Logo
६ जेष्ठ २०८१, आईतबार
(February 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दैलेखमा पेट्रोलियम पदार्थ रहेको पुष्टि

दैलेख क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भएको छ । विगत चार महिनादेखि शुरू गरिएको अन्वेषणले सो क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भएको पेट्रोलियम अन्वेषण परियोजनाले जनाएको छ ।

परियोजनाका प्रमुख सुधीर रजौरेले पेट्रोलियम अन्वेषण तथा प्रवद्र्धन परियोजनाले पछिल्लो समय गरेका भौगर्भिक तथा अन्वेषणको परिणामले यस क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको सुनिश्चित भएको जानकारी दिए ।

 

उनले भने, ‘दैलेख क्षेत्रमा पाइएको कच्चा तेल र निरन्तर बलिरहेको ग्यासले सो क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको सम्भावना यसअघि नै प्रबल थियो तर अहिले भइरहेको अध्ययन र अन्वेषणले सो सम्भावनालाई सुनिश्चितता प्रदान गरेको छ ।’

अहिलेको अध्ययनका क्रममा सो क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको केही वैज्ञानिक प्रमाण (इभिडेन्सेज) र आधारहरू फेला परे पनि राष्ट्रिय हित र गोपनीयताका कारण त्यसलाई सार्वजनिक गर्न नमिल्ने उनले स्पष्ट पारे। ‘अहिले भइरहेको अध्ययन परिणामले नेपालको क्षेत्रमा पेट्रोलियम पदार्थ छ भन्ने आधारलाई सुनिश्चितता प्रदान गरेको छ, पेट्रोलियम पदार्थ छ छैन भने द्विविधाको अन्त्य भएको छ,’ उनले भने, ‘दैलेख क्षेत्रमा पेट्रोलियम पदार्थ रहेकोमा अब कुनै शङ्का गर्ने ठाउँ रहेनन्, अबको खोज, अध्ययन र अनुसन्धान पेट्रोलियम पदार्थको परिमाण र क्षेत्रका लागि मात्र हो ।’ अहिलेसम्मको परिणामले यस क्षेत्रमा थप काम गर्न उत्साहित बनाएको उनले बताए।

 

पेट्रोलियम पदार्थको क्षेत्र र परिमाणबारे थाहा पाउन ‘ड्रिलिङ’ गर्ने उपयुक्त ठाउँको खोजीका लागि अहिले ‘साइस्मिक सर्वे’ र ‘म्याग्नेटु टेल्रिक सर्वे’ भइरहेको बताउँदै उहाँले अहिलेसम्म ‘साइस्मिक सर्वे’को काम ७० प्रतिशत र ‘म्याग्नेटु टेल्रिक सर्वे’को काम शतप्रतिशत सम्पन्न भइसकेको जानकारी दिए ।

अबको तीन हप्तामा ‘साइस्मिक सर्वे’को काम पनि सम्पन्न हुने उहाँले बताउनुभयो । पेट्रोलियम पदार्थको परिमाण र क्षेत्र (पेट्रोलियम रिजर्भ वायर) पत्ता लगाउनका लागि सो क्षेत्रमा साढे चार किलोमिटर गहिराइसम्म ‘ड्रिलिङ’ गरिने जानकारी उनले दिए । उनले भने, ‘साइस्मिक सर्वे’मा जमिनमा भूकम्पन्न उत्पन्न गरी कम्पन सेन्सर यन्त्रको रेकर्डमार्फत जमिनमुनिको बनावट थाहा पाइन्छ र ‘ड्रिलिङ’ गरिने उपयुक्त ठाउँको पत्ता लगाइन्छ ।’ गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति: Feb 12, 2020

प्रतिक्रिया दिनुहोस्