Logo
१७ बैशाख २०८१, सोमबार
(August 6, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भीभीआइपी र भीआइपीको स्वास्थ्य उपचार समिति गठन

सरकारले अति विशिष्ठ व्यक्ति (भीभीआइपी) र विशिष्ट व्यक्ति (भीआइपी) को स्वास्थ्य उपचार समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रिस्तरीय निर्णयअनुसार सो समिति गठन गरेको हो ।

समितिमा प्राडा भगवान कोइराला, डा.सन्दुक रुइत, डा.भोला रिजाल, प्राडा शैली प्रधान, प्राडा. रविमान श्रेष्ठ, प्राडा. किरणप्रसाद श्रेष्ठ, प्राडा. रत्नमणि गजुरेल, प्राडा. सुवास आचार्य, प्राडा. शशि शर्मा, प्राडा. रमेश चाखनी, सह प्राडा. ध्रुव गैरे, डा. पुकारचन्द्र श्रेष्ठ, डा.महेश अधिकारी र डा.अनन्त अधिकारी सदस्य रहेका छन् ।

नेपालको स्वास्थ्य संस्थाहरुको गुणस्तर सुधार हुनुका साथै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह भइरहेको अवस्थामा राज्यको महत्वपूर्ण निकायमा कार्यरत भीभीआइपी र भीआइपीको स्वास्थ्य उपचारमा बर्सेनि ठूलो रकम विदेशमा गइरहेको र देशभित्रको स्वास्थ्य उपचार सेवाको विश्वास नगरेजस्तोसमेत देखिएकाले सो समिति गठन गरिएको हो ।

समितिले वीर अस्पतालबाट भीभीआइपी र भीआइपीको स्वास्थ्य उपचार गर्ने, उपचार व्यवस्थापनको आवश्यक कार्यसूची तयार गर्ने, विशेष चिकित्सकको समूह निर्माण गर्नेलगायतका विशिष्टिकृत चिकित्सकीय विधि तथा प्रक्रियाबमोजिम उपचारको व्यवस्थापनको कार्यविधि तयार गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पेस गर्नेछ ।

समितिको आजको वैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले भीभीआइपी र भीआइपीले नेपालमै उपचार गर्दा आमजनतामा पनि नेपालको स्वास्थ्य क्षेत्रप्रति विश्वास गर्ने वातावरण सिर्जना हुने बताए ।

उनले भने, “अब नेपाली स्रोत र साधनबाट उपचारका लागि आवश्यक सबै उपकरणको व्यवस्था छ, अकस्मात कुनै त्यस्तो परेछ भने, नेपालकै विशेषज्ञको टिमले गरेको सिफारिस गरेका आधारमा किन नपठाउने ?”, उनले भने ।

प्रकाशित मिति: Aug 6, 2023

प्रतिक्रिया दिनुहोस्