Logo
१३ बैशाख २०८१, बिहीबार
(May 3, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नक्कली शरणार्थी प्रकरण : अख्तियारका प्रमुख आयुक्त नै तानिए, ८१ जना विरुद्ध किटानी जाहेरी

भुटानी शरणार्थी प्रकरणमा ८१ जना विरुद्ध किटानी जाहेरी परेको छ । अनुसन्धानका क्रममा अन्य सरकारी कर्मचारी र शीर्ष नेता पनि पर्न सक्ने राईको आशंका छ।

उता अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईले आफ्नो नाम पनि पोलिएपछि राष्ट्रपति र उपराष्ट्रपतिलाई भेटेका छन् ।

सोही प्रकरणमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पनि प्रहरीले तीन दिन थुनामा राख्न म्याद पाएको छ । पाण्डे त्यो बेला गृहसचिव थिए।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान डकुमेन्ट बनाएको गिरोहमा संलग्न भेटिएका तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाकार इन्द्रजित राईले बयानका क्रममा प्रेम राईको पनि नाम लिएपछि राईले बुधबार राष्ट्रपति र उपराष्ट्रपतिसँग भेट गरेका हुन्।

इन्द्रजित राईलाई प्रहरीले मंगलबार पक्रेको हो । बादलका छोरा प्रतिक थापालाई पनि बुधबार नै प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।

राईले बुधबार राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामशहाय प्रसाद यादवलाई भेटेर नक्कली भुटानी शरणार्थी प्रकरणमा उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिवदेखि शीर्ष नेता र तीनका परिवारको संलग्नता रहेको खुलासा भएको र अरु धेरै जना तानिन सक्ने बताएका छन् ।

राई केही समय अघि सम्म गृहसचिव थिए । २०७६ साल जेठमा गृह मन्त्रालयले भुटानी शरणार्थीको समस्या समाधानका लागि पूर्वसहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा कार्यदल गठन गरेको थियो ।

उक्त कार्यदल बन्दा राई गृह सचिव थिए । उनी २०७४ चैत २६ देखि ७६ माघ २० सम्म गृह सचिव बनेका हुन् । भुटानी शरणार्थीको समस्या समाधानका लागि कार्यदल गठन हुनुभन्दा अघि नै एजेन्टहरूले भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पैसा उठाउन थालिसकेका थिए।

सोही प्रकरण संलग्नता भएको आरोपमा तत्कालीन उर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पनि बुधबार नै पक्राउ पुर्जी जारी भएको छ ।

गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई १२ चैतमै प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। केशव दुलाल २०६६ सालमा कांग्रेस नेतृ सुजाता कोइराला उपप्रधान तथा परराष्ट्रमन्त्री बन्दा उनका स्वकीय सचिव थिए ।

उक्त गिरोहले आठ सय भन्दा धेरै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै रकम उठाएका थिए । एकै परिवारबाट एक करोड ६० लाख रुपैयाँसम्म उठाएका उनिहरुले एक अर्ब ठगी गरेको खुलेको छ ।

प्रकाशित मिति: May 3, 2023

प्रतिक्रिया दिनुहोस्