माओवादीलाई सिध्याउन खोजे एमालेलाई पत्तासाफ गर्ने प्रचण्डको चेतावनी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादीलाई सिध्याउन खोजेकाले एमालेलाई पत्तासाफ गर्ने चेतावनी दिएका छन् ।
माओवादी केन्द्रले आज चितवनको भरतपुरमा आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा उनले एमाले अध्यक्ष केपी ओलीले आफूसँग बदला लिन खोज्दा बालुवाटारबाट बालकोट पुगेको टिप्पणी गरे ।
उनले आफूसँग बदला लिन खोजे ओली आँफै सकिने चेतावनी दिँदै ओली प्रवृतिको अन्त्यका लागि पाँच दलीय गठवन्धन निर्माण भएको जिकिर गरे ।
अध्यक्ष दाहालले ओली पानी बिनाको माछा झैं छटपटाउने र बरबराउने गरेको आरोप पनि लगाए ।माओवादीलाई सिध्याउन माडीमा राम सीताको नाटक मञ्चन गरिएको भन्दै उनले जनताको मन जितेर आएको पार्टीलाई सिध्याउने सपना कसैलाई नदेख्न चुनौति दिए ।
बुटवलमा गर्ने भनिएको महाधिवेशन आफूलाई सिध्याउन चितवन सारेको उनको जिकिर थियो । अध्यक्ष दाहालले चितवनमा ठूलो राजनीतिक लडाईं हुने र त्यो महाभारतको कुरुक्षेत्र जस्तै बन्ने बताए । पाण्डव हुने की कौरव अब सोच्ने बेला आएको भन्दै उनले कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिए । ।
ओलीबाहेकका कम्युनिष्टसँग एकताको लागि गृहकार्य भइरहेको र त्यसका लागि बिभिन्न चरणमा वार्ता भइरहेको उनको भनाइ थियो । त्यसअघि अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघले आयोजना गरेको कार्यक्रममा सहभागी भएका दाहालले चितवनको स्वास्थ्य क्षेत्रको विकासमा आफूले सरकारलाई ठोस कार्यक्रम योजना र बजेटका लागि आग्रह गर्ने आश्वासन दिए ।