Logo
२६ बैशाख २०८१, बुधबार
(September 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अतिक्रमित नेपाली भूमि आफ्नो भएको चीनको दाबी, परराष्ट्र मन्त्रालय अझै मौन

चीनले हुम्लास्थित लाप्चा क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेको भूमिलाई आफ्नो भूमि भनेर दाबी गरेको छ ।

मङ्गलबार साँझ चिनियाँ राजदूतावासले विज्ञप्तिमार्फत् उक्त भूभाग चीनतर्फ रहेको प्रमाणित गरिएको दाबी गरेको छ ।

चिनियाँ दूतावासका प्रवक्तामार्फत् विज्ञप्तिमा भनिएको छ, ‘मिडियामा उल्लेख गरिएका भवनहरु चीन नेपाल सीमा क्षेत्रको चीनतर्फ रहेको प्रमाणित गरिएको छ ।’

चिनियाँ पक्षले भने नेपाली पक्षले पुनः प्रमाणिकरण गर्न सक्ने बताएको छ । चिनियाँ दूतावासले प्रेस विज्ञप्तिमा नेपालको सार्वभौमिकता र अखण्डताको सधै सम्मान गर्ने भन्दै कुनै सीमा विवाद नरहेको बताएको छ ।

हुम्लामा नेपालको भूमिको २ किलोमिटर क्षेत्रभित्र नौ वटा भवन बनाइसकेको खबर सार्वजनिक भइसकेको छ । चिनियाँ सैनिकले उक्त क्षेत्र चीनको भन्दै नेपालीलाई प्रवेश गर्न रोकेको छ ।

चीनले हुम्लामा अतिक्रमित क्षेत्र मिडियाको मात्र खबरका रुपमा उल्लेख गरेको छ । तर, अतिक्रमित भूमिबाट चिनियाँ पक्षको निर्माण रोक्न पहल भइसकेको छ ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोली उक्त क्षेत्रमा पुगी अध्ययन तथा छलफल गरिसकेको छ ।

नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङ चिनियाँ पक्षले निर्माण कार्य गरिरहेको क्षेत्र नेपालको रहेको स्पष्ट पारिसकेका छन् । उक्त क्षेत्रमा पिलरको खोजी समेत भइरहेको छ ।

तर, सरकारी तहमै अतिक्रमित भूमिबारे चासो बढेको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी सुरक्षाकर्मीसहित उकत क्षेत्रमा पुगेका छन् ।

यसबारेको रिपोर्ट गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयमा समेत पुगेको छ । तर, परराष्ट्र मन्त्रालयले अतिक्रमित उक्त भूभागबारे अहिलेसम्म केही बोलेको छैन ।

कैलाश मानशरोवर क्षेत्र स्पष्ट देखिने उक्त क्षेत्र भूसामरिक दृष्टिले महत्वपूर्ण छ । चीनले नेपाली भूमि अतिक्रमण गरेको विषय खुलेपछि राष्ट्रिय अन्तर्राष्ट्रिय चासो बढेको छ ।

प्रकाशित मिति: Sep 23, 2020

प्रतिक्रिया दिनुहोस्