Logo
२४ बैशाख २०८१, सोमबार
(March 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नुवाकोटको बेलकोटगढीमा राष्ट्रिय आयुर्वेद तथा तालिम केन्द्र स्थापना

नुवाकोटको बेलकोटगढी नगरपालिकामा राष्ट्रिय आयुर्वेद तथा तालिम केन्द्रको प्रादेशिक कार्यालय स्थापना गरिएको छ । कार्यालय स्थापना गरिएसँगै सोही अवसरमा निःशुल्क स्वास्थ्य शिविर, औषधि वितरण र परामर्शसमेत दिइएको छ ।

वडा नं १० बेलकोटस्थित नमूना कृषि सहकारी संस्थाको भवनमा कार्यालय स्थापना भएसँगै सेवाग्राहीलाई आयुर्वेद औषधिको उपलब्धता, आयुर्वेदसम्बन्धी अनुसन्धानसहित तालिमसमेत प्रवाह गरिने भएको छ ।

केन्द्रको उद्घाटन गर्दै वाग्मती प्रदेससभाका प्रमुख सचेतक केशव पाण्डेले किसानका खेतबारी र वनजङ्गलका जडीबुटीको उपयोगदेखि बिरामी हुँदा प्राकृतिक उपचार विधिको सेवा पाउन नगरसहित जिल्लावासीलाई सहज हुने विश्वास व्यक्त गरे ।

केन्द्र सरकारअन्तर्गत प्रत्येक प्रदेशमा एक-एकवटा आयुर्वेद अनुसन्धान केन्द्र तथा त्यससम्बन्धी औषधि बिरामीलाई सहजरूपमा उपलब्ध गराउने कार्यक्रम अनुरुप नुवाकोटमा कार्यालय स्थापना भएकाले यसबाट यहाँको जनता र यहाँको जडीबुटी खेतीको प्रवद्र्धनमा सहयोग पुग्ने नगरप्रमुख राजेन्द्ररमण खनालले बताए ।

नेपाल आयुर्वेदिक मेडिकल काउन्सिलका अध्यक्ष प्रा डा धनिकलाल भरखेर र राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा रामअधार यादवले आयुर्वेदिक चिकित्सा पद्धतिलाई वैकल्पिक नभई मूलधारमा ल्याउन प्रभावकारी भूमिका पुग्ने विश्वास व्यक्त गरे ।

प्रादेशिक केन्द्रमा आयुर्वेद चिकित्सक, कविराजसहितका कर्मचारीमार्फत अबदेखि नियमित सेवा उपलब्ध गराइने भएको छ । नुवाकोट र विशेषगरी बेलकोटगढीमा पाइने जडीबुटीको अध्ययन, अनुसन्धान, जडीबुटी खेतीको प्रवद्र्धन, आयुर्वेदिक औषधिको उपयोगका फाइदा र यससम्बन्धी प्रचार प्रसार गर्दै तालिमसमेत उपलब्ध गराइने जनाइएको छ ।

प्रकाशित मिति: Mar 14, 2021

प्रतिक्रिया दिनुहोस्