Logo
५ जेष्ठ २०८१, शनिबार
(August 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफूले देशमा रक्तपात हुन नदिन देश छोडेको अफगान राष्ट्रपति घानीको भनाइ

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले आफूले देशमा रक्तपात हुनबाट बचाउन देश छोडेको बताएका छन्।उनलाई बुधबार साँझ युनाइटेड अरब इमिरेट्समा स्वागत गरिएको छ । उनको साथमा उनको परिवार पनि रहेका छन् ।

उनी गत आइतबार देश छोडेर ताजिकिस्तानतर्फ लागेका थिए। उनी अहिले संयुक्त अरब इमिरेट्स पुगेको बताइएको छ ।हिंस्रक रूपमा तालिबानीले विभिन्न सहर हुँदै राजधानी काबुल नै कब्जा गर्न थालेपछि उनले गएको आइतबार देश छाडेका थिए ।

देश छोडेपछि पहिलो पटक आफ्नो भनाइ राख्दै उनले आफूले देशमा रक्तपात हुने देखेर नै त्यसबाट बचाउनका लागि देश छोडेर हिँडेको भनाइ सार्वजनिक गरेका हुन् ।

उनले बुधबार आफ्नो राष्ट्रिय भाषा पास्तोमा सम्बोधन गर्दै सो धारणा राखेका छन्। त्यस क्रममा उनले आफ्ना पूर्व मन्त्रीले देश छोडेर भागेको भनी गरेको आलोचनाको पनि बचाउ गरेका छन्।

उनलाई आफ्नै मन्त्रिपरिषद्का कतिपय मन्त्रीले देश नै अप्ठ्यारो स्थितिमा परेको अवस्थामा आफूहरु र देशलाई नै छोडेर घानी भागेको भनेर आलोचना गरेका थिए ।

गएको आइतबार यता काबुललाई तालिबानीले कब्जामा लिएका छन् । उनीहरुले तालिबानी सरकार गठनको तयारी पनि गरिरहेका छन् ।

काबुलबाट प्राप्त समाचारअनुसार त्यहाँ जताततै तालिबानका हतियारधारी लडाकुले गस्ती गरिरहेका देखिएको छ । सडकमा महिलाको सङ्ख्या कम देखिए पनि दैनिक जनजीवनका अन्य गतिविधि सामान्य बन्दै गएको जस्तो देखिएको छ ।

काबुल अन्तर्राष्ट्रिय विमानस्थल बाहिर अस्तव्यस्त अवस्था कायम नै रहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तालिबानका लडाकु तथा अन्य सदस्यले विमानस्थल परिसर पस्न खोज्ने अफगानीलाई रोकिरहेका छन् । तालिबानले नै अहिले काबुलको सुरक्षा गरिरहेको बताइएको छ ।

प्रकाशित मिति: Aug 19, 2021

प्रतिक्रिया दिनुहोस्