Logo
१६ आश्विन २०७९, आईतबार
(July 15, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी सरकारले आउँदो वर्ष दुई सय किलोमिटर सडक कालोपत्रे गर्ने

गण्डकी प्रदेश सरकारले आउँदो वर्ष दुई सय किलोमिटरभन्दा बढी पक्की सडक बनाउने भएको छ । आगामी वर्ष २०७९-८० मा दुई सय ६ किलोमिटर सडक कालोपत्रे गर्ने सरकारले बजेट बक्तब्य मार्फत घोषणा गरेको हो ।

त्यसबाहेक २० वटा सडक पुल निर्माण गर्ने लक्ष्य छ । दुवै कामका लागि एकमुष्ट १० अर्ब विनियोजन गरिएको छ । हालसम्म सडक सन्जालले नछोएका गोरखाको चुमनुब्री र मनाङको नार्पाभूमि गाउँपालिकामा सडक विस्तारको अध्ययन गर्न दुई करोड विनियोजन भएको छ ।

आगामी वर्ष झोलुंगे पुल निर्माण गर्न १५ करोड छुट्याएको छ । नेपाल सरकारसँगको सहकार्यमा उत्तर दक्षिण द्रुतमार्गअन्तर्गत भीमाददेखि डेढगाउँ हुँदै त्रिवेणी जोड्ने सडक, शालिग्राम करिडोरलगायतका सडकमा प्राथमिकता दिने भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले बताए ।

उनका अनुसार चालू वर्षमा ९५ किलोमिटर सडक कालोपत्रे भएको छ भने एक सय ८५ किलोमिटर ग्राभेल भएको छ । आठवटा सडक पुल र चारवटा झोलुंगे पुल निर्माण भएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । पोखरामा प्रदेशस्तरीय बसपार्क निर्माणको थालनी आउँदो वर्षबाट गरिने बताइएको छ ।

नार्पाभूमि र चुमनुब्रीमा सरकार गठन भएकै दिन दुई वर्षभित्र सडक सन्जाल पुर्‍याउने घोषणा गरिएको थियो । तर हालसम्म कुनै प्रगति भएको छैन । हरेक वर्ष बजेट विनियोजन हुन्छ, तर कार्यान्वयन हुँदैन । नार्पाभूमि पुग्ने सडक बनाउन अघिल्लो वर्ष पनि आठ करोड छुट्याइएको थियो । तर काम भएन । अहिले गाउँपालिकाले आफै डोजर किनेर सडक खन्न थालेको छ ।

‘सरकारसँग धेरैपटक भन्यौं । पैसा पनि आयो, तर काम गर्न पाइएन । एक्यापका कारण सडक खन्न मिलेन,’ अध्यक्ष कोन्जो तेन्जिङ लामाले भने, ‘केही उपाय नलागेपछि पालिकाले नै डोजर किनेको छ । विस्तारै खन्न थालेको छ ।’

चुमनुब्री गाउँपालिकाको सीमानाभन्दा चार किलोमिटर वर मात्रै सडक पुगेको छ । तर त्यहाँ पनि मर्स्याङ्दी नदीमा पुल नबनेका कारण गाडी जान सक्दैन । स्थानीयहरू कोतोबाट हिँडेर गाउँ जान्छन् । नार र फू गरी दुई गाउँ रहेको यो पालिका जनसंख्याको हिसावले नेपालकै सबैभन्दा सानो पालिका हो ।

प्रकाशित मिति: Jul 15, 2022

प्रतिक्रिया दिनुहोस्