Logo
६ चैत्र २०८०, मंगलबार
(May 19, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालेनले पाएको भोटले देशलाई दिएको सन्देश

डा. पूर्ण सिलवाल

काठमाण्डौँ महानगरपालिकाका मेयर पदको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन (बालेन्द्र) शाहले प्राप्त गरेको भोटले अहिले नेपालको राजनीतिमा विभिन्न चर्चापरिचर्चा र अड्कलबाजी हुन थालेको छ । कसैले यसलाई जनतामा देखिएको दलप्रतिको वितृष्णा भनेर अथ्र्याएका छन्, कसैले देश निर्दलीयता तर्फ उन्मुख हुन लागेको संकेतको रुपमा अथ्र्याएका छन्, कसैले पंचायतकालका नानीमैँया दाहाललाई राष्ट्रिय पंचायतको सदश्यमा भारी मतले जिताउने काठमाण्डौँको सम्झना गरेका छन् भने कसैले दिल्लीका अरविन्द केजरीवालसंग पनि तुलना गरेका छन् । तर, मलाई लाग्छ काठमाण्डौँका मतदाताहरु एउटा यस्तो मेयरको खोजिमा रहेछन् जो शिक्षित होस्, केही गरौँ भन्ने जोशजाँगर भएको युवा होस्, मेयर बनेपछि महानगरपालिकामा यी कामहरु यसरी काम गर्छु भन्ने स्पष्टता उसमा होस् । त्यसैले काठमाण्डौँका उठेका तीन दर्जन स्वतन्त्र उम्मेदवार मद्ये बालेन्द्रलाई मात्र मन पराए । त्यसैले होला, केही राजनीतिक विश्लेषकहरुले भने, यदि म काठमाण्डौंको मतदाता भइदिएको भए म पनि बालेन्द्र शाहलाई नै भोट दिन्थेँ ।

म (यस लेखक) का.म.पा. वडा नं ३२ को मतदाता हुँ । मैले यसपटक बालेन्द्र शाह र सुनिता डंगोललाई आफ्नो मत दिएको छु । उनीहरुको दुईतिन ओटा अन्तर्वार्ता सुनेपछि म उनीहरुलाई आफ्नो मत दिने निश्कर्षमा पुगेको हुँ । मैले निर्वाचनको एकदुई हप्ता पहिले देखिनै साथीभाईहरुलाई समेत यो कुरा भन्ने गरेको थिए । एउटा टेलिभिजनमा निर्वाचनसम्बन्धी अन्तरवार्ता दिन जाँदा अन्तर्वार्ता सकिएपछिको चिया गफमा उक्त टेलिभिजनका तीनजना बरिष्ट पत्रकारहरुको अगाडि पनि मैले प्रसंगवस यी दुईजनालाई भोट दिँदैछुँ भनँेर सुनाएँको थिए । त्यस मध्यका एकजनाले सोधे पनि, के कारणले बालेनलाई भोट दिनुहुन्छ । मैले छोटकारीमा भनेँको थिए, ‘परिवर्तनको लागि’ ।

बालेन्द्र शाह र सुनिता डंगोल आफ्नो क्षेत्रमा नाम कमाएका, बहुप्रतिभाशाली र जोशजाँगरले भरिपूर्ण युवा आकांक्षी रहेछन् । मैले उनीहरुले दिएको अन्तर्वार्ता युट्युबमा हेरे पछि उनीहरुप्रति आफ्नो धारणा बनाएको हुँ । यसअधि मैले उनीहरुको बारेमा कहिल्यै केही सुनेको थिइन । शुरुमा सुनिताले पनि मेयर पदमै उम्मेदवार दिने बताएकी थिइन्, तर पछि नेकपा एमालेले उनीलाई उपमेयर पदको टिकट दिएछ । अहिले यी दुवै युवा उम्मेदवारहरुले मत गणनाको पहिलो दिन देखिनै लगातार अग्रता हासिल गरिरहेका छन् । यद्यपि, स्वतन्त्र र मेयर पदको उम्मेदवार भएकोले होला बालेन्द्रको चर्चा शिखरमा छ ।
बालेनले युवाको भोट मात्र पाउँछ, बुढापाकाको पाउँदैन, नेवार समुदायको त पाउने कुरै भएन भन्नेहरु पनि निस्के । मेरो हकमा, म युवा मतदाता होइन । म

