Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 3, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भैरहवामा ५० करोड लगानीको चारतारे होटल ल्याण्डमार्क सञ्चालनमा

रुपन्देहीको भैरहवामा ५० करोड लगानीको चारतारे होटल ल्याण्डमार्क सञ्चालनमा आएको छ ।

भैरहवाका युवा व्यवसायी आशा गुरुङले सिद्धार्थनगर नगरपालिका-३ मा १० कठ्ठा क्षेत्रफलमा पाँच वर्ष लगाएर तयार गरेको होटेललाई सम्राट ग्रुपले व्यवस्थापन गरी सञ्चालनमा ल्याएको हो ।

२०४८ मा पोखराबाट हस्पिटालिटी व्यवसाय सुरु गरेको सम्राट ग्रुपले काठमाडौं र चितवनमा पनि तारे होटल सञ्चालन गरिरहेको छ ।

हस्पिटालिटी क्षेत्रमा ३० वर्षको अनुभवसँगै बुद्ध जन्मस्थल लुम्बिनीमा आउने भारत र तेस्रो मुलुकका पर्यटकलाई लक्षित गरेर भैरहवाको होटल व्यवस्थापनको जिम्मा लिएको प्रमुख कार्यकारी अधिकृत सीएन पाण्डेले बताए ।

भैरहवाको होटलमा डिलक्स, सुपर डिलक्स, फेमली र जुनियर स्वीट गरी ५० कोठासहित सेवा सुरु गरेको होटलमा कोटियार्ड लाउञ्ज, स्वीमिङ पुल, सय जना क्षमताको रुफटप बार पनि रहेको उनले बताए ।

होटेलको मुख्य विशेषता अधिकांश कोठा र शौचालयमा सूर्यको किरण आउने गरी भवन डिजाइन गरिएको छ ।

निकट भविष्यमै एक बिघा क्षेत्रफलमा १० हजार स्क्वायर फुटमा ६०० र २०० जना क्षमताका पार्टी र सेमिनार हल तथा ३० वटा कोठा बनाउने तयारी भएको उनले बताए ।

भारतीय नागरिकलाई विवाह र भोज समारोह आयोजना गर्न आकर्षित गर्ने गरी हलको डिजाइन गरिने पाण्डेले बताए । ‘हलमा विवाह गर्दा भारतीय ग्राहकले करोड बढी खर्च गरेर चाहे जस्तो सजावट गर्न सक्ने गरी हङकङका इन्जिनियरबाट इन्टेरियर डिजाइन हुनेछ,’ पाण्डेले भने ।

उक्त हल नेपालीलाई भारतीय भन्दा ५० प्रतिशत सस्तोमा उपलब्ध गराई आन्तरिक पर्यटकलाई पनि आकर्षित गर्ने योजना रहेको उनले बताए ।

भारत सरकारले हालै मात्र एकजना भारतीयले ५ हजार डलर साथमा लिएर घुम्न पाउने कानून पारित गरेकाले होटेललाई वेडिङ डेस्टिनेसन बनाउन सहज भएको पाण्डेले बताए ।

यसअघि २५ हजार भारु मात्र बोक्न पाउने प्रावधानले नेपालको होटेल र पर्यटन क्षेत्रमा अपेक्षाकृत ब्यापार हुन सकेको थिएन । होटेलमा सय जनाले प्रत्यक्ष रोजगारी पाएका सञ्चालक आशा गुरुङले बताए ।

प्रकाशित मिति: Mar 3, 2024

प्रतिक्रिया दिनुहोस्