Logo
६ जेष्ठ २०८१, आईतबार
(November 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अष्ट्रेलियामा डिसेम्बर १ देखि विदेशी विद्यार्थी र कामदारले प्रवेश पाउने

अष्ट्रेलियाले २० महिनापछि अन्तर्राष्ट्रिय सीमा खुला गर्ने घोषणा गरेको छ ।प्रधानमन्त्री स्कट मरिसनले आज पत्रकार सम्मेलन गर्दै डिसेम्बर १ देखि अन्तर्राष्ट्रिय विद्यार्थीसहित दक्ष कामदारलाई प्रवेश अनुमति दिइने जनाएका छन् ।

त्यहाँका ८५ प्रतिशत जनसंख्याले कोभिड-१९ विरुद्धको खोप लगाइसकेपछि सरकारले यस्तो निर्णय लिएको हो । विदेशीको लागि सीमा खुला गर्ने निर्णयसँगै झन्डै २ लाख भिसावाहक विदेशी तत्कालै अष्ट्रेलियामा भित्रिने अपेक्षा गरिएको छ ।

डिसेम्बर १ देखि पूर्णमात्रा खोप लगाएका र दक्ष कामदारसहितका विद्यार्थीले प्रवेश पाउने जनाइएको छ । तर, अष्ट्रेलिया जाने विद्यार्थीले क्वारेन्टिन बस्नुपर्छ वा पर्दैन भन्ने निर्णय चाहिँ सम्बन्धित राज्य सरकारले गर्ने भएका छन् ।

न्यू साउथ वेल्स र भिक्टोरियाले पूर्ण मात्रा खोप लगाइसकेका विद्यार्थीले क्वारेन्टिन बस्नु नपर्ने निर्णय गरिसकेका छन् । विद्यार्थीले ३ दिनभित्रको कोभिड नेगेटिभ प्रमाणपत्र पनि पेश गर्नुपर्ने भएको छ ।

अष्ट्रेलियाको गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार विभिन्न २८ वटा शीर्षकका भिसाबाहक विदेशी नागरिकले प्रवेश पाउनेछन् जसमा दक्ष कामदार, शरणार्थी, वर्किङ होलिडे, मानवीय लगायतका शीर्षक छन् ।

डिसेम्बर १ देखि अष्ट्रेलियाले विदेशीलाई अनुमति दिने भएपछि अब ठूलो संख्यामा नेपाली विद्यार्थी जाने अनुमान गरिएको छ । सयौं नेपाली विद्यार्थी भिसा लिएर बसिरहेका छन् । तर, सरकारले तोकेको मापदण्ड चाहिँ उनीहरुले पुरा गर्नुपर्ने हुन्छ ।

 

प्रकाशित मिति: Nov 22, 2021

प्रतिक्रिया दिनुहोस्