Logo
१९ बैशाख २०८१, बुधबार
(February 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शाखा खोलेर सर्वसाधारणलाई ठगी गरेको भन्दै इटहरीका दुई मेनपावर कार्यालय सिल

प्रदेश १ स्थित सुनसरीको इटहरीका दुईवटा मेनपावर कम्पनीलाई सिल गरिएको छ । शनिबार छापामार्ने क्रममा इटहरीको एचआर मेनपावर कम्पनी र मेमोरियल मेनपावर कम्पनीमा सिल गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए ।

उनका अनुसार एकैदिन दर्जनभन्दा बढी मेनपावरमा छापा मारिएको थियो । शाखा भन्दै सञ्चालन गरिएका दुईवटा पूर्णरूपमा बन्द गरिएको महानिर्देशक दाहालले जानकारी दिए ।

इटहरीमा छ्यापछ्याप्ती मेनपावरहरू खुलेका छन् । विभागले छापा मारेको सूचना पाएपछि कतिपय मेनपावरका सञ्चालक भागेका थिए ।

सर्वसाधारणलाई ठगी गरेको अभियोगमा विभागले मेनपावर कम्पनीहरूमा छापा मारेको महानिर्देशक दाहालले बताए । विभागले हालसम्म प्रयोग गरिएका काजगात, कामदारहरूको सूचीलगायतका महत्वपूर्ण कागजातसमेत जफत गरेको छ ।

इटहरीमा थुप्रै मेनपावर कम्पनीका अवैध शाखा सञ्चालन भइरहेको पाइएपछि टोली पठाएको र टोलीले कारबाही थालेको महानिर्देशक दाहालले बताए ।

इटहरी क्षेत्रमा कमिसनको नाममा सर्वसाधारणलाई लामो समयदेखि ठगी गर्दै आएको भन्दै ती मेनपावरहरूमा छापा मारेको दाहाल बताउँछन् ।

विभिन्न बहाना गरेर सर्वसाधारण युवाहरू ठगिने गरेको भन्दै सचेत रहन समेत विभागले आग्रह गरेको छ । पछिल्लो समयमा युवाहरूलाई विभिन्न आश्वासन देखाएर मेनपावरहरूले ठग्ने क्रम बढेको विभागको ठहर छ ।

इटहरीका एक मेनपावर व्यवसायीले नाम नभन्ने सर्तमा भने, ‘अवैध मेनपावरका कारण वैध मेनपावरहरूलाई समेत समस्या परेको छ, सरकारलाई लाखौं रुपैयाँ धरौटी राखेर काम गर्ने हामीलाई अवैध गर्नेहरूका कारण समस्या भएको छ ।’

ती अवैध मेनपावरहरूले विदेश जानको लागि गरिने मेडिकलमा समेत ठगी गर्ने गरेको उनी बताउँछन् । पाँच हजारसम्म लिँदै बारम्बार मेडिकल गराउने र कमिसन खाने गरेको उनी बताउँछन् ।

एउटै व्यक्तिलाई विदेश जानुअघि ४ पटकसम्म मेडिकल गराएर कमिसनको धन्दा चलाएको उनले बताए ।

इटहरीमा सञ्चालनमा आएका मेनपावरहरूमा प्रहरीको सहायतामा विभागले छापा मारेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

‘हामीलाई आवश्यक टोली माग गरिएको थियो, माग गरेअनुसार प्रहरी पठाएका थियौं’-इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले भने । अवैधरूपमा सञ्चालन भएका मेनपावरमा छापा मारेको प्रहरीको भनाइ छ ।

ठगिँदै सर्वसाधारण

यसैबीच सरकारले विभिन्न ७ मुलुकहरूमा फ्रि भिसा र टिकटमा नेपाली कामदार पठाउने निर्णय गरे पनि अहिलेसम्म सो निर्णय कार्यान्वयन हुन सकेको छैन ।

निर्णय कार्यान्वयन नहुँदा चर्को मूल्य तिर्नु परिरहेको सर्वसाधारणले गुनासो गरेका छन् । इटहरी क्षेत्रमा झोले मेनपावरहरुको संख्या बढ्दै गएको छ ।

इटहरीमा पहाडी जिल्लाहरुबाट समेत सर्वसाधरण युवाहरु आउँने हुदा ठगिन सक्ने भन्दै प्रहरीले बेला बेला छापा मार्ने गरेको बैद्य रहेका मेनपावर कम्पनीहरुले बताएका छन ।

प्रकाशित मिति: Feb 15, 2021

प्रतिक्रिया दिनुहोस्