Logo
१८ बैशाख २०८१, मंगलबार
(February 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तरीमा मुस्लिम सम्मेलन नगर्न गृहको फेरि अर्को आदेश, भारतीय सुरक्षा निकायले चासो

प्रदेश २ स्थित सप्तरीको बोदेबरसाइन नगरपालिका–५ जाजरमा शनिबारदेखि सुरु हुने भनिएको नेपाल इज्तमा २०२० नामको धार्मिक सभा अगाडि नबढाउन गृह मन्त्रालयले फेरि अर्को आदेश दिएको छ ।

गृह मन्त्रालयले आयोजकले प्रतिवद्वता पूरा नगरेको भन्दै मुस्लिम समुदायको धार्मिक सभामाथि रोक लगाएको हो । बिहीबार दिउँसो ४ बजेदेखि नेपाल–भारत सीमासमेत सिल गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

धार्मिक सभामा नेपालसहित भारतका मात्रै मुस्लिम धर्माम्बलीको सहभागिता हुने बताइए पनि विश्वका धेरै देशका मुस्लिम धर्मावलम्बीहरुको सहभागिता गराइएको भन्दै गृह मन्त्रालयले कार्यक्रम नगर्न भनेको स्रोतले जनाएको छ ।

गृह मन्त्रालयले बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरीलाई पत्राचार गरी कार्यक्रम स्थगित गर्न भनेको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी खनालले आयोजकहरुद्वारा नेपाल र भारतका मात्रै मुस्लिम धर्माम्बली बोलाउने जनाइए पनि विश्वका विभिन्न देशबाट मुस्लिमहरु आएका कारण मन्त्रालयबाट यो कार्यक्रम नगर्न भनिएको बताए ।

गृह मन्त्रालयले कार्यक्रम स्थगन गर्ने आदेश दिएपछि सम्भावित दुर्घटना हुन नदिन प्रशासनले बोदे बर्साइन नगरपालिकाको जाँजरमा ठूलो संख्यामा प्रहरी खटाएको छ ।

सप्तरीको बोदे बर्साइन नगरपालिकामा आगामी फागुन ३ गतेदेखि ५ गतेसम्म यो धार्मिक सभाको आयोजना गरिने तयारी थियो । यसका निम्ति सबै तयारी पूरा भइसकेको आयोजक समितिले बताएको छ ।

सयौं बिघा जग्गा ओगटेको धार्मिक सभा इज्तमा २०२० स्थलमा हजारौंको संख्यामा मानिस अटाउने क्षमताको पण्डाल बनाउने काम अन्तिम चरणमा पुगेको छ । विशिष्ट अतिथिहरूलाई बस्न समेत केही थप पण्डालको निर्माण गरिएको छ ।

कार्यक्रमस्थलमा दुुई हजारको संख्यामा अस्थायी शौचालय निर्माण भएको छ भने पण्डालको चारैतिर सहज आवत जावतका लागि अस्थायी सडकको निर्माण कार्यसमेत पूरा भइसकेको छ ।

भीडभाडको व्यवस्थापन, सुरक्षा व्यवस्था, खानेपानी तथा सरसफाइको समस्या, खानपीन तथा आवासीय समस्या, सम्भाव्य आगलागी, चोरी, स्वास्थ्य शिविर, नजिकको बोर्डरमा प्रवेश सम्बन्धी तयारी गरिसकिएको छ ।

यसै गरि नेपाल मुस्लीम संध प्रदेश एकका संयोजक इसराईल मन्सुरीले देशका विभिन्न भागमा यस अगाडी समेत शान्तीपुर्वक रुपमा हुदै आएको इज्तम यस पटक समेत सवै तयारी गरेको अवश्थामा अन्तीम समयमा रोक लगाउनु दुखःद भएको बताउदै सरकारले सुरक्षा प्रदान गरि कार्यक्रमलाई सुचारु गराउन माग गरेका छन ।

उनीसगै सुनसरीका निर्वाचित जनप्रतिनिधि तथा हरिनगर गाउपालिकाका अध्यक्ष गफार अन्सारी र कोशी गाउपालिकाका अध्यक्ष ऐयुव अन्सारीसहितको अगुवाहरुको टोलीले सप्तरीमा भएको तयारीका बारेमा स्थलगत रुपमा निरिक्षण गरि फागुन ३ गतेदेखि ५ गतेसम्म हुने नेपाल इज्तमा २०२० लाई सरकारले रोक्न आदेश दिएकाले सरकारले पुर्ण सुरक्षा प्रदान गरि सहज रुपमा कार्यक्रम संचालन हुने वातावरण बनाउन माग गरेका छन ।

भारतीय सुरक्षा निकायले चासो
यता इस्लामिक सम्मेलनबारे भारतीय सुरक्षा निकायले चासो देखाएका छन् ।
बुधबार सीमावर्ती भारतको लौकही थानाका प्रमुख अरविन्द कुमार सम्मलेनस्थल पुगेर सप्तरीका सुरक्षा अधिकारीसँग भेटघाट गरेका छन् ।

सम्मेलनमा पाकिस्तानी नागरिकको घुसपैठ हुन सक्ने भन्दै भारतीय सुरक्षा अधिकारीले चासो दिएका हुन् । सम्मेलनको निहुँमा घुसपैठ हुन सक्ने भन्दै सीमामा सशस्त्र सुरक्षा बल(एसएसबी) को संख्या बढाइएको छ ।

सम्मेलनस्थलमा सुरक्षाकर्मी थपिँदै
शनिबारदेखि सुरु हुने मुस्लिम समुदायको इज्तिमा सम्मेलनलाई मध्यनजर गर्दै सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । सम्मेलनस्थलमा नेपाल प्रहरीका तीन सय र सशस्त्र प्रहरीका दुई सय सुरक्षाकर्मी थपिएको छ ।

त्यस्तै दङ्गा नियन्त्रण गण दुहबीबाट पनि थप टोली आउँदै गरेको सप्तरीका सुरक्षा अधिकारीले बताएका छन् । बिहीबार नेपाल र भारत बाहेक अन्य मुलुकका मुस्लिम समुदायसमेत सम्मेलनमा सहभागी हुन आएको भन्दै गृह मन्त्रालयले बिहीबार उक्त सम्मेलनमा रोक लगाएको थियो ।

आयोजक समितिले बंगलादेश र पाकिस्तानबाट आएका धर्मगुरुहरुलाई फर्काउने र यसलाई अन्तर्राष्ट्रियकरण नगर्ने प्रतिबद्धता जनाएपछि गृह मन्त्रालयले सम्मेलन आयोजनाका लागि गृह मन्त्रालयले पुनः अनुमति दिएको छ ।

प्रकाशित मिति: Feb 14, 2020

प्रतिक्रिया दिनुहोस्