Logo
१७ बैशाख २०८१, सोमबार
(March 8, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शनिवारदेखि १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइने

सरकारले आउँदो शनिवारदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सुरु हुने भएको छ । स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासका अनुसार १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइने छ ।

उनले झापा, बारा, लमजुङ, पर्वत, बागलुङ, मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा हात्तीपाइले विरुद्धको औषधि खुवाइने बताए ।

यी मध्ये झापा, बारा, लमजुङ, पर्वत र बागलुङमा दुई थरिका र मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा तीन थरिका औषधि खुवाइने छ ।

१० जिल्लाका ११४ स्थानीय तहका ६२ लाख ६३ हजार जनालाई औषधि खुवाइने छ ।यसका लागि चार हजार ७ सय स्वास्थ्यकर्मी र आठ हजार ८ सय महिला स्वास्थ्य स्वयंसेविकाले बुथ र घर घरमा गएर औषधि खुवाउने छन् ।

हात्तीपाइले रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीले गराउँदछ ।यो रोगको सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ ।

मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्षपछि यसको असर देखिने गर्छ । हात्तीपाइले रोग विरुद्धको औषधि खाएपछि टाउको दुख्ने, वाकवाकी लाग्ने जस्ता समस्या देखिन सक्छ ।

प्रकाशित मिति: Mar 8, 2022

प्रतिक्रिया दिनुहोस्