Logo
२९ श्रावण २०७९, आईतबार
(July 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाईखुरे झरनामा पर्यटकको आकर्षण बढ्यो

चिसो बताससँगै कलकल झरेको झरनाको सुन्दर दृश्य अगाडि उभिएर तस्बिर खिच्ने रहर यहाँ पुग्ने सबैलाई हुन्छ । डुम्रे-बेसीसहर सडकखण्डको छेउमै पर्ने बेसीसहर नगरपालिकाको उदिपुरमा रहेको गाईखुरे झरनामा रम्नेको अहिले भिड देख्न सकिन्छ ।

पौडी खेल्न र नुहाउन मात्र होइन, साथीभाइ भेटघाट गर्ने थलो पनि बनेको छ गाईखुरे झरना । कोही पौडी खेल्न, कोही नुहाउन त कोही क्यानोनिङको मज्जा लिन धाइरहेका छन् । पहाडको खोँचबाट झरेको झरनाको चिसो पानीमा खेल्न पाउँदा निकै खुसी भएको बेसीसहरकी कल्पना श्रेष्ठ बताउँछिन् ।

बेलाबेलामा यो झरनामा ‘क्यानोनिङ’ समेत सञ्चालन हुने गरेको छ । बर्खाको समयमा मात्र ठूलो झरना हुने गाईखुरे झरनामा यूवायुवतीहरूको लर्को लाग्न थालेको छ । हेर्दै सिरिंग हुने झरना । कलकल बगेको पानीले झरनालाई सुन्दरता थपेको छ ।
त्यही सुन्दरता र प्राकृतिक मनोरमलाई चुम्न युवाहरुको लर्को लाग्न थालेको छ ।

वर्षातको समयमा मात्र पानी झर्ने उक्त झरनाले स्थानीय पर्यटकलाई आकर्षण गरेको हो । झरनामा पानीको मात्रा बढेसँगै त्यहाँ रमाउनेहरूको भिड पनि बढ्न थालेको हो । विशेष गरी बिदाको दिन झरनामा हेर्न, भिज्न जानेहरुको निकै भिड लाग्ने गरेको छ । हप्ताभरि काममा ब्यस्त हुनेहरू बिदाको दिन झरनामा पुगेर थकाई मेटाउने गर्न थालेका छन् ।

कतिपय त दिनभरिको थकाई मेटाउन साँझपख झरना पुग्ने गर्दछन् । सडक छेउमै भएकोले झरनाको आकर्षणले कतिपयले सवारी रोकेर नै अवलोकन गर्ने गरेका छन् । काठमाडाैंबाट केही दिनका लागि लमजुङ घुम्न आएकी विष्णु केसी छोटो समयमा लमजुङका पर्यटकीय गन्तब्य पुग्न नसके पनि झरनामा पुगेर आनन्द लिएको बताउँछिन् । झरनामा सदरमुकाम बेसीसहरसहित उदिपुर, भोटेओडार, सुन्दरबजारलगायतका ठाउँबाट मनोरञ्जनका लागि आन्तरिक पर्यटकहरू आउने गर्दछन् ।

डुम्रे-बेसीसहर सडकमार्गको छेउमै पर्छ गाईखुरे झरना । मध्यमर्स्याङ्दीको बाँधस्थल आडैमा छ । मनोरम र शान्त वातावरण छ । जिल्लामा पर्यटनको क्षेत्रमा सरकारी तथा गैरसकारी संस्थाको लगानी बढ्दै गए पनि गाईखुरे झरनाको ब्यवस्थापनमा कसैले चासो नदिएको स्थानीयबासीको गुनासो छ ।

थोरै मात्र लगानी गर्न सकिए पनि त्यस क्षेत्र पर्यटकको राम्रो गन्तब्य बन्न सक्ने लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवाल थापा बताउँछन् । निश्चित मापदण्ड बनाएर शुल्क लिनेगरी झरनाको व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिनसके करोडौँ आम्दानी गर्न सकिने उनकाे भनाइ छ । गाईखुरे झरनालाई पर्यटकीय क्षेत्रको रूपमा प्रचारप्रसार गरीने बेसीसहर नगरपालिकाका नगरप्रमुख गुमानसिंह अर्याल बताउँछन् ।

प्रकाशित मिति: Jul 29, 2022

प्रतिक्रिया दिनुहोस्