Logo
७ बैशाख २०८१, शुक्रबार
(April 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ वर्ष

कवि:प्रा.डा. मोहनप्रसाद तिमिल्सिना
चाखी स्वाद नयाँ नयाँ प्रकृतिका सद्भाव बाँडौं नयाँ
भाका सिर्जनका नयाँ र रसिला माया दया होस् नयाँ
नेपाली सबमा समान ममता सद्भाव होस् हर्षमा
सारा दर्द हटी रहौं सब सुखी हामी नयाँ वर्षमा ।१।

कांही तोड र फोड मोड नबनोस् राम्रो बनोस् मङ्गल
हाम्रै शिल्प टिपेर शैल बनमा सर्वत्र होस् मङ्गल
सेता स्वर्णिम शैलका छबि सबै आशा बनून् हर्षमा
सारा दर्द हटी रहौं सब सुखी हामी नयाँ वर्षमा ।२।

सारा फूल फुलेर मग्मग सबै पाखा पखेराहरु
धारा झर्झर झर्झराउन सकून् लाखौं पंधेराहरु
शून्याकाश स्वरूप ब्रह्म विधिको माया झरोस् हर्षमा
सारा दर्द हटी रहौं सब सुखी हामी नयाँ वर्षमा ।३।

यो ब्रह्माण्ड विशालता र नभको आधा महावर्षण
सारा जीव र प्रेम प्रेमसंगको साझा महाघर्षण
आऊन् नित्यनवीन प्रेमसुखले सद्भावले हर्षमा
सारा दर्द हटी रहौं सब सुखी हामी नयाँ वर्षमा ।४।

झारी बादल रेशमी शिखरको श्रीसूर्य छेकीकन
सेता सुन्दर शैलबाट दिलको उल्लास डाकीकन
पृथ्वी पिण्ड प्रपिण्ड मञ्चन सफा मन्दाकिनी हर्षमा
सारा दर्द हटी रहौं सब सुखी हामी नयाँ वर्षमा ।५।

प्रकाशित मिति: Apr 13, 2022

प्रतिक्रिया दिनुहोस्