नेपाली सेनाबाट उमेरको हदले अवकास पाएपछि अध्ययन, अध्यापन र लेखन कार्यमा लागेको मान्छे हुँ । म हालसम्म कुनैपनि राजनीतिक दलसंग आवद्ध छैन । यस अर्थमा म स्वतन्त्र मतदाता हुँ । राजनीतिक दलको सदश्यता नलिएका म जस्ता करोड भन्दा बढि नै स्वतन्त्र मतदाताहरु नेपालमा होलान् । यी सबै स्वतन्त्र नागरिकहरु उम्मेदवारको योग्यता, क्षमता र कामको मुल्याङ्कन गरेर स्वतन्त्र ढंगले मत दिन सक्ने चेतनशील नागरिक हुने हो भने नेपालको लोकतन्त्र सुदृढ हुने र आर्थिक विकासले तीव्रता पाउने निश्चित छ । निर्वाचन सकिएपछि केही साथीभाईसंग भेट हुँदा खुलासा भयो कि मेरो उमेर समुहका उनीहरुले पनि बालेन्द्रलाई नै भोट दिएका रहेछन्, युवाहरुले मात्र होइन ।

मैले किन बालेन र सुनितालाई नै मत दिए ?

यसका पछाडि कुनै ठूल्ठूला कारणहरु छैनन् । ससाना तर जनतासंग प्रत्यक्ष सरकोकार राख्ने महत्वपूर्ण कारणहरु भने अवश्य छन् । काठमाण्डौँ उपत्यकाले निरन्तर भोग्दै आएको समस्या भनेको सफाई र फोहरमैला व्यबस्थापनको हो । विगत ५(७ बर्षदेखि ट्राफिक व्यबस्थापन अर्को ठूलो समस्या बनेको छ । पिउने पानीको अभाव अझ विकराल छ । त्यस्ता अनेकन समस्याहरु छन्, जुन जनताले दशकौँ देखि भोग्दै आएका छन् तर दिगो समाधान कसैले गरेका छैनन् । अघिल्लो व्यबस्था र यसमा समेत फोहरमा उही पुरानो राजनीति निरन्तर चलिरहेको छ । काठमाण्डौँका निवर्तमान मेयरले पनि फोहरबाट बिजुली निकाल्ने कुरा गरेको म अझै सम्झन्छु । तर, अहिले दोश्रो निर्वाचनको मत गणना भइरहँदा काठमाण्डौँको ठाउँठाउँमा फोहरको डंगुर देख्न सकिन्छ । डम्पिङ साइटको दीर्घकालीन समस्याले काठमाण्डौँको सडकमा नाक थुनेर हिड्नु पर्ने वाध्यताको दुष्चक्र दशकौँ देखि दोहरिरहेको छ । महानगरपालिकामा कति पटक कर्मचारीले नेतृत्व गरे र कति पटक निर्वाचित मेयर आए, तर फोहर व्यबस्थापनको समस्या ज्यूँकात्यूँ छ । के काठमाण्डौँको फोहर समाधान नै गर्न नसकिने जटिल समस्या हो ?
मैले दश बर्ष अघि अमेरिकाको सियाटल शहरमा नगरपालिकाको नकुहिने फोहर ब्यवस्थापन केन्द्रको प्रत्यक्ष अवलोकन गर्ने मौका पाएको थिए । फोहर समस्या होइन रहेछ । यो सजिलैसंग व्यबस्थापन गर्न सकिने र ठूलो कमाइको श्रोत पो रहेछ भन्ने कुरा मैले त्यहाँ प्रत्यक्ष देखेको छु । सियाटल शहरले कुहिने फोहरबाट मल बनाउने र नकुहिने फोहर जस्तै कागज, प्लास्टिक, क्यान, बोतल आदिलाई छुट्टाछुट्टै बण्डल बनाएर चीनमा निर्यात गर्दोरहेछ । बालेन शाहले काठमाण्डौँको फोहरको व्यबस्थापन मैले सियाटल शहरमा देखेको जस्तै ढाँचामा व्यबस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरेको पाएँ । म मुख्यतया उनको यही प्रतिवद्धताबाट प्रभावित भएर मत दिएको हुँ । उनले सार्वजनिक यातायात र पार्किङको व्यबस्थापन गर्ने प्रतिवद्धता पनि ब्यक्त गरेका छन् । गम्भिर भएर पार्किङको बैज्ञानिक व्यबस्थापन नगर्ने हो भने अव छिट्टै काठमाण्डौँ मात्र होइन, पूरै उपत्यका अस्तव्यस्त बन्नेछ । अहिले ट्राफिक व्यबस्थापनमा प्रविधिको प्रयोग नगन्य छ । कोटेश्वर लगायत ट्राफिक जाम हुने चोकहरुमा दीघकालसम्म धान्ने संरचनात्मक सुधार गर्ने तर्फ कसैको ध्यान गएको छैन । यदाकदा अल्पकालीन टालटुले योजना मात्र ल्याएको देखिन्छ ।
बहुप्रतिभाकी धनी सुनिता डंगोलले काठमाण्डौँ शहरलाई सांस्कृतिक शहर र बस्न लायकको शहर बनाउने प्रतिवद्धता ब्यक्त गरेकी थिइन् । काठमाण्डौँलाई सांस्कृतिक र बस्नलायक शहर बनाइ दिए पुगि हाल्यो नि अरु के चाहियो र । त्यसपछि यहाँ विदेशी पर्यटककोे ओहिरो लाग्छ । उनले मुख्यतस् यति मात्र गरिदिए पुग्छ । मैले त्यसकै लागि मत दिएको हुँ । संस्कृतिको जगेर्नामा नै नेपालको भविष्य छ । मैले यसपटक उपमेयरमा सुनिता डंगोल भन्ने व्यक्तिको अठोट र हासिल गरेको अनुभवको आधार उनलाई पत्याएको हुँ, दललाई होइन । उनले जति मत पाएकी छिन् त्यसमध्ये कैयन मत दलको उम्मेदवार भएर होइन, राम्रो उम्मेदवार भएर हो भन्ने मलाई लाग्छ । म जस्तै काठमाण्डौँमा परिवर्तन देख्न चाहने मतदाताहरुले पनि यी यस्तै ससाना कारणहरुले गर्दा उनीहरुलाई मत दिएको हुनुपर्छ । यी दुवै उम्मेदवारले छोेटो समयमा काठमाण्डौँका स्वतन्त्र र चेतनशील मतदातासंग आफुलाई जोड्न (कनेक्ट गर्न) सफल भएका छन् ।

अबको ट्रेन्ड

निर्वाचनमा जित्न उम्मेदवारले मतदातासंग आफूलाई कनेक्ट गर्न (जोड्न) सक्नुपर्दछ, उनीहरुको दिलमा बस्न सक्नु र विश्वास जित्नु पर्छ । यी दुवै उम्मेदवारले मतदातासंग आफूलाई कनेक्ट गर्न मिडिया र सोसल मिडियालाई अत्यन्तै प्रभावकारी ढंगले उपयोग गरेको पाएँ । मैले पनि यी दुई माध्यमबाट नै उनीहरुलाई चिनेको हुँ । घरदैलोमा भेटेको वा चुनावी सभामा उनीहरुको भाषण प्रत्यक्ष सुनेको होइन । कम्तिमा पनि शहरी इलाकामा सोसल मिडियालाई राम्रो उपयोग गर्न नस्कने उम्मेदवारले अवको मतदाताको मन जित्न सक्ने सम्भावना म देख्दिन । अहिलेको स्थानीय निर्वाचनमा बालेन्द्र सुनिताहरुको उदय भनेको अमेरिकी राष्ट्रपति निर्वाचनमा ओबामा र ट्रम्पको उदय भएजस्तै हो । भरतपुर महानगरपालिकाका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले मिडिया र सोसल मिडियामा पर्याप्त स्थान पाएको भएपनि उनले जनताको समस्यालाई उठाएर मतदातासंग कनेक्ट हुँने भन्दा पनि आफ्नो दल कांग्रेस भित्रको राजनीतिक समस्यालाई बढी कोट्याएर कांग्रेसी मतदातासंग मात्र कनेक्ट हुन खोजेको देखियोे । राजनीतिक सन्दर्भले पनि उनलाई त्यसो गर्न वाध्य बनाएको हुनुपर्छ ।

बक्तृत्वकला उम्मेदवारमा हुनुपर्ने अर्को महत्वपूर्ण क्षमता हो । बालेन्द्र र सुनिताको साझा क्षमता भनेको उनीहरुको उत्कृष्ट बक्तृत्वकला र आफुले जितेपछि गर्नुपर्ने कामबारेको स्पष्ट ज्ञान नै हो । जनतासंग छिटो कनेक्ट हुन बक्तृत्वकला सबैभन्दा महत्वपूर्ण र सशक्त माध्यम हो भन्ने कुरा उनीहरुले प्रमाणित गरिदिएका छन् । आखिरमा बोल्न सक्नेको पिठो पनि बिक्छ, नसक्नेको चामल पनि बिक्दैन । म उनीहरुको बक्तृत्वकला र कुनैपनि काम ‘कसरी’ गरिने छ भन्ने जवाफबाट अत्यन्तै प्रभावित भएर मत हालेको हुँ । राजनीतिक दलले आफ्ना उम्मेदवारहरु प्रायस् उम्मेदवारी दर्ताको मिति भन्दा एकदुई दिन वा घण्टा अघिमात्र टिकट पाउँछन् । योजना बनाउने र तयारी गर्ने मौका पाएका हुदैनन् । भरतपुर नगरपालिका मेयरका उम्मेदवारहरुले हालको ठाउँबाट एअरपोर्ट हटाउने प्रतिबद्धता जनाएको सुनेँ, तर कसरी हटाउने, नयाँ ठाउँमा जग्गा खरिद गर्न र एअरपोर्ट बनाउन लाग्ने त्यत्रो बजेट कहाँबाट आउँछ त्यसबारे केही बताउन सकेका छैनन् । भन्नकै लागि मात्र भनिदिएका छन् । चेतनशील मतदाताले त यसलाई फोस्रो आश्वासनको रुपमा बुभ्mदछन् ।
धेरै बर्ष राजनीति गरेका दलका उम्मेदवारले चुनावको बेला जे पनि गर्छु भन्छन्, ढाँट्छन्, र जिते पछि काम गर्दैनन् भन्ने भान आम जनतामा परेको छ । तर, पहिलो चोटी उम्मेदवार बनेका व्यक्ति भएकाले बालेन्द्रको प्रतिवद्धतालाई मतदाताले विश्वास गरेका छन् । उनले गर्न सक्ने जतिमात्र बोलेका छन्, गर्छु भनेको काम कसरी गर्ने भन्नेमा राम्रो योजना र तयारी गरेका छन्, झुठा आश्वासन दिएका छैनन् भनेर विशेषगरी युवा मतदाताहरुको भनाई रहेको पाइन्छ । यसपाली काठमाण्डौँ र अरु शहरका पहिलो पटक मतदाता बनेका युवाहरु प्रायस् नीजि विद्यालय र नीजि कलेजमा पढेका व्यक्तिहरु हुन् । उनीहरुले सरकारी विद्यालय र कलेजमा पढ्ने विद्यार्थीहरुले जस्तो राजनीति गरेका वा राजनीतिक दलसंग आवद्ध भईसकेका हुँदैनन् । त्यसैले उनीहरुले दलका उम्मेदवारलाई भन्दा पनि आफूलाई मनपर्ने राम्रा उम्मेदवारलाई मत दिन्छन् । अहिले काठमाण्डौँमा भएको त्यही हो ।

राजनीतिक दलमा नलागेका स्वतन्त्र र आफ्नो दलबाट विद्रोह गरी बनेका स्वतन्त्र गरी दुई थरी स्वतन्त्र उम्मेदवारहरु यस पटक चुनावी मैदानमा देखिन्छन् । मतदातामा पनि एकथरी वास्तबमै स्वतन्त्र छन् जो प्रत्येक पटकको निर्वाचनमा राम्रा उम्मेदवारको खोजीमा हुन्छन् भने अर्कोथरी सधैँ एउटै चुनाव चिन्हमा छाप हान्न बानी परेका स्वतन्त्र मतदाताहरु छन् । काठमाण्डौँले के देखाएको छ भने शहरी क्षेत्रमा स्वतन्त्ररुपमा मत दिने मतदाताहरुको संख्या बढेको छ जस्ले राम्रा उम्मेदवारलाई छान्छन् । जति स्वतन्त्र मतदाताको संख्या बढ्दै गयो त्यति नै लोकतन्त्र बलियो हुदै जान्छ । यो सकारात्मक पक्ष हो । बालेन्दको जित न त दलीय प्रणाली विरुद्ध हो, न त गणतन्त्र विरुद्ध नै हो, यो स्वतन्त्र मतदातामा आएकोे चेतना र सोसल मिडिया उपयोगको करामत हो ।

पद र कामको प्रकृति अनुसारको विज्ञता, अनुभव वा त्यस क्षेत्रमा काम गरी सफलता हासिल गरिसकेका व्यक्तिलाई जनताले काठमाण्डौँको मेयरमा ल्याउन चाहेको देखिन्छ । भारतमा समेत त्यस्तो ट्रेण्ड आईसकेको छ । केजरीवालको आमआदमी पार्टीले दिल्लीमा गरेको कामबाट प्रभावित भएर हालै भएको पञ्जावको एसेम्ल्बी चुनावमा अत्यधिक सिटमा विजयी गराए । परराष्ट्र विज्ञ एस. जयशंकरलाई मोदीले विदेशमन्त्री बनाए । मोदीले १२ बर्ष गुजरातको मुख्यमन्त्री हुँदा त्यस राज्यमा पहिले कहिल्यै नभएको विकास उनले गरेर देखाएको हुँनाले उनलाई जनताले प्रधानमन्त्री बनाए । प्रधानमन्त्रीको पहिलो टर्ममा उत्कृष्ट काम गरेको हुँनाले उनको दललाई दोश्रो पटकपनि जनताले भारी मत दिएर जितायो र उनी फेरी सजिलै प्रधानमन्त्री बने । अव नेपाली जनताले पनि विगतमा गरेको कार्यसफलता वा सम्बन्धित काममा विज्ञता हासिल गरेका व्यक्तिलाई निर्वाचित गरेर आर्थिक विकासलाई तिव्रता दिनु बाहेक अर्को उपयुक्त विकल्प छैन ।
(सिलवाल “नेपाल्स इन्स्ट्याविलिटि कनन्ड्रमस् न्याभिगेटिङ पोलिटिकल, मिलिटरी, इकोनोमिक एण्ड डिप्लोम्याटिक ल्याण्ड्स्केप” नामक अंग्रजी भाषामा लेखिएको पुस्तकका लेखक हुन्)

प्रकाशित मिति: May 18, 2022

प्रतिक्रिया दिनुहोस्