आखाँमा लाग्ने शापू कस्तो रोग हो ? जान्नुहोस् ! यसका लक्षण र बच्ने उपायहरु
आँखामा लाग्ने रोगमध्ये शापू पनि एक रोग हो । जुन रोग आखाको लागि एकदमै खतरा मान्ने गरिन्छ । यो रोग एक प्रकारको पुतलीबाट लाग्ने गर्छ । शापू एक दृष्टिनाशक रोग हो।
प्राय वर्षा यामपछि भदौदेखि मंसिर महिना सम्म विशेष गरी नेपालको मध्य पहाडी भेटमा शापू महामारीको रुपमा देखिने गरेको छ। यो रोगको लक्षणहरु देखापरेको २४ देखि ४८ घण्टासम्म उपचार नपाए आँखाको दृष्टि गुम्न सक्छ।
के कारणले लाग्छ शापू रोग?
हालसम्म सेतो पुतली(मोथ)लाई शापूको कारण मानिएको छ तथापि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरुलाई पनि यो रोग देखा परेको छ। अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ।
लक्षण तथा चिन्हहरु
चिप्रा नलाग्नु।
एक्कासी एउटा आँखा रातो हुनु।
आँखाको दृष्टिमा तत्कालै कमी हुनु।
उज्यालोमा हेर्न नसक्नु।
उपचारमा ढिला भएमा कालो नानीमा सेतो देखिन्छ।
आँखाको दुखाई सामान्य वा बढी हुनु।
रोकथाम तथा उपचार
यो रोगको निदान तथा उपचार आँखा विभाग अस्पतालहरुमा मात्र गर्ने गरिन्छ। शापूको आकस्मिक उपचार सेवा आँखा भित्र औषधिको सुई लगाएर तथा जटिल अवस्थामा आँखाको शल्यक्रिया समेतबाट गर्ने गरिन्छ। समयमा नै उपचार भएमा मात्र आँखा निको हुन्छ तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न सक्छ वा आँखा सुकेर जान सक्छ।
साँझ र राती झ्याल ढोका बन्द गर्ने।
सुत्ने कोठामा बत्ति निभाएर वा मधूरो बत्ती बालेर झूलभित्र मात्रै सुत्ने।
शापू रोग लाग्नबाट बच्नका लागि सेतो पुतली (मोथ)को संसर्गबाट टाढै रहने।
धेरै उज्यालो सेतो बत्ति नबाल्ने।
आफूखुशी कुनै पनि आँखाको औषधि तथा जडिबुटी नराख्ने।
सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने।
रोगको लक्षण देखा परेमा वा शंका लागेमा तुरुन्तै आँखा विभाग अस्पतालमा जाने।
आँखा स्वास्थ्यकर्मीहरुको सल्लाह बमोजिम उपचार गर्ने।स्वास्थ्य पत्रिका