Logo
१८ बैशाख २०८१, मंगलबार
(June 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारमा खटिन सुरक्षा निकायलाई सरकारको निर्देशन

सरकारले पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारमा खटिन सुरक्षा निकायलाई निर्देशन दिएको छ  ।

बुधवार बिहान गृहमन्त्री नेतृत्वको विपद् व्यवस्थापन कार्यकारी समितिको सिंहदरवारमा बसेको बैठकले सबै मन्त्रालयको संयुक्त प्रयासमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।

बैठकमा गृहमन्त्री खगराज अधिकारीले अहिले बाढी पहिरोको जोखिम बढिरहेकाले तत्काल राहत तथा उद्धारमा खटिन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

अधिकारीले सिन्धुपाल्चोकसहितका बाढी पहिरो प्रभावित क्षेत्रको अवस्था विश्लेषण गरी तत्काल उद्धार तथा राहतमा तथा उपचारमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिए ।

बैठकले मनसुनको एक सय दिनको अवधिमा गर्ने कार्य योजनालाई पारित गरेको छ । कार्ययोजनामा सबै मन्त्रालयले गर्ने कामबारे विस्तृतमा उल्लेख गरिएको छ ।

सबै मन्त्रालय, एनजीओ, आइएनजीओ, दातृ संस्थालगायतको संयुक्त प्रयासमा तीन महिना लगाएर बनाएको विपत् प्रतिकार्ययोजनालाई आजको बैठकले पारित गरेको हो ।

बैठकमा सिन्धुपाल्चोक, मनाङलगायत बाढी–पहिरो प्रभावित क्षेत्रको अवस्थाबारे समीक्षा गरिएको थियो । त्यहाँ खाद्य सामग्री, टेन्टलगायतका अरू आवश्यक व्यवस्था तुरुन्त गर्ने र जोखिममा परेकालाई तत्काल उद्धार गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्य योजना,२०७८ को साथै विपद् व्यवस्थापन स्वयंसेवक ब्युरो गठन तथा परिचालन कार्यविधि,२०७८, प्रारम्भिक द्रुत लेखाजोखा कार्यविधि, २०७८ , गैर सरकारी संस्था परिचालन सम्बन्धी कार्यविधि, २०७८ र आगलागी तथा डढेलोबाट क्षति भएका निजी आवास पुनर्निर्माण सम्बन्धी कार्यविधि २०७८ लाई स्वीकृत गरेको छ।

बैठकले नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नंम्वर १ को नेगी भन्ने स्थानमा रहेको ढुङ्गाको व्यवस्थापनका लागि बजेट विनियोजन गर्ने निर्णय समेत गरेको छ।

मङ्गलवार साँझ सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोका कारण सात जनाको मृत्यु भएको छ । यस्तै मनाङ, म्याग्दी, दाङलगायतका अन्य जिल्ला पनि बाढी पहिरोबाट क्षति भएका विवरणहरू आइरहेका छन्।

 

 

प्रकाशित मिति: Jun 16, 2021

प्रतिक्रिया दिनुहोस्