Logo
१ जेष्ठ २०८१, मंगलबार
(October 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोभिड-१९ प्रतिरोधका लागि पछ्याउनुहोस् आयुर्वेदको चरक संहिता

नारायण घिमिरे
महामारी रोग ठानिएको कोभिड-१९ नयाँ प्रकृतिको भाइरसको सङ्क्रमणका कारण उत्पन्न एक सरुवा रोग रहेछ । सामान्य सङ्क्रमणका लक्षणहरूमा ज्वरो, खोकी, श्वास-प्रश्वासमा समस्या आदि रहेछन् । गम्भीर सङ्क्रमणको अवस्थामा निमोनिया, गम्भीर श्वास-प्रश्वासको समस्या, रगतमा अक्सिजन कम हुने, मिर्गाैला बिग्रिने र मृत्युसमेत हुन सक्ने लक्षणहरू देखिए ।

चरक संहिता आयुर्वेदको एक प्रसिद्ध ग्रन्थ हो । आठ स्थान (भाग) र १२० अध्याय रहेको चरक संहिताको जनपदोध्वस्नीय विमान अध्यायमा महामारीको कारण, लक्षण तथा चिकित्सा विधिको विषयमा बोलिएको छ । उपचारका लागि गरिने विशिष्ट सङ्कल्पबारे चरक संहिताको महामारीको निवारणको अध्याय जनपदोध्वस्नीय विमानमा विस्तृत व्याख्या भेटिन्छ ।

चरक संहिताले महामारीको समय भनेको प्राकृतिक रूपमै आफू आफैँभित्र गएर गम्भीर अनुभूति गर्ने गरी दैनिक तालिका बनाएर त्यसको अनुसरण गर्ने समय हो, भन्दछ । आफ्नो घरमा रहने उत्तम अवसरको संज्ञा दिन्छ । संहिता भन्दछ- सबेरै उठ्नुहोस्, दाँत माझ्नुहोस्, जिब्रो कोरी सफा गर्नुहोस, मुख धुनुहोस्, स्नान गरी तातोपानी पिउनुहोस् । अदुवा, दालचिनी, अलैँची, तुलसी आदिको जडीबुटी युक्त चिया नियमित पिएर शरीरको आन्तरिक ऊर्जा बढाउनुहोस् ।

पाचन शक्ति दरिलो राख्ने र मनोवैज्ञानिक सवलताका लागि आफ्नो अन्तरआत्माको भ्रमण गरी आफैँलाई चिन्ने दिनचर्या अनुसरण गरी आध्यात्मिक, मनोवैज्ञानिक र शारीरिक रूपमा तन्दुरुस्त रही मानिसले आफ्नो शरीरको रोग प्रतिरोधात्मक शक्तिलाई वलिष्ठ राख्न सम्भव हुन्छ भन्ने मान्यता छ, संहिताको ।

यिनै तरिकाको प्रयोगबाट कोभिड- १९ जस्ता सङ्क्रमणको प्रभावलाई समेत न्यूनीकरण गर्न सकिने हुँदा यसलाई आयुर्वेदिक रोकथामको उत्तम उपाय भनी सिफारिस गर्छ, संहिता । जबसम्म पाचन प्रक्रिया बलियो रहन्छ, अनि रोग प्रतिरोधात्मक शक्तिलाई दुरुस्त राख्न सम्भव हुन्छ, कोभिड- १९ जस्ता सङ्क्रमणसमेत सजिलै पचाइदिन सक्ने शक्ति मानिसले प्राप्त गर्छ ।

चरक ऋषिका अनुसार सङ्क्रमणको समयमा वातावरण चिसो छैन भने पनि सितोपालादि चूर्ण, तालिसादी चूर्ण, सामान्य थकितपन, श्वास रोग, बेचैनी, रक्तअल्पतामा प्रयोग गरिने अभ्रक भष्म, मलेरिया र जीर्ण ज्वरोमा उपयोगी हुने महासुदर्शन चूर्ण आदि जस्ता जडीबुटी नियमित आधा चिया चम्चा दिनको दुई वा तीन पटक बिहान र साँझ लिन उत्तम हुने लेखिएको छ ।

थकित रहेर माथिका चूर्णहरू दैनिक लिन सक्ने अवस्था नहुँदा चियासँगै एक चुट्की खोकी र श्वासप्रश्वासको समस्या ठीक गर्न लिइने जडीबुटी सितोपलादि चूर्ण वा तालीसादी चूर्ण राखेर पिउन सक्नुहुन्छ । यो चूर्णले तपाईंको चियालाई समेत मीठो सुगन्ध र आनन्दको स्वाद प्रदान गर्नसमेत सहयोग गर्दछ ।

उल्लेखित जडीबुटीहरूको प्रयोगले शरीरको रोग प्रतिरोधी क्षमता बढाउने र सङ्क्रमणमा रोगको लक्षणको उपचार गर्न सहयोग गर्दछ । आयुर्वेदमा प्राणायामलाई शरीरको श्वासप्रश्वास प्रणालीबाट हानिकारक भाइरस, ब्याक्टेरियालगायतका जीवाणुहरूलाई सफा गर्ने उत्तम उपाय ठानिन्छ । शरीर हानिकारक जीवाणुमुक्त हुँदा लड्न जरुरी ऊर्जा जोगिने गर्छ । प्राणायामपश्चात् शरीर फुर्तिलो बनेको महसुस हुने गर्छ ।

शरीरलाई स्वस्थ राख्न सहयोग गर्ने आयुर्वेदको अर्को अत्यन्त चाखलाग्दो अभ्यास हो, योग । योगअन्तर्गत सामान्यतः १२ आसनहरू तोकिएका छन् । जस्तै: ऊँटको आसन, कोब्राको आसन, गाईको आसन, धनुषको आसन, कछुवाको आसन, डुङ्गाको आसन, झोलुङ्गे पुलको आसन, सलहको आसन, कमलको फूलको आसन, सिंहको आसन आदि ।

१२ आसनहरू अप्ठ्यारो लाग्नेहरूका लागि प्राणायामका साथ सूर्य नमस्कार गर्न सुझाइन्छ । शरीरमा सात प्रकारका धातु वा तन्तु हुने गर्छन् । सूर्य नमस्कार प्रक्रियामामा सबै १२ आसन समावेश हुने हुँदा कम्तीमा सात पटक र सकिन्छ भने १२ पटक सूर्य नमस्कार दोहोर्‍याउन सल्लाह दिइन्छ । दैनिक सूर्य नमस्कार र प्राणायामपछि ध्यान वा मेडिटेसन गर्न संहिताले सिफारिस गर्दछ ।

ध्यानका लागि ओ-हम ध्यान विधि निकै चर्चित ठानिन्छ । जसमा दिमागमा ऒऒह भन्ने शब्द सोचेर पूरा श्वास तान्ने, एकछिन बीचमा श्वास रोक्ने र हमम् सोचेर सम्पूर्ण श्वास फाल्ने श्वास-प्रश्वासको अभ्यास गरिन्छ ।

जब तपाईं ओ-हम ध्यान गर्नुहुन्छ, शरीरभित्र भित्री खुसी जाग्ने र आफ्नो भित्री सुन्दरताको महसुस गर्न सक्नुहुने बताइन्छ । एकान्त स्थानमा चुपचाप रहेर आफूले आफ्नो उपस्थितिको महसुस गर्ने, आफू आफ्नो सत्यताको नजिक पुगेर आनन्दित बनेको जागरूकताको महसुस गर्ने अनुभव प्राप्त गरेको ध्यान गर्नेहरू बताउने गर्छन् ।

आयुर्वेदिक मान्यताअनुरूप संसारमा सबै कुराहरू चलायमान छन् । वस्तु वा घटना निश्चित समय र खण्डमा देखिन्छन र हराउँछन् । चीर स्थायी हुँदैनन् । कोभिड-१९ को भाइरसले चलाएको वितण्डासमेत चीर स्थायी हुने छैन । हरेक महामारीमा तत्कालीन समय र परिस्थितिसँगै जुध्न इमान्दारी, सद्भाव, खुसी कायम गर्दै शरीर, दिमाग र चेतनाबीच सन्तुलन कायम राख्न अनिवार्य हुने गर्दछ । महामारीलाई घरमै बस्ने, निजी जीवनको दैनिक तालिकामा जिउने, आफैँले बनाएको खानेकुराहरू खाएर सन्तुष्ट बन्ने ठूलो अवसरको रूपमा लिन सल्लाह दिन्छ, संहिता ।

चरक संहिताको महामारीजन्य रोगको समयका लागि भनी दिएको अद्भुत सन्देशले भन्छ- बासमती चामल र मुङ्गुकाे दालको खिचडी, आफ्नै भान्सामा प्राय: पाइने मसला प्रयोग भएका साग-सब्जी र तरकारीमा रमाउनुहोस् । तातो, गरम र झोलिलो पदार्थ खाने, चिसो पेय पदार्थ सेवन नगर्ने बानी बसाल्नुहोस् ।

चिसो पानी, बरफ, चिसाे पेयपदार्थहरू दही, चीज र आइसक्रिम आदि सकेसम्म खाइनहाल्नुहोस् । चिसो खानाले तपाईंको पाचन प्रक्रियामा जरुरी हुने तातोपनलाई मारिदिएर तपाईंको शरीरको पाचन क्षमता दबाइदिनेछ । चिसोले शरीरलाई सङ्क्रमणको बेलामा जरुरत पर्ने शक्तिको क्षय गर्ने र शरीरको रोगसँग लड्ने प्राकृतिक क्षमतालाई समेत घटाइदिनेछ ।

फलतः संक्रमणकारी जीवाणुले तपाईंको शरीर कमजोर भएको बखत तपाईंमाथि विजय प्राप्त गरी तपाईंलाई बिरामी र सिकिस्त बिरामी पारिदिन सक्नेछ । यो समयमा चिसोबाट समेत बच्न कोसिस गर्नुहोस् । पटक–पटक तातो पानी लिने बानी नत्याग्नुहोस । दिनभरि र खाना खानुभन्दा केही अघिसम्म तातो पानी पिउने क्रम नछुटाउनुहोस् ।

चरक संहिता महामारीको समयमा समाजले के गर्ने के नगर्ने भन्नेबारे पनि बोलेको छ । ती व्यक्तिहरू जसले महामारीविरुद्धको लडाइँमा योद्धाको काम गरिरहेका छन् । उनीहरूको आत्मबल कायम राख्न र अझ हौसला दिन उनीहरूको सम्मानस्वरूप ताली वा घण्टी वा ढोलक बजाएर बढाइँ गर्नुहोस् । उच्च प्रशंसा गर्नुहोस् । उनीहरूको जरुरतको पूर्ति गर्न सहयोग गर्नुहोस् आदि भन्दछ, संहिता ।

आयुर्वेदले शरीरका रहने विभिन्न संवेदनशील बिन्दुहरूमध्ये जुन-जुन बिन्दुबाट शरीरको ऊर्जा प्रवाह हुन्छ, त्यो बिन्दुले शरीरको विशेष प्रकारको मानसिक वा शारीरिक कार्यहरू नियन्त्रण गर्ने विश्वास राख्दछ । जसलाई मर्म भन्ने गरिन्छ । मर्महरूलाई चिकित्सकीय प्रभावका बिन्दु ठानी त्यस्ता विन्दुहरूमा मालिस गरिने चलन धेरै पुरानो हो ।

संहिता लेख्छ:

परम्परागत संस्कृतिअनुरूप घरमा पूजा अथवा अनुष्ठान, आरती, नाचगान आदि गर्नुहोस् । पूजाका क्रममा जलाउने कपुर, काटेको बत्ती घिऊमा राखी बालेको दियो र आरतीको शुभकार्यमा संलग्न सबै मिली बजाउने ताली, आरती, नाचगान तथा प्रसाद वितरण आदिले शरीरको मर्महरूलाई पुनर्ताजगी गरी सक्रिय पारिदिन्छ । जसका कारण शरीरको रोग प्रतिरोधी शक्ति बलियो हुन पुग्छ । मुटुको मर्म, फोक्सोको मर्म, मिर्गौलाको मर्म आदि बलियो हुँदा ती अंगहरू तन्दुरुस्त बन्दछन् ।

प्रकृतिको नजिक पुग्दा जब तपाईं आनन्द महसुस गर्नुहुन्छ, मन परेको सामाजिक कार्यहरूमा ताली बजाउनुहुन्छ, आनन्द मान्दै नाचगान गर्दै आरती गाउन मस्त बन्नुहुन्छ, तिनै मर्महरूले पुनः ताजगी बनेर तपाईंको ऊर्जालाई मजबुत पारिदिने गर्दछन् । मर्महरूको पुनः सक्रियताले आन्तरिक अङ्गहरूलाई पुनर्ताजगी गरिदिन्छ । एकत्रित भएर गरिने जप होस् वा विभिन्न मन्त्रोच्चारण वा ओ-हम ध्यान, सबै अवसरमा मूलतः मर्महरूको पुनः ताजगीमार्फत संवेदनशील अङ्गहरूलाई पुनः ताजगी गरी शरीरलाई स्वस्थ बनाउन र रोग प्रतिरोधी शक्ति विकास गर्न सहयोग पुर्‍याउने ठानिन्छ ।

हात मिलाउने हाेइन, नमस्ते गर्ने, समूहमा बस्ने तर चोखो रहने, समूहमा काम गर्ने तर सामाजिक दूरी कायम गर्ने, मर्दा पर्दा तथा शुभ कार्यहरूमा चार-हात बित्ताको सामाजिक दूरी कायम गर्ने जगिया बनाएर कर्मकाण्ड गर्ने आदि जस्ता हाम्रा परम्परागत चालचलनसमेत विगतमा कुनै प्रकारको महामारीको पाठबाट सिकेको अनुभवको वैज्ञानिक लिखत रहेछ भन्ने चुरो निष्कर्ष निकाल्न सकिन्छ ।

महामारीको सुरुवातमा वरिपरि पुग्दा मात्र पनि सरिहाल्ने प्यान्डेमिक ठानिएको कोभिड- १९ को भाइरसलाई अन्ततः सङ्क्रमित प्रकृतिको सरुवा रोग भनी वर्गीकरण गर्न बाध्य बनेको पश्चिमा चिकित्सा पद्धतिले ठूलो मूल्य चुकाएर निकालेको सङ्क्रमित प्रकृतिको सरुवा रोगको निदानबारेको निचोड चरक संहितामा वर्णन गरिएका विषयवस्तुहरूसँगै मिल्न पुग्नु निश्चय नै संयोग मात्र थिएन ।

चरक संहिताको महामारीजन्य रोगबारेको अध्यायमा रहेको वर्णन आज संसारले ठूलो मूल्य तिरेर निष्कर्षमा पुगेको निचोडसँगै हुबहु मिल्नुले हाम्रा परम्परागत ज्ञानका खजानाहरू निकै व्यावहारिक र यथार्थको नजिक पुगेर स्थापित गरिएका दुर्लभ दस्तावेज रहेछन् भन्ने पुनः पुष्टि गरिदिएको छ ।

(लेखक खाद्य तथा औषधिविज्ञ हुन्)

प्रकाशित मिति: Oct 12, 2020

प्रतिक्रिया दिनुहोस्