Logo
११ बैशाख २०८१, मंगलबार
(November 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशको चौथो फ्रेन्चाइज लिग नेपाल प्रिमियर लिग आयोजना हुने

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गर्न अग्रसर भएको छ । क्यानको भर्चुअल रूपमा सम्पन्न वार्षिक साधारणसभाले कार्यसमितिलाई एनपीएल आयोजना गर्ने स्वीकृति दिएको छ ।

एक भारतीय कम्पनीबाट प्रस्ताव आएपछि क्यानले एनपीएल गर्न लागेको हो । दिल्लीको सेभेन थ्री स्पोर्ट्स (एसथ्रीएस) को प्रस्तावअनुसार क्यानसँग सम्झौता भएमा उनीहरूले १० वर्षका लागि एनपीएल आयोजना गर्नेछन् । त्यसवापत भारतीय पक्षले क्यानलाई १० वर्षको ४० करोड प्रदान गर्नेछ । पहिलो वर्ष साढे २ करोड प्रदान गरेपछि वार्षिक रूपमा त्यो रकम बढाएर दिने भारतीय पक्षको प्रस्ताव छ ।
क्यानको स्वामित्व र नेपालको हितमा हुने गरी साधारणसभाले कार्यसमितिलाई एनपीएलको सम्झौता प्रक्रिया अगाडि बढाउने जिम्मेवारी दिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए । ‘हामीले पहिलो चरणमा एमओयू गरिसकेका छौं । अनौपचारिक कुराकानी बढाउँदै भारतीय पक्षको प्रस्ताव हामीले कार्यसमितिमा लगेका थियौं, त्यहाँ सर्वसम्मत हुन नसकेको, आफैं गरौं भन्ने प्रस्ताव आएकाले साधारणसभामा लैजानुपरेको हो,’ अध्यक्ष चन्दले भने। ‘साधारणसभाले नेपाल र क्यानको हितमा लागूहुने गरी अधिकार दिएको तथा त्यहाँबाट धेरै सुझाव आएका छन्, त्यसलाई फेरि दोस्रो पक्षसँग वार्ता गरेर अन्तिम रूप दिनेछौं ।’

अध्यक्ष चन्दका अनुसार एसथ्रीएसले एनपीएल सम्झौतामै नेपालमा कम्तीमा दुई रंगशालाको स्तरोन्नति गर्ने भन्ने छ । ‘यसमा हाम्रो पहिलो प्राथमिकतामा कीर्तिपुरको त्रिवि मैदानमा फ्लड लाइट हाल्ने तथा दोस्रोमा पोखरा र भैरहवाको मैदान राखेका छौं, त्यसपछि एनपीएललाई होम एन्ड अवेका आधारमा गर्न सकिन्छ,’ चन्दले भने, ‘एनपीएलको आयोजक क्यान नै रहन्छ तर, त्यसको आयोजनाको लाइसेन्स उनीहरूलाई दिनेछौं । एनपीएल आयोजनाका क्रममा नेपालको कानुनअनुसार सबै कर उनीहरूले तिर्नेछन् ।’

सम्झौतापछि एनपीएल नेपालको घरेलु प्रतियोगितामा माथिल्लो स्तरको लिग हुने चन्दको दाबी छ । ‘एनपीएललाई हामीले क्यारेबियन प्रिमियर लिग स्तरको बनाउन भनेका छौं, उनीहरूले पनि त्यहीअनुसारको प्रस्ताव राखेका छन् । एनपीएल आयोजनाका क्रममा आवश्यक परेमा दक्ष जनशक्ति उनीहरूले बाहिरैबाट पनि ल्याउन सक्छन्,’ विदेशीलाई फ्रेन्चाइज लिग आयोजना गर्न दिनुको कारणबारे चन्दले भने, ‘क्यानलाई पनि फाइदा हुने देखेरै नै यो प्रस्ताव साधारणसभामा लगेका हौं । आईसीसीले दिनेबाहेक हामीसँग अहिले कुनै आम्दानी छैन । आईसीसीबाट ८ करोड आउनेमा ६ करोडभन्दा बढी तलबभत्तामै जान्छ । बन्द प्रशिक्षणलगायत अन्य खर्च जोडिँदैन यसमा । त्यसैले वर्षको ६–७ करोड क्यानलाई चाहिन्छ ।’

एनपीएल आयोजना भएमा देशको चौथो फ्रेन्चाइज लिग हुनेछ । नेपालमा यसअघि नै एभरेस्ट प्रिमियर लिग (ईपीएल), धनगढी प्रिमियर लिग (डीपीएल) र पोखरा प्रिमियर लिग (पीपीएल) गरी हाल तीन लिग सञ्चालनमा छन् । क्रिकेटका प्रमुख देशहरूमा देशको एकमात्र फ्रेन्चाइज लिग हुने गरेको छ ।

डीपीएलले तीन तथा ईपीएल र पीपीएलले २–२ संस्करण गरिसकेका छन् । तर कोभिड–१९ सहित विभिन्न कारणले पछिल्लो वर्ष पीपीएलबाहेक अन्य दुई लिग हुन सकेन । कोभिडको समस्या यथावत रहेको र प्रशिक्षण नै सुरु हुन बाँकी रहेको, नेपालको अन्तर्राष्ट्रिय खेलतालिका आउन बाँकी रहेकाले यस वर्ष पनि तीनै लिग हुने सम्भावना कमजोर बन्दै गएको छ ।

बुधबार साधारणसभाले पहिलो प्राथमिकता एनपीएललाई दिने निर्णय गरेको हो । अन्य तीन लिगका बारेमा सभामा केही उल्लेख नभएको एक प्रतिनिधिले बताए । क्यान निलम्बन रहेको अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग स्वीकृत लिँदै डीपीएल, ईपीएल र पीपीएल आयोजना हुँदै आएका थिए । त्यसवापत उनीहरूले एक प्रतियोगिताको २० लाख शुल्क तिर्दै आएका थिए ।

सभाले आर्थिक वर्ष २०७१/७२ देखि २०७५/७६ सम्मको वार्षिक लेखा परीक्षणलाई स्वीकृत गरेको छ । आव २०७६/७७ को लेखा परीक्षणका लागि एबीएस एन्ड एसोसिएट्सलाई जिम्मा दिने निर्णय गरेको छ । २०७७/७८ को कार्यक्रम र बजेट निर्माण गर्दै अघि बढ्न केन्द्रीय समितिलाई निर्देशन दिइएको क्यानले जनाएको छ ।

सभाले भ्रष्टाचार नियन्त्रण, एन्टी डोपिङ र इथिक्स पोलिसी निर्माण गर्ने, ५ वर्षे रणनीतिक योजना निर्माण गर्न र सो योजना आईसीसीमा पेस गर्न, खरिद विक्री र कर्मचारी नियमावली निर्माण गर्न, जिल्ला र प्रादेशिक क्रिकेट संघको सञ्चालन कार्यविधि निर्माण गर्न, खेलाडीको आचरण संहित र सम्झौता निर्माण गर्न, संघको केन्द्रीय, प्रादेशिक र जिल्ला समितिका पदाधिकारीह एवं सदस्य, जनरल म्यानेजर, प्रमुख प्रशिक्षकलगायत अन्य कर्मचारीको आचारसंहिता निर्माण गर्न कागजात तयार गर्ने, अनुमोदन गर्ने, कार्यान्वयन गर्न केन्द्रीय समितिलाई निर्देश गरिएको क्यानले जनाएको छ ।

प्रकाशित मिति: Nov 22, 2020

प्रतिक्रिया दिनुहोस्