Logo
१७ बैशाख २०८१, सोमबार
(August 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीमानसँग ‘भिडियो कल’ गर्दागर्दै २४ वर्षीया अमृताले गरिन आत्महत्या

गण्डकी प्रदेश स्थित रुकुम जिल्ला घर भई हाल बूढानीलकण्ठ नगरपालिका-५ घर भएकी २४ वर्षीया अमृता बोहरा कुँवरले मध्यरातमा श्रीमानसँग ‘भिडियो कल’ गर्दागर्दै आत्महत्या गरेकी छन् ।

अमृताले झ्यालको ग्रिलमा कपडाको पासो लगाई झुण्डिएर आत्महत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार असार २१ गते बिहान ९ बजेसम्म अमृता नउठेपछि सासु पवित्रा कुँवर उनलाई बोलाउँन पुगिन् । तर, ढोका ढकढक्याउँदै लामो समसम्म बोलाउँदा पनि कुनै प्रतिक्रिया नजनाएपछि उनले प्रहरीलाई खबर गरेकी थिइन् ।

महानगरीय प्रहरी वृत्त महराजगञ्जका डीएसपी फणिन्द्र प्रसाईंले अमृताले साढे २ तले घरको दोस्रो तलामा झुण्डिएर आत्महत्या गरेको खुल्न आएको जानकारी दिए ।

घटनास्थलमा पुगेको प्रहरीले ढोका फोडेर हेर्दा अमृता झ्यालको ग्रिलमा झुण्डिएकी अवस्थामा फेला परेकी थिइन् । अमृताले आत्महत्या गरेको ३ दिनपछि आएको पोष्टमार्टम रिपोर्टमा शरीरमा कुनै चोटपटक देखिएको छैन भने झुण्डिएर आत्महत्या गरेको उल्लेख छ ।

अहिले पनि अमृताको शव टिचिङ अस्पतालमा बेवारिसे बनेको छ । घर पक्षले शव बुझ्छु भन्दा पनि माइती पक्षले शव बुझ्न नदिँदा शव अस्पतालमै अलपत्र बनेको हो ।

अमृताको दाइ नरबहादुर कुँवरले बेहोश बनाएर बहिनीलाई झुण्ड्याएर मारेको भन्दै श्रीमान राजन कुँवर, दिदी गोमा कुँवर, सासुससुरा पवित्रा र खड्क कुँवरविरुद्ध ज्यान सम्बन्धी कसुरमा जाहेरी दिएका छन् ।

परिवारले यातना दिने गरेको भन्दै बहिनीलाई झुण्ड्याएर मारेको आरोप लगाउँदै नरबहादुरले असार २६ गते किटानी जाहेरी दिएको महाराजगञ्जका प्रमुख डीएसपी प्रसाईंले जानकारी दिए ।

अमृताले भिडियो कल गर्दै आत्महत्या गरेको भोलिपल्टै राजन नेपाल फर्किए । नेपाल आउनासाथ उनीविरुद्ध माइती पक्षले किटानी जाहेरी दिएपछि राजन पक्राउ परे । पक्राउ परेका राजन ३१ हजार धरौटी तिरेर रिहा भइसकेका छन् ।

तर, दिदी गोमा, सासु पवित्रा र ससुरा खड्क भने अहिलेसम्म फरार छन् ।

झुण्डिएको ठाउँमा मोबाइल..

आत्महत्या गरेकी अमृताको साथबाट मोबाइल बरामद भएको छ । झुण्डिएको ठाउँमूनि मोबाइल फेला परेपछि मोबाइल परीक्षणको लागि प्रहरी हेडक्वार्टर पठाइयो ।

मोबाइलमा अमृताले आत्महत्या गर्नुभन्दा केही समयअघि मात्र विदेशमा रहेका श्रीमान राजनसँग कुराकानी गरेको पाइएको छ । अमृताले राजनलाई भिडियो कल गर्दै आत्महत्या गरेकी प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार राजनसँग भिडियो कल गर्नुभन्दा अघि अमृताले आफू राती २ बजे ‘सुसाइड’ गर्छु भन्दै ‘म्यासेज’ समेत गरेकी थिइन् । तर, अमृताले १२ बजे आत्महत्या गरेको पाइएको हो ।

श्रीमानसँग भिडियो कल गर्दै आत्महत्या

राजनलाई भिडियो कल गर्दै अमृताले राती १२ बजे आत्महत्या गरेकी प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । झ्यालको ग्रिलमा कपडाको पासो लगाएर आत्महत्या गर्नुअघि अमृताले राजनलाई भिडियो कल गरेकी हुन् ।

भिडियो कल गरेकी अमृताको श्वास रोकिएपछि मोबाइल आत्महत्या गरेको ठाउँमूनि भेटिएको हो । सोही मोबाइलको आधारमा अमृताले आत्महत्या गर्नुको कारण पनि खुलेको प्रहरीको भनाई छ ।

राजन विगत २ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा कतारमा छन् । कतारमै रहँदा भीयतनाम युवती न्हूसँग राजनको फेसबुकमार्फत चिनजान भएको बताइएको छ ।

सोहीक्रममा उनीहरुबीच प्रेम अंकुराएको र न्हूको आग्रहमा राजन अगस्ट पहिलो साता भीयतनाम जाने तयारीमा रहेका थिए । पछि राजनको फेसबुकवाल हेर्दै जाँदा न्हूले अमृतासँगको फोटो भेटेपछि घटनाले नयाँ मोड लिन पुगेको थियो ।

न्हूले राजनलाई सोध्दा आफ्नी श्रीमती भएको बताएपछि नै अमृतालाई न्हूले फ्रेन्ड रिक्वेस्ट पठाएको हुन सक्ने अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए ।

बिहेलगत्तै अमृता पनि कतार गएकी थिइन्

३ वर्षअघि राजन र अमृताको विवाह भएको थियो । बिहे भएको ६ महिनापछि दुवैजना वैदेशिक रोजगारीको लागि कतार गएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

काम गर्न थालेपछि अमृता बिरामी परिन् । अन्ततः कतार गएको ६ महिनामै अमृता नेपाल फर्किइन् भने राजन कतारमै बसे ।

अमृताले किन गरिन् आत्महत्या

असार २० गते ८ बजेतिर अमृतालाई नयाँ नामबाट फेसबुकमा ‘फ्रेन्ड रिक्वेस्ट’ आयो । न्हू नाम गरेको । यहीबीचमा अमृतालाई तत्कालै ‘हेल्लो’ भन्दै म्यासेज आउँछ ।

अमृताले पनि रिप्लाई दिन्छिन् ‘हाई’ !

त्यसपछि…उनीहरुबीच कुराकानी भयो

न्हू : ‘ह्वयर आवर यू’

अमृता : नेपाल । एण्ड यू ?

न्हू : भीयतनाम ।

भीयतनामबाट म्यासेज गरेको न्हूले एक्कासी अमृतालाई ‘तिम्रो डिभोर्स’ भएको हो भनेर सोधे । डिभोर्सको कुरा गरेपछि अमृताले शंका गर्छिन् र त्यो मान्छेले किन सोध्यो भनेर चासो गर्छिन् । र विस्तारै सबै कुरा बाहिर ल्याउन खोज्छिन् ।

कुराकानीकै क्रममा भीयतनामका न्हू भनिएको मान्छे अरु कोही नभएर श्रीमानको ‘प्रेमिका’ रहेको थाहा पाइन् । अमृताले न्हूलाई फकाई–फकाई श्रीमान राजनको बारेमा सबै जानकारी पाइन् ।

अन्ततः न्हूले राजन आउँदो अगस्ट ४ मा भीयतनाम आउन लागेको भन्दै अमृतलाई म्यासेज गरिन् । राजन भीयतनाम आउने भनेर आफूले होटल समेत ‘बुक’ गरिदिएको भन्दै न्हूले अमृतालाई म्यासेज पठाइन् ।

आफूहरुबीच भिडियो कल भएको ‘स्क्रिन सर्ट’ गरेर पठाइन् ।

त्यसपछि अमृताले न्हूलाई राजन आफ्नो श्रीमान भएको बताइन् भने राजनको र आफ्नो फोटो समेत पठाइन् ।

त्यसपछि न्हूले ‘सरी’ भन्दै म्यासेज गर्न छाड्छिन् । त्यतिबेला साँझको ८ बजिसकेको हुन्छ ।

त्यसपछि श्रीमानसँग अमृताको ‘म्यासेज’

श्रीमानको प्रेमिका भनिएकी भीयतनामकी युवती न्हूसँग ‘म्यासेज’ हुन छोडेपछि अमृताले श्रीमानलाई म्यासेज गर्न थाल्छिन् ।

अमृता : ‘न्हू’ को हो ?

राजन :  मलाई थाहा छैन ।

लगत्तै अमृताले जथाभावी म्यासेज गर्न थालिन् । यता राजनले सम्झाउन खोजे तर अमृताले मानिनन् ।

अमृता : न्हू तिम्रो प्रेमिका हो ?

बल्ल मुख खोल्छन् राजन ।

राजन : पहिला–पहिला कुरा हुन्थ्यो । आजकाल हुँदैन ।

अमृताले त