Logo
३१ असार २०८१, आईतबार
(June 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गर्भवतीले अलिअलि वाइन, बियर खायो भने के हुन्छ ?

‘गर्भवतीले अलिअलि वाइन, बियर खायो भने शिशुको आँखा, छाला राम्रो हुन्छ रे, एक दुई पेग दन्काए हुन्छ नि !’ पार्टी, जमघटहरूमा गर्भवती महिलाहरूलाई यसरी मदिराजन्य पदार्थ पिउन उक्साएको देखिन्छ । तर, के गर्भवतीले वाइन, बियर, हुस्की आदि मदिराजन्य पदार्थ पिउनु लाभदायक हुन्छ त ?

वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राडा सुमनराज ताम्राकार

धुलिखेल अस्पतालका वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राडा सुमनराज ताम्राकार भन्नु हुन्छ :  ‘यो बिल्कुलै गलत कुरा हो । गर्भावस्थामा वाइन, बियर, हुस्की, भोड्का आदि कुनै पनि किसिमको मदिराजन्य पदार्थको उपभोग गर्नु हानिकारक हुन्छ। गर्भवती आमाले मदिराजन्य वस्तु खाएमा शिशुहरूमा ‘फेटल अल्कोहल सिन्ड्रोम’ देखापर्छ ।

यस्ता शिशुहरूको टाउको सानो हुने, नाकको डाँडीबीचको खाल्डो पनि अलि तलसम्म हुने, माथिल्लो ओठ पातलो हुने समस्या देखिन्छ । उसको बौद्धिक स्तर कमजोर हुने, सिप सिकाइ र पढाइ पनि एकदमै कमजोर हुनसक्छ ।’

चिकित्सकहरूका अनुसार गर्भावस्थामा मदिरा पिउँदा शिशुको कलेजो, साल र रक्त नलीहरूमा प्रत्यक्ष असर पर्छ । रक्तनलीहरू कडा हुन जान्छन्, शिशुमा पोषणको कमी हुन्छ । रक्तनलीहरू कडा हुने भएकाले रक्तचाप अत्यधिक बढ्छ र नियन्त्रणबाहिर पुग्छ ।

यस्तोमा औषधिको अधिक मात्राले पनि रक्तचाप नियन्त्रण गर्न नसकिने हुन्छ । त्यति मात्र होइन, बच्चा वृद्धि नहुने समस्याका साथै रक्सी धेरै खाने गर्भवती महिलाहरूको बच्चाको एक्कासि मृत्यु भएको पनि पाइएको छ । जातीय हिसाबले गरिएको एक अध्ययनमा परम्परागत रूपमा रक्सी नखाएका तर हाल खान थालेका क्षेत्री बाहुनहरूमा यस्ता समस्या अलि बढी देखिएको पाइएको छ ।

स्त्री रोग विशेषज्ञ डा. ताम्राकारका अनुसार गर्भावस्थामा रक्सी खानेहरूको बच्चा जन्मिँदा शारीरिक तथा मानसिक रूपमा विकलाङ्ग र कमजोर हुने समस्या हुन्छ । बच्चादानीमा पानीको कमी हुन्छ र समय नपुग्दै बच्चा जन्माइनुपर्ने हुन्छ । यस्तो बच्चाको स्वास्थ्य कमजोर हुन्छ र कतिपय अवस्थामा बचाउन पनि कठिन हुन्छ । अर्को महत्वपूर्ण कुरा के छ भने गर्भावस्थामा रक्सी खाने आमाका बच्चाहरूमा उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, डायबिटिज, क्यान्सरजस्ता नसर्ने खालका रोगका साथै अरू मुटुका रोगहरू पनि छिटो देखिने गरेको पाइएको छ ।

रक्सी सेवन गर्दा रक्तनलीमा असर गर्ने भएकोले गर्भ तुहिने सम्भावना पनि धेरै नै हुन्छ । रक्सी खाँदा चिल्लो खाद्य वस्तुहरू र कतिपयले धूमपान पनि गर्ने भएकोले यसले आमा र शिशु दुवैलाई नसर्ने रोगको खतरा धेरै नै बढाइदिन्छ । आजकल विशेषगरी सहरी जीवनमा भेटघाटहरू र पार्टीहरू धेरै हुने, खराब चिल्लोमा तारेका हानिकारक खाने कुराहरू खाने क्रम बढेको छ ।

पछिल्लो समयमा तीजमा पनि एक डेढ महिनाअघिदेखि पार्टी प्यालेसहरूमा जमघट गरेर खाने र त्यसमा गर्भवती महिलाहरू पनि रमाइलो गर्ने निहुँमा सामेल हुने प्रचलन बढेको छ । यसरी बारम्बार खराब चिल्लो, रक्सी र कोक, फेन्टाजस्ता सफ्ट ड्रिङ्स सेवन गर्ने गर्दा गर्भवती महिला र उनको गर्भमा रहेको शिशुको स्वास्थ्य खतरामा पर्छ ।

चिकित्सकहरू गर्भावस्थामा महिलाले कफी, डार्क चकलेटलगायत क्याफिनयुक्त वस्तुहरू पनि नखानु नै उचित हुने बताउँछन् । फर्मालिन हालेर बाहिरबाट ल्याइएका माछा, विषादिको अत्यधिक प्रयोग भएका फलफूल र तरकारीहरू पनि गर्भवती आमा र शिशुका लागि निकै खतरनाक सावित भएका छन् । यसले क्यान्सरलगायत नसर्ने रोगको वृद्धि गर्न निकै सघाएका छन् । यसतर्फ गर्भवती महिलामात्र नभई उनका परिवारले पनि विशेष ध्यान दिन आवश्यक रहेको डा. ताम्राकारको भनाइ छ ।

गर्भवतीले रक्सी पिए के हुन्छ ?
–नजन्मिँदै रक्सीको प्रभावमा परेको बच्चा अरूभन्दा सानो, पुड्को र कुपोषित हुन सक्छ ।
–अनुहार फरक हुनसक्छ, जस्तोः सानो र चिम्सो आँखा हुनसक्छ,
–बच्चा महिना नपुगी जन्मिन सक्छ ।
–शिशुमा निन्द्रासम्बन्धी समस्या हुन सक्छ, पछि दुव्र्यसनमा फस्न सक्छ ।
–शिशु बढी चञ्चले हुने, कम्पनको समस्या हुनसक्छ ।
–खाना खुवाउन समस्या हुनसक्छ र बारम्बार डाइरिया हुनसक्छ ।
–मुटुको धड्कन बढ्ने, खाना नपच्ने, श्वासप्रश्वासमा समस्या हुनसक्छ ।
–शारीरिक र मानसिक विकास ढिलो हुनसक्छ ।
–कुनै कुरामा ध्यान दिन नसक्ने र झगडालु हुनसक्छ ।
–मानसिक स्वास्थ्य खराब हुनसक्छ र पछि अनुपयुक्त यौन व्यवहार गर्नसक्छ ।
–जन्मिँदै मुटु, मिर्गाैला, हाडहरूमा समस्या आउने, दृष्टि र श्रवण क्षमता कमजोर हुनसक्छ ।

यसकारण रक्सी त छोड्नैपर्छ : 

गर्भावस्थामा रक्सी खानाले शिशु जन्मेदेखि पछिसम्म उसको जीवनमा असर गर्न सक्छ । यसलाई ‘फ्याटल अल्कोहल स्पेक्ट्रम डिस अर्डर’ पनि भनिन्छ । यसअनुसार सिकाइ र बानी व्यहोरामा नकारात्मक असर गर्न सक्छ ।

जोर्नीहरू, हाड, मांशपेसी र अरू अंगहरूमा असर गर्न सक्छ । भावनाहरूको व्यवस्थापन गर्न र अरू सिपहरूको विकासमा असर पर्न सक्छ । एकदमै चलिरहने चकचके हुने, आवेग नियन्त्रण गर्न नसक्ने खालको हुनसक्छ । राम्ररी बोल्न वा सञ्चार गर्न नसक्ने हुनसक्छ । गर्भवतीले रक्सीको मात्रा धेरै खाएको छ भने त्यसको असर अझ बढी हुनसक्छ ।

यदि तपाईं गर्भाधानको योजना गर्दै हुनुहुन्छ वा गर्भवती हुनुहुन्छ भने रक्सी खान छोड्नुपर्छ । यसले तपाईंको शिशुलाई स्वास्थ्य समस्या हुनबाट धेरै हदसम्म जोगाउँछ । यस अवस्थामा मदिरा पान गर्नु भनेको शिशुको स्वास्थ्यमा जोखिम पुर्‍याउनु हो र मदिराको मात्रा जति बढ्दै जान्छ जोखिमको मात्रा पनि बढ्दै जान्छ । त्यस्तै, स्वस्थ बच्चा जन्माउनका लागि सुर्तीजन्य वस्तुको उपभोग नगर्नु ज्यादै बुद्धिमानी हुन्छ ।

गर्भधारणको योजना गरेका वा गर्भवती भएका महिलाहरूले दृढताका साथ रक्सी छोड्नैपर्छ र स्वस्थ बच्चा जन्माउने योजनामा लाग्नुपर्छ । गर्भवती हुनुअघिसम्म धेरै रक्सी खाने गरिएको भए पनि गर्भवती भएको थाहा पाउनासाथ चटक्कै छोड्नु उचित हुन्छ ।

गर्भावस्थामा कति मात्रासम्म रक्सी, चुरोट, ई–सिगरेट खान मिल्छ भन्ने हुँदैन, चटक्कै छोड्नु नै बुद्धिमानी हुन्छ । छोड्न साह्रै गाह्रो भए अस्पताल वा चिकित्सकको सहयोग लिन हिचकिचाउनु हुँदैन ।

प्रकाशित मिति: Jun 25, 2024

प्रतिक्रिया दिनुहोस्