ।

धेरै समयसम्म बस्दा शरीरलाई जुन खालको खतरा हुन सक्छ, त्यसलाई कम गर्न पनि फिजेटिङबाट मद्दत मिल्न सक्छ ।

बस्ने क्रममा खुट्टा चलाउँदा तपाईंको खुट्टाका धमनीहरूको जतन हुन्छ । यसबाट धमनीको बिमार रोक्न मद्दत पुग्ने रिसर्चमा पाइएको थियो । फिजेटिङलाई पहिलापहिला निकै खराब मानिन्थ्यो । तर, तपाईंको हर्कत स्वास्थ्यका लागि फाइदाजनक छ भने तपाईंले यसलाई स्वीकार्नुपर्छ ।

लामो समयसम्म एकै ठाउँ र एकै पोस्चरमा बस्नबाट जोगिनुपर्छ । लेभाइन भन्छन्, ‘तपाईं आफ्नो शरीरलाई स्वाभाविक हर्कत गर्ने अनुमति दिनुहुन्छ भने तपाईं स्वस्थ, खुसी र दुब्लो रहने सम्भावना बढी हुन्छ । साँच्चै भन्दा तपाईं धेरै दिनसम्म जीवित रहनुहुनेछ ।’

डा. समिर पारिख र डा. रुक्षिदा सैय्यदा दुवैको भनाइमा फिजेटिङबाट तपाईंलाई फाइदा छ कि छैन, यसबारे दाबीका साथ भन्न सकिँदैन । तर कुनै व्यक्ति फिजेटिङ गर्छ भने त्यसलाई कुनै नजरले हेर्नुचाहिँ विल्कुल गलत हो ।

प्रकाशित मिति: Oct 5, 2023

प्रतिक्रिया दिनुहोस्