Logo
२ जेष्ठ २०८१, बुधबार
(October 5, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशी र थारु महिलाहरूले मनाउने जितिया पर्वको रौनक सुरु

देशको तराई-मधेस क्षेत्रमा जितिया पर्वको रौनक सुरु भएको छ । बिहीबारदेखि सो पर्व सुरु भएको हो । ‘जितिया पर्व’ तराईमूलका महिलाहरुका महान् पर्व हो ।

यो पर्व तराईमा बसोबास गर्ने मधेशी र थारु महिलाहरूले धूमधामसँग मनाउने गर्छन् । व्रतालु महिलाहरूले सन्तानको दीर्घायुको लागि यो पर्व मनाउने चलन छ ।

यो पर्व ठाउँ अनुसार फरक-फरक तरिकाले मनाइन्छ । आश्विन कृष्ण पक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन यो पर्व मनाइन्छ ।

सप्तमीको दिनलाई ‘नहाए खाएके’, अष्टमीको दिनलाई ‘उपवास’ र नवमीको दिनलाई ‘पारन’ भनर मनाइने जितिया पर्वमा सप्तमीका दिन बिहान व्रतालुहरू नजिकको खोला-नदीमा गई तोरीको पिना प्रयोग गरी नुहाउँछन् ।

नुहाइसकेपछि तोरीको पिना घिरौँलाको पातमा राखेर खोलामा बगाउने चलन छ । चढाएको तेल आफ्ना सन्तानलाई पनि लगाइदिने चलन छ ।

व्रतालुहरूले बिहीबार आफ्नो नजिकको पोखरी, तलाउ, नदी लगायतमा स्नान गरी जितमाहनको कथा सुनेर व्रतको शुभारम्भ गरेका छन् ।

सन्तानको दीर्घायुको लागि गरिने यो व्रतमा व्रतालुहरू उपवास बस्ने गर्छन् । उपवासका बेला व्रतालुहरूले थुक पनि निल्न नहुने मान्यता छ । मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रूपमा मानिन्छ ।

उपवास बसेका दिन महिलाले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । त्यसैले यस पर्वलाई खड् जितिया पनि भनिन्छ । उपवास बस्दा एकपटक असफल भएका व्रतालु आजीवन व्रत बस्न नपाउने चलन छ ।

प्रकाशित मिति: Oct 5, 2023

प्रतिक्रिया दिनुहोस्