Logo
१९ बैशाख २०८१, बुधबार
(September 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवलपुरबाट चोरीका १६ मोटरसाइकलसहित छ जना पक्राउ

नवलपुर जिल्लाका विभिन्न स्थानबाट १६ चोरीका मोटरसाइकलसहित प्रहरीले छ जना व्यक्तिलाई पक्राउ गरेको छ ।

नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) को इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट मोटरसाइकलसहित चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जिल्लाको अरुणखोला, सर्दी र चिसापानीबाट मोटरसाइकलसहित चोरीमा संलग्नलाई पक्राउ गरिएको जानकारी दिए ।

उनका अनुसार प्रहरीले चोरीका मोटरसाइकलसहित जिल्लाको मध्यविन्दु नगरपालिका-१० का २९ वर्षीय मुकेश थापा, सोही ठाउँका ३३ वर्षीय दिलबहादुर सोती, विनयी त्रिवेणी गाउँपालिका-२ का ३० वर्षीय गङ्गाबहादुर मगर, विनयी त्रिवेणी गाउँपालिका-४ का २३ वर्षीय प्रेमबहादुर परियार, सोही स्थानका २० वर्षीय मिलन थापा र पाल्पाको निस्दी गाउँपालिका-७ का २५ वर्षीय खेमबहादुर सारुलाई पक्राउ गरेको छ ।

जिल्लामा एकै पटक ठुलो सङ्ख्यामा चोरीका मोटरसाइकल समातिएको यो पहिलो घटना भएको गिरीको भनाइ छ । प्रहरीले बरामद गरेका मोटरसाइकल सम्बन्धित धनीलाई सम्पर्क गरेर बुझाउने प्रक्रिया सुरु गरेको उनले बताए ।

चोरीका मोटरसाइकलसहित पक्राउ परेका व्यक्तिलाई मुलुकी अपराध संहिता-२०७४ को परिच्छेद २० को चोरीसम्बन्धी कसुरअन्तर्गत अनुसन्धान कार्य अघि बढाइएको छ ।

प्रहरीले बरामद गरेका मोटरसाइकल चोरीमा संलग्न रहेका अन्य व्यक्तिको खोजी कार्यसमेत जारी रहेको जनाएको छ ।

प्रकाशित मिति: Sep 15, 2021

प्रतिक्रिया दिनुहोस्