Logo
२६ बैशाख २०८१, बुधबार
(March 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदीय दलको बैठकबाट आफूलाई हटाउन प्रचण्ड–नेपाल समूहलाई ओलीको चुनौती

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विधिवत रूपमै संसदीय दलको नेताबाट हटाउन नेकपा प्रचण्ड-माधव नेपाल पक्षलाई चुनौती दिएका छन् ।

नेकपा (ओली समूह)को गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सोमवार पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यसका लागि आफूले संसदीय दलको बैठक बोलाइदिने बताए ।

‘दलको नेता फेर्नुस् न, विधिवत रूपमा फेर्नुस्, बैठक बोलाइदिन्छु, आउनुस्,’ ओलीले भने, ‘विधि छ, प्रक्रिया छ, आउनुस् । बैठकमा नआउने अनि दिए खान्थें मायाको दाहिने हातैले …. ।’

उनले आफूलाई अविश्वासको प्रस्तावमार्फत हटाउन पनि चुनौती दिए ।

‘अविश्वासको प्रस्ताव ल्याएर हटाउनुस् । उहाँहरूको भाषा पद्धति र प्रक्रिया अनुसारको छ । प्रधानमन्त्री हटाउने अविश्वासको प्रस्ताव राखेर होइन, गलहत्याएर ! कुन लोकतान्त्रिक अभ्यासभित्र पर्छ यो ?,’ नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ पम्फा भुसालको अभिव्यक्तिलाई लक्षित गर्दै ओलीले भने ।

प्रतिनिधि सभा पुन:स्थापना भएपछिको विजय जुलुसका क्रममा आयोजित सभालाई सम्बोधन गर्दै नेतृ भुसालले ओलीलाई प्रधानमन्त्रीबाट गलहत्याएर निकाल्ने बताएकी थिइन् ।

ओलीले आफूलाई अविश्वासको प्रस्तावबाट हटाए डेढ वर्षपछि दुईतिहाइ ल्याउने जिकिर गरे ।

‘डेढ वर्षमा प्रतिपक्षमा बस्छौं । डेढ वर्ष प्रतिपक्षमा बसेपछि दुई तिहाइका साथ फर्किन्छौं फेरि…,’ ओलीले भने ।

प्रधानमन्त्री ओलीले पार्टी संसदीय दलको मुख्य सचेतकबाट देव गुरुङलाई आफ्नो अधिकार प्रयोग गरेर हटाएको बताए ।

‘नियुक्ति दिनेलाई हटाउने अधिकार हुन्छ । देव गुरुङलाई मैले मुख्य सचेतक बनाएको हो, मैले नै हटाएँ,’ ओलीले भने ।

साथै ओलीले प्रचण्ड-नेपाल पक्षसँग केन्द्रीय कमिटीमा बहुमत रहेको पुष्टि नभएको दाबी पनि गरे ।

‘केन्द्रीय कमिटीको बहुमत कहाँ पुष्टि भयो ? कार्की ब्यांक्वेटमा कसैलाई भोज खान बोलाएर, त्यो भोज खान आएका मान्छे गनेर बहुमत हुन्छ ?’ ओलीले प्रश्न गरे ।

प्रकाशित मिति: Mar 1, 2021

प्रतिक्रिया दिनुहोस्