Logo
७ जेष्ठ २०८१, सोमबार
(May 10, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेताहरूसँग छुट्टाछुट्टै छलफलमा सभामुख

२८ वैशाख, काठमाडौं । प्रतिनिधि सभाको बैठकलाई सौहार्द बनाउन सभामुख देवराज घिमिरेले नेताहरूसँग छुट्टाछुट्टै संवाद गरिरहेका छन् ।

अधिवेशनको पहिलो दिन नै प्रतिनिधि सभामा अवरोध हुन नदिन सभामुखले पहल जारी राखेको नेताहरू बताउँछन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा सभामुख घिमिरेले सत्तारुढ र प्रमुख प्रतिपक्षी दलहरूसँग छुट्टाछुट्टै संवाद गरिरहेका छन् ।

प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको थियो । त्यस अगाडि साढे १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक डाकिएको थियो । तर दिउँसो सवा २ बजेसम्म कार्यव्यवस्था परामर्श समितिको बैठक नै बस्न सकेको छैन ।

बिहान दलहरूको संसदीय दलको बैठक रहेको र दलका बैठक लम्बिएका कारण कार्यव्यवस्था परामर्श समितिको बैठक समयमै सुरु हुन नसकेको संसद् सचिवालयका अधिकारीहरू बताउँछन् ।

अहिले सभामुख घिमिरेले दलहरूसँग संवाद गरिरहेका छन् । कांग्रेसले सहकारी ठगीका सम्बन्धमा संसदीय छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने अडान लिएको छ ।

सभामुख घिमिरेले पहिलो दिन दलीय आधारमा नेताहरूलाई बोल्न दिने र त्यसपछि दलहरूका आफ्ना कुरा राख्न सक्ने वातावरणका लागि कांग्रेससँग आग्रह गरेका छन् । यसका लागि विधेयक अगाडि बढाउने लगायतका कार्यसूची झिकेर जान सकिने सभामुख घिमिरेको प्रस्ताव रहेको छ ।

आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी व्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने सम्भावित कार्यसूची छ । सभामुख घिमिरिले बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयनको जानकारी पनि गराउने छन् ।

दलीय आधारमा नेताहरूले बोलेपछि दुई वटा विधेयक अगाडि बढाउने सम्भावित कार्यसूची छ ।
सम्भावित कार्यसूची कार्यव्यवस्था परामर्श समितिबाट अनुमोदन भएमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्नेछन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने पनि सम्भावित कार्यसूची छ ।

दलीय आधारमा हुने सम्बोधनका लागि कांग्रेस तयार भए यी दुई वटा विधेयक अगाडि बढाउने कार्यसूची झिकेर जान सकिने प्रस्ताव सभामुखले राखेका हुन् । यसमा सत्तारुढ दलहरू पनि सकारात्मक छन् ।

प्रकाशित मिति: May 10, 2024

प्रतिक्रिया दिनुहोस्