Logo
१५ बैशाख २०८१, शनिबार
(March 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल एयरलाइन्सका चार पाइलटको उडान अनुमति स्थगित

नागरिक उड्डयन क्षेत्रको नियमक नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका चार जना पाइलटलाई उडानमा रोक लगाएको छ ।

प्राधिकरणले एयरलाइन्सका अपरेशन विभाग, सेफ्टी विभाग प्रमुखसहित चारजना पाइलटलाई उडानमा रोक लगाएको हो।प्राधिकरण निकट स्रोतका अनुसार उडान सुरक्षाजस्तो विषयमा गम्भीर लापरबाही देखिएको र सो विषयमा अहिले छानविन भइरहेकाले तत्कालका लागि उडानमा रोक लगाउने निर्णय गरिएको हो।

प्राधिकरण निक स्रोतले सेफ्टी र अपरेशन प्रमुखलाई छानविन नसकिएसम्मका लागि उडानमा नराख्‍नु भनेर पत्र नै दिइसकेको जानकारी दिएको छ ।

हेभी ल्यान्डिङ गरे पनि जानकारी नगराएको विषयलाई लिएर प्राधिकरणले छानबिन नसकिँदासम्म उक्त उडानमा भएका दुई क्याप्टेनलाई पनि उडानमा रोक लगाउने निर्णय गरेको हो।

नेपाल एयरलाइन्सको सेफ्टी र अपरेशन विभाग प्रमुखको उडान लाइसेन्स नै सस्पेन्ड भएको यो पहिलो पटक हो।गत जनवरी ८ मा दोहाबाट आएको नेपाल एयरलाइन्सको आरए २४० नम्बरको उडान काठमाडौंमा हार्ड ल्यान्डिङ भएको थियो। यो कुरा एयरलाइन्सले एयरबसको सिस्टमबाट एक महिना पछिमात्र थाहा पाएको थियो।

नियमितभन्दा कठिन अवतरण वा उडान भएको जानकारी गराउनु पर्ने पाइलटको जिम्मेवारी भए पनि सो नगरेको भन्दै उडान दलका दुई जना क्याप्टेनलाई एक साताअघि नै उडानमा रोक लगाइएको थियो।

प्राधिकरणले उडान दलमा रहेका पाइलटहरू क्याप्टेन सुनिल श्रेष्ठ र महेशमान डंगोल, सेफ्टी प्रमुख राजु रौनियार र अपरेशन विभाग प्रमुख दिपु जहार्चनलाई तत्कालका लागि उडानमा रोक लगाएको छ।

प्राधिकरणले भेषराज सुवेदीको संयोजकत्वमा छानविन समिति गठन गरेको छ। छानविन समितिको प्रतिवेदनपछि प्राधिकरणले अध्ययन गरेर यसबारेमा थप निर्णय गर्ने छ।

प्रकाशित मिति: Mar 4, 2021

प्रतिक्रिया दिनुहोस्