Logo
५ जेष्ठ २०८१, शनिबार
(April 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत तथा तेस्रो मुलुकबाट आएका सबैको स्वाबको नमूना परीक्षण गर्नसक्ने क्षमता छैन

भारत र दुबईबाट आएका व्यक्तिबाट संक्रमण फैलिएको निष्कर्ष निकालेको प्रदेश सरकारले यस अबधीमा भारत र तेस्रो मुलुकबाट आएकाको अवस्था बारे भने गम्भिर देखिएको छैन। फागुन २५ गते यता यस प्रदेशमा प्रवेश गर्नेहरुको सीमा नाकामा गरेको स्वास्थ्य परीक्षणको तथ्यांक अनुसार भारत र तेस्रो मुलुकमा बस्दै आएका २ लाख ५ हजार ७ सय ८५ जना यस प्रदेशमा फर्केर आएको प्रदेश १ प्रहरीले जनाएको छ।

भुल्केमा संक्रमण फैलाएका दुई युवा मात्रै संक्रमित भएर आएका थिए की अन्य व्यक्तिमा पनि संक्रमण छ भन्ने बारे सरकार मौन छ। यसले प्रदेशभर नै संक्रमणको जोखिम बढाएको चिकित्सकहरुको भनाइ छ।

कोशी अस्पतालका डा. दिपक सिग्देलले भारत र तेस्रो मुलुकबाट आउने सबैको ट्रेसिङ गरी स्वाब परीक्षण गर्नु आवश्यक रहेको बताए। ‘कोरोना भाइरस संक्रमित भएकामध्ये ८० प्रतिशतमा कुनैपनि लक्षण नदेखिने हुँदा हामी सबै जोखिममा छौं,’ उनले भने, ‘विदेशबाट आएका व्यक्तिहरुको परीक्षणमा जति ढिलाई हुन्छ त्यति बढी जोखिम बढ्दै जान्छ।’
भुल्केमा कन्ट्याक्ट ट्रेसिङ गरी गरिएको घाँटीको स्वाबको नमूना परीक्षणमा सुरत र दुबईबाट आएका युवामा कोरोना भाइरसको घनत्व अत्यधिक भएकाले उनीहरु बाटै संक्रमण फैलिएको निष्कर्ष निकालेको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए। उनीहरु कहिले र कसरी आएको भन्ने बारे विवरण सार्वजनिक गरिएको छैन।

१२ भारतीय, विराटनगर–१७ का चार जना र उदयपुरकै १२ जना स्थानीय गरी हालसम्ममा २८ जना संक्रमित भइसकेका छन्। संक्रमितको संख्यामा प्रत्येक दिन वृद्धि भइरहेको छ।
संक्रमितहरुलाई विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा चिकित्सकको निगरानीमा राखिएको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सक डा. सिग्देलको भनाई छ।

मन्त्री घिमिरेले लकडाउन हुनु दुई साता अघिसम्म र लकडाउन पश्चात भारत र तेस्रो मुलुकबाट आएका ५ हजार जनालाई क्वारेन्टाइनमा राखिएकाले खासै जोखिम नभएको दाबी गरेपनि प्रदेश १ प्रहरीका प्रवक्ता सुमनकुमार तिम्सिनाले प्रदेशस्थित विभिन्न क्वारेन्टाइनमा लकडाउन हुनु अघि २ सय ३६ र लकडाउन पश्चात १ हजार २८ जनालाई मात्रै राखिएको बताए। तथ्यांकमा समेत एकरुपता नभएकाले यस प्रदेशमा संक्रमणको जोखिम अत्यधिक बढेको डा. सिग्देलले बताए।

मन्त्री घिमिरेले भुल्केबाट कोरोना भाइरसको संक्रमण अन्य पालिका र जिल्लामा फैलिन नदिन र भारत तथा तेस्रो मुलुकबाट आएका सबैको घाँटीको स्वाबको नमूना परीक्षण गर्नसक्ने क्षमता सरकारसँग नभएको बताए। उनले त्यसैले संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ भएकाहरुको मात्रै स्वाब परीक्षण भइरहेकाले स्वाब परीक्षणको दायरा बढाउनका लागि संघीय सरकारसँग माग गरेको बताए।

प्रकाशित मिति: Apr 23, 2020

प्रतिक्रिया दिनुहोस्