Logo
२९ बैशाख २०८१, शनिबार
(March 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेल्थ टिप्स : हरेक दिनको दिनचर्या कस्तो हुनुपर्छ ? योग त गर्ने तर कुन समयमा ?

आज विश्वभरि नै तपाईं/हामी हरकोहीलाई कुनै न कुनै समस्याले सताइरहेको हुन्छ । सायद तपाईं कोही हुनुहुन्न होला, जो बिरामी भएर डाक्टरकहाँ परामर्शका लागि नपुग्नुभएको । कुनै न कुनै समस्या वा रोगले हामीलाई सताइरहेकै हुन्छ ।

तर हामी आफैँले आफैँलाई माया गर्ने हो भने, आफ्नै हेरचाह गर्ने हो भने, अलिकति भए पनि समय आफ्नो लागि छुट्याउने हो भने अझ भनौँ बिहानको केही समय आफ्नो लागि छुट्याउने हो भने हामी धेरै समस्याबाट मुक्त रहनसक्छौँ, तपाईं फिटनेस रहन सक्नुहुनेछ ।

बिहानै उठेर पानी खाऔँ !
शरीरलाई स्वस्थ र फिट राख्नको लागि पानीको महत्वपूर्ण भूमिका हुन्छ । मानव शरीरमा पानीको मात्रा ५० देखि ६० प्रतिशतसम्म हुन्छ ।

पानीले शरीरका अंगहरुको रक्षा गर्छ । कोशिकाको माध्यमबाट शरीरभरि पोषक तत्व र अक्सिजनको सञ्चार गर्न पानीले सहयोग गर्दछ ।

पानीले हाम्रो शरीरको तापक्रमलाई पनि नियन्त्रण गर्दछ । बिहान उठ्नेबित्तिकै हाम्रो शरीरलाई पानीको अत्यधिक आवश्यकता हुन्छ ।

बिहान उठ्नेबित्तिकै पानी पिउने बानी गर्नाले हाम्रो शरीरमा भएका अनावश्यक पदार्थहरु निकाल्न मद्दत गर्दछ । जसले गर्दा हाम्रो रगत सफा हुन्छ र छाला पनि चम्किलो बन्दै जान्छ ।

बिहान उठ्नासाथ यसो कहिल्यै नगर्नुहोस् !
दिनको संकेत बिहानीले गर्छ । प्रभातकालीन समयमै हामीले राम्रो काम स्फूर्तिका साथ गर्न सक्यौँ भने दिनभरि ‘फ्रेस्ड’ महसुस गर्न सक्छौँ ।

धूमपान नगर्ने
हुन त धूमपान जुनसुकै समयमा गर्नु स्वास्थ्यको लागि हानिकारक हुन्छ नै, तै पनि बिहान उठ्नेबित्तिकै चुरोट पिउनु धेरै खतराजनक हने गर्दछ । यसरी चुरोट पिउँदा क्यान्सर हुने सम्भावना धेरै बढेर जान्छ ।

लडाइँ/झगडा नगर्ने
दिनको सुरुवात सकारात्मक हुनु आवश्यक छ । बिहान उठेर झगडा गर्नतिर लाग्यौँ भने दिनभरि नै ‘मुड’ खराब हुन जान्छ । जसले गर्दा आफ्नो कुनै पनि काममा ध्यान जानसक्दैन ।

मसलेदार खाना नखाने
बिहानै मसलेदार खाना खानबाट हामी जोगिनुपर्छ । बिहानीको समय जतिसक्दो हल्का र पौष्टिक खाना खाने गर्नुपर्दछ ।

निद्रा पुगेपछि नसुत्ने
निद्रा पुगेपछि पनि अल्छी मानेर सुतिरहने बानी छ भने छोडिदिनुहोस् । समयले पर्खिँदैन । ‘बेड’मा नै बसिरहने बानी गर्नु नराम्रो हो । यस्तो बानीले तपाईंलाई निद्रा पूरा हुँदा पनि ‘फ्रेस्ड’ गराउँदैन ।

सधैँ फिट रहन सकिन्छ !
फिटनेसको लागि जीममा पैसा खर्च गरेर पैसा र समय बर्बाद गर्नुभन्दा घरमा नै बसेर व्यायाम गर्नु
फाइदाजनक हुन्छ ।

जिम नै जानुपर्दैन
समयको कमी हुँदा पनि हामी सधैँ जीममा गएर पसिना बगाउँछौँ, यसरी समय नमिल्नाको कारण हाम्रो फिटनेस बिग्रिनसक्छ । जीम धाउनुको सट्टा तपाईं घरमै बसेर पनि व्यायाम गरी फिट बन्न सक्नुहुन्छ ।

एक अध्ययनका अनुसार घरैमा बसेर मन पर्ने गीतमा १० मिनेट डान्स गर्नाले पनि फिट रहन मद्दत मिल्छ ।

दैनिक बिहान १० मिनेट नाच्ने गर्नाले तपाईंको शरीरमा लचिलोपन ल्याउन मद्दत गर्दछ । नाच्नाले शरीरमा रक्तसञ्चार प्रक्रिया राम्रो हुन्छ र ऊर्जा बढ्छ ।

त्यस्तै, नाच्दा निक्लिने पसिनाले शरीरमा भएको विषालु पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ भने बिहान उठेर स्किपिङ खेल्ने गरेमा फिट रहनका लागि मद्दत गर्छ ।

यसरी स्किपिङ खेल्दा शरीरमा भएको अनावश्यक क्यालोरी घट्न जान्छ र हाड बलियो बनाउन मद्दत पुग्दछ ।

एक मिनेट स्किपिङ गर्दा १० देखि १६ क्यालोरीसम्म ऊर्जा खर्च हुने हुँदा शरीर सन्तुलित हुन जानुका साथै जोस र स्फुर्ती पनि बढ्न जान्छ ।

यसको अतिरिक्त हामी फिट रहनको लागि बिहानै यात्रा गर्नाले आवश्यक मात्रामा अक्सिजन मिल्छ र शरीरमा क्षतिग्रस्त कोशिकाको लागि उपयुक्त हुन्छ । तपाईं आफ्नै घरमा बसेर योग गरेर धेरै किसिमका रोगलाई हटाई फिटनेश हुन सक्नुहुन्छ ।

योग त गर्ने तर कुन समयमा ?

व्यस्त जीवनशैली, अस्वस्थकर खाना र व्यायाम नहुँदा दैनिक अनेकन रोगका बिरामीको संख्या बढ्दो छ । दैनिक ३० मिनेटमात्रै योग गर्ने हो भने जीवनशैलीमा ठूलो परिवर्तन ल्याउन सकिने विभिन्न अध्ययन अनुसन्धानले औंल्याइसकेको छ । आज आयूर्वेदक चिकित्सक डाक्टर छितिज बराकोटीले योग किन गर्ने र यसले हाम्रो स्वास्थ्यमा कस्तो फाइदा पु-याउँछ ? भन्नेबारे जानकारी गराएका छन् ।

योगको परिभाषा
योग नेपालको परम्परागत व्यायाम विधि हो । योगले धेरै कुरामा फाइदा गर्छ । योग स्वास्थ्यको लागि फाइदाजनक हुँदा विश्वभर यो विधि अपनाउन थालिएको छ ।

योगले मानसिक ,शारीरिक र नर्सर्ने खालको विभिन्न रोग नलाग्न र लागेको व्यक्तिहरुलाई पनि धेरै फाइदा पु-याउँछ । योग यस्तो महाज्ञान हो जसले धेरै रोगलाई नियन्त्रण गर्न सक्छ । चेतनाको स्तर बढाउनको लागि, शरीरलाई स्वास्थ राख्नका लागि र शरीरको विकार हटाउनको पनि योग सहयोगसिद्ध हुन्छ ।

योग किन गर्ने ?
आधुनिकताको नाममा विभिन्न किसिमको शारीरिक अभ्यासहरु गर्न छाडिसकेको अवस्था छ । जसले गर्दा मानसिक समस्या धेरै भएको देखिन्छ । त्यस्तो अवस्थामा योगले सहयोगी बन्न सक्छ । योगले शरीरको अङ्ग–प्रत्यङ्गलाई संचालनमा सहयोग गर्छ । शरीरको हार्डजोर्नी, नसा, ढाडसम्बन्धी रोग भएकालाई पनि योगले फाइदा पु-याउँछ ।

जो अल्छी मानेर बसिरहेका हुन्छन्, त्यस्ता व्यक्तिलाई मानसिक समस्या भने भइरहन्छ । यस्तो अवस्थामा योग गर्ने हो भने सकारात्मक बनाउने काम गर्छ । योगले मान्छेलाई मनोवल बढाउने र उत्साह जगाउने काम गर्छ । त्यसैले सबै उमेर समूह, सबै क्षेत्र र सबै वर्गका व्यक्तिले योग गर्न जरुरी रहेको छ । योगमा अन्तरमुखी र बाह्यमुखी अभ्यासहरु हुन्छन् ।

अन्तरमुखी योग भनेको भित्रभित्रै आफूलाई कस्तो खुशी पार्ने भन्ने तरिकाले गरिन्छ । भौतिक साधनले मात्रै मान्छे खुशी हुँदैन, जसलाई अन्तर मुखी अभ्यासले खुशी पार्न सकिन्छ । मनलाई खुशी र मानसिक समस्या हटाउनको लागि योगको ठूलो भूमिका हुन्छ । तनावको कारण पनि शरीरमा रोग लाग्छ । तनाव भयो भने त्यसले अल्सर हुन सक्छ । अल्सरपछि क्यान्सर पनि हुन सक्छ । यस्तै मधुमेह, ब्लड प्रेसर, हृदयघात हुने समस्या पनि हुन सक्छ ।

दैनिक ३० मिनेट समय दिनुस्
योग सबै व्यक्तिले गर्न आवश्यक छ । योगको लागि दिनमा ३० देखि ४५ मिनेट सम्म समय खर्च गर्दा राम्रो हुन्छ । नियमित योगले खानपान र निन्द्रा राम्रो हुन्छ । हार्डजोर्नीहरु बलियो हुन थाल्छन् । योग गर्दा १० मिनेट फिजिकल, १० मिनेट श्वास—प्रश्वास र १० मिनेट मनलाई आनन्द बनाउने ध्यान गर्न सकिन्छ । मिलाएर योग गर्न सकियो भने स्वास्थ्यको लागि राम्रो हुन्छ ।

कुन समयमा योग गर्दा राम्रो हुन्छ ?
योग खालीपेटमा गर्दा राम्रो मानिन्छ । यो भनेको बिहानको समय हो । कतिपय खाना पछि गर्ने आसनहरु पनि छन् । श्वासप्रश्वास सम्बन्धी प्राणायम बिहानको समयमा गर्दा राम्रो हुन्छ । योग बिहानको समयमा गर्दा दिनभरीको लागि राम्रो हुन्छ र आनन्द पनि हुँन्छ । बिहान गर्ने विभिन्न योगहरु पनि छन् । बेलुका ध्यान गर्दा राम्रो हुन्छ ।

आसन, प्राणायम र केही योगक्रियाहरु बिहान गर्दा राम्रो हुन्छ ।  योग गर्ने समय नभएको खण्डमा भने खाना खाएको ३ घण्टा पछि र खाना खानु भन्दा १५ देखि २० मिनेट पहिला गर्दा फाइदाजनक हुन्छ । योग नेपालीहरुको परम्परा जस्तै हो । पहिला योगलाई प्राथमिकता दिइएको थियो । बीचमा बेवास्ता गरियो तर अहिले अन्य राष्ट्रले पनि योगलाई महत्वका साथ हेर्न थालेपछि नेपालमा पनि योगलाई प्राथमिकता दिन थालिएको छ ।

योग कस्ता व्यक्तिले गर्ने ?

योग सबै उमेरका व्यक्तिले गर्न सकिन्छ । बालबालिकाको हकमा भने ३ देखि ४ वर्षको उमेरबाट नै योग सुरु गराउन सकिन्छ । योगले बालबालिकाको बौद्धिक क्षमता वृद्धि गर्नसहयोग गर्छ । यस्तै वृद्धवृद्धाले पनि गर्न जरुरी हुन्छ । रोगले सिकिस्त भएको मान्छेले पनि योग गर्न जरुरी छ ।

गर्भवती महिलाले पनि योग गर्नुपर्छ । गर्भवती महिलालाई स्ट्रेस हुन्छ । विभिन्न किसिमका लक्षणहरु गर्भावस्थामा देखिन्छन् । त्यो बेलामा मनलाई शान्त पार्ने खालको प्रणायम, ध्यानहरु गर्न सकिन्छ भने पेटमा बल नपर्ने खालको हात खुट्टा चलाउने, लामो —लामो श्वास फेर्ने खालको शरीरिक अभ्यास गर्न सकिन्छ ।

योगले शरीरमा पुर्याउँने फाइदाहरु

-शरीरका रक्तसंचार प्रणालीलाई व्यवस्थित गर्छ ।

-मुटु र रगतका नलीलाई सफा गर्ने काम गर्छ ।

-पाचन क्षमता बढाउँछ ।

-शरीरमा धेरै क्यालोरी छ भने योग गर्दा घट्छ ।

-शरीरको जोर्नीहरुलाई खुकुलो बनाउँछ । जसले गर्दा शरीरमा यूरिकेसिड, बाथजस्ता रोगहरुलाई नियन्त्रण गर्छ । समग्रमा भन्नु पर्दा रोग नलाग्नको लागि योगले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । शरीरलाई स्वास्थ राख्न र आयू लम्ब्याउने काम योगले गर्छ ।

– मस्तिष्कलाई सफा बनाउँने काम गर्छ । मन स्वास्थ भएको खण्डमा हरेक कुराहरु सकारात्मक रुपमा अगाडि बढ्छ ।

@विभिन्न एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति: Mar 5, 2020

प्रतिक्रिया दिनुहोस्