Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भरतपुर भ्रमण वर्षको उद्घाटन भोलि,अध्यक्ष ओलीलाई पनि निम्तो

भरतपुर महानगरपालिकाले आयोजना गर्न लागेको भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुन ५ जना पूर्व प्रधानमन्त्रीसहित मन्त्रीपरिषद्का पूर्व अध्यक्षसमेत चितवन आउने भएका छन् ।

भ्रमण वर्षको फागुन १८ गते भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणी नदी किनारमा एक समारोहका बीच दिउँसो १ बजे उद्घाटन गर्ने तय भएको छ ।

करिब ५० हजार सहभागी हुने उद्घाटन समारोहमा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओली पनि सहभागी हुने जनाइएको छ । उनी भोलि दिउँसो हेलिकोप्टरबाट चितवन आउने कार्यक्रम छ ।

कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, एवम् मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी पनि सहभागी हुने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र रानाले जानकारी दिए ।

उनका अनुसार विभिन्न प्रदेश प्रदेश प्रमुख, मुख्यमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरुसहित अति विशिष्ट ब्यक्तित्वहरुको उद्घाटन समारोहमा सहभागिता रहनेछ ।

उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज बिहीबार नै चितवन आउने कार्यक्रम छ भने बाँकी नेताहरु भोलि शुक्रबार आउने कार्यक्रम तय भएको छ ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइलाई पनि निम्तो गरिएकोमा उनी कार्यव्यस्थताका कारणले सहभागी हुन नसक्ने जनाएको महानगर सञ्चार विज्ञ सुरेशचन्द्र अधिकारीले जानकारी दिए ।

सत्ता गठवन्धनका नेताहरु सहभागी हुनुलाई सामान्य मानिए पनि एमाले अध्यक्ष ओली भरतपुर मेयरको निमन्त्रणलाई स्वीकार गरी आउन लागेकोलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

ओली प्रधानमन्त्री हुँदा नारायणगढ गोन्द्राङ्ग ६ लेनको सडक र भरतपुर सिटी हल शिलान्यास समारोहमा महानगर प्रमुख रेनु दाहाल सहभागी भएकी थिइनन् ।

यसपटक नगर प्रमुख दाहाल आफैंले ओलीलाई फोन गरेर भ्रमण वर्ष समारोहमा सहभागी हुन निम्ता गरेकी थिइन् ।

उद्घाटन समारोहस्थललाई भव्य बनाउने कार्य अन्तिम चरणमा पुगेको प्रमुख प्रशासकीय अधिकृत रानाले जानकारी दिए ।

उद्घाटन समारोह अगाडि महानगरका २९ वटै वडाबाट विभिन्न झाँकीसहितको र्‍याली निकाल्ने र नारायणी नदी किनारमा जाने कार्यक्रम तय भएको छ । २ लाख बाह्य र ५ लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्यसहित भरतपुर भ्रमण वर्ष सुरु गर्न लागिएको हो ।

प्रकाशित मिति: Feb 29, 2024

प्रतिक्रिया दिनुहोस्