Logo
२२ बैशाख २०८१, शनिबार
(July 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीलाई जस्तो वर्तमान सरकारलाई गल्ती गर्ने कुनै पनि छुट छैन : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी नेतृत्वको वर्तमान सरकारलाई गल्ती गर्ने कुनै पनि छुट नभएको बताएका छन् ।

बीपी कोइराला प्रतिष्ठान, खाँडदेवी गाउँपालिकाले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले केपी ओलीले यो गरेनन्, त्यो गरेनन् भन्ने दिन गएको स्मरण गराउँदै कांग्रेस नेतृत्वको सरकारले अभावमा रहेका नागरिकलाई सरकार कस्तो हुन्छ ? भन्ने कुराको महसुस गराउने गरी काम गर्नुपर्ने स्पष्ट पारे ।

नेता थापाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कुनै पनि ‘एक्सक्युज’ नपाउने उल्लेख गर्दै कहीँकतै नचुक्न पनि आग्रह गरे ।

नेता थापाले भने, ‘कुनै पनि ‘एक्सक्युज’ यो सरकारले पाउने छैन । एक ठाउँमा पनि सरकार चुक्न पाउने छैन । केपी ओलीले यो गरेनन्, त्यो गरेनन् भनेर भन्ने दिन अब गए । अब यो अभावमा रहेका नागरिकलाई सरकार भनेको कस्तो हुन्छ ? भन्ने कुराको महसुस गराउने हो । त्यसैगरी ओली नेतृत्वको सरकारले गएको साढे ३ वर्षमा संविधानको आधार नै भत्काउने काम गरेको छ । संविधान र व्यवस्थामाथि नै अनेकन आशंका उब्जाउने जुन काम गरेको छ, त्यसलाई थितिमा ल्याउने काम वर्तमान सरकारले गर्नु पर्दछ ।’

नेता थापाले सरकारलाई सफल बनाउन सिंगो पार्टीले सहयोग गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए । फरक प्रसंगमा उनले पार्टीको आसन्न १४औं महाधिवेशनको मिति तलमाथि नगर्न पार्टी नेतृत्वलाई आग्रह पनि गरे ।

पार्टीको विधानले केन्द्रीय कार्य समितिबाट सो विवाद समाधान गर्नुपर्ने व्यवस्था भए पनि पार्टी नेतृत्व विधान अनुसार चल्न नसकेको आरोप लगाउँदै उनले आपत्ति जनाए ।

नेता थापाले पार्टीको क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्ने थलो पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी बैठक नभएको पनि स्पष्ट पारे ।

प्रकाशित मिति: Jul 30, 2021

प्रतिक्रिया दिनुहोस्