Logo
५ जेष्ठ २०८१, शनिबार
(June 22, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेपत्ता पनडुब्बीमा १० घण्टाभन्दा कम अक्सिजन बाँकी

विश्वको सबैभन्दा प्रसिद्ध जहाज टाइटानिकको भग्नावशेष देखाउनका लागि गहिरो समुद्रमा लिएर जाने पनडुब्बीमा अब सम्भवतः १० घण्टाका लागि मात्रै अक्सिजन बाँकी छ ।

गत आइतबारदेखि हराइरहेको यो पनडुब्बीको खोजीमा अन्तर्राष्ट्रिय स्तरमा उद्धार अभियान चलिरहेको छ ।

तर अहिलेसम्म यसको स्थान र त्यहाँका मानिसको अवस्थाबारे केही थाहा हुन सकेको छैन ।

यो पनडुब्बीमा १० घण्टाभन्दा कम अक्सिजन मात्र बाँकी रहेको विश्वास गरिन्छ । यसै कारण हरेक पलसँगै बचाउ अभियानमा संलग्न मानिसका लागि चुनौती बढ्दै गइरहेको छ ।

क्यानडाको मेमोरियल युनिभर्सिटीसँग सम्बन्धित हायपरबेरिक मेडिसिन विशेषज्ञ डा. केन लेडजले बीबीसीसँगको कुराकानीमा पनडुब्बीमा सवार मानिसका लागि तीव्र रूपमा समाप्त हुँदै गएको अक्सिजन मात्रै एक मात्र सङ्कट नभएको बताएका छन् ।

यो पनडुब्बीमा बिजुली जान सक्ने आशङ्का गरिएको छ । पनडुब्बी भित्र बिजुली द्वारा अक्सिजन र कार्बन डाइअक्साइडको मात्रा नियन्त्रण गरिन्छ भन्ने विश्वास गरिन्छ ।

यही कुराले जोखिम बढाइरहेको छ, किनकि अक्सिजनको मात्रा घट्दै जाँदा पनडुब्बीमा रहेका मानिसहरूले प्रत्येक साससँगै छोड्ने कार्बनडाइअक्साइडले पनडुब्बीमा पहिले देखि नै भएको कार्बनडाइअक्साइडको मात्रा बढाउँदै जानेछ ।

र यसले उनीहरुको जीवनका लागि थप खतरा पैदा गर्न सक्छ ।

उनी भन्छन्, ‘कार्बन डाइअक्साइडको मात्रा बढ्दै जाँदा यो एक नशालु ग्यासजस्तै हुनेछ । यसले एक एनेस्थेटिक ग्यासको रूपमा काम गर्नेछ र तपाईँलाई निद्रा लाग्नेछ ।’

मानिसको रगतमा यो ग्यासको मात्रा बढी हुनुलाई हाइपरक्याप्निया भनिन्छ । यस्तो अवस्थामा उपचार नपाए मानिसको ज्यान नै जान सक्छ ।

यससँगै अत्यधिक चिसोका कारण पनडुब्बीमा सवार यात्रु हाइपोथर्मियाको सिकार हुने जोखिम पनि बढेको छ ।

यस पनडुब्बीमा पाकिस्तानी अर्बपति राजकुमार दाउद, उनका छोरा सुलेमान, बेलायती व्यापारी हमिस हार्डिङसहित पाँच जना सवार छन् ।

प्रकाशित मिति: Jun 22, 2023

प्रतिक्रिया दिनुहोस्