Logo
५ जेष्ठ २०८१, शनिबार
(September 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डले फेरि झुटको खेती गरेको थारु नेताहरुको आरोप

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई झुटको नयाँ खेतीका रुपमा आफूहरुले बुझेको थारु नेताहरुले बताएका छन् ।

आइतबार सुनसरीमा आयोजित जितिया महोत्सवको कार्यक्रममा प्रचण्डले टीकापुर घटनाको झुठा मुद्दा खारेज गर्ने विषयमा केहीदिन पहिले बालुवाटारमा भएको छलफलमा सैद्धान्तिक सहमति जुटिसकेको बताएका थिए । टीकापुर घटनापछि फरार रहेकै अवस्थामा रेशमले टीकापुरमा भारी मतान्तरले चुनाव जितेका थिए ।

जन्मकैदको फैसलापछि हाल उनी जेलमा छन् । हाल पुनरावेदनमा रहेको उक्त मुद्दा खारेज गर्ने प्रक्रिया समेत सुरु भइसकेको र छिट्टै जेलमा रहेकाहरु रिहा हुने प्रचण्डको दाबी थियो ।

टीकापुर घटनाको मुद्दामा अहिले जेलमा रहेका प्रतिनिधिसभा सदस्य रेशम चौधरी पनि स-सम्मान जेलमुक्त हुने संकेत प्रचण्डले गरेका थिए ।

उनले थारु समुदायलाई इमानदार, मेहनती र सोझो जातीका रुपमा संसारले चिने पनि केही टाठाबाठाहरुले वर्षौदेखि हेप्दै फुटाउ र शासन गरका रुपमा प्रयोग गरेको चर्चा गरेका थिए । तर प्रचण्डको यो अभिव्यक्तिलाई थारुको मन जित्ने अर्थमा मात्रै बुझ्न सकिने थारु नेताहरुले प्रतिक्रिया दिएका हुन् ।

‘प्रचण्डले यसअघि पनि कैयौँ पटक टीकापुर घटनालाई राजनीतिक रुपमा हेरिनुपर्ने र राजनीतिक रुपमै समाधान गरिनुपर्ने अभिव्यक्ति दिँदै आए, तर मुद्दा फिर्ता लिने सवालमा सिन्को समेत भाँचेनन्, ‘थरुहट थारुवान राष्ट्रिय मोर्चाका कैलाली अध्यक्ष माधव थारुले भने, ‘प्रचण्डले सुनसरीमा दिएको अभिव्यक्ति कुनै नौलो होइन, यो भुलभुलैयाको निरन्तरता मात्रै हो।’

उनले प्रचण्डले थारुका कार्यक्रममा गएर फेरि पनि भुलभुलैयामा पार्न खोजेको आरोप लगाउँदै भने, ‘यदि साच्चै मुद्दा फिर्ता लिनेबारे सरकारी तहमा सहमति जुटेको हो भने जनताका माझमा उक्त सहमति सार्वजनिक गरियोस् ।’

प्रचण्ड लगायत नेताहरुले चाहेमा टीकापुर घटनाको राजनीतिक समाधान एक घण्टामै निकाल्न सकिने भए पनि उनीहरुले नचाहेको थारुले बताए ।

०७२ साल भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलनका क्रममा हिंसा भड्किँदा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठजना प्रहरी र एक नाबालकको ज्यान गएको थियो ।

उक्त घटनामा रेशम चौधरीसहित ५८ जनाविरुद्ध अदालतमा मुद्दा परेको थियो । कैलाली जिल्ला अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला गरेको छ ।

 

प्रकाशित मिति: Sep 23, 2019

प्रतिक्रिया दिनुहोस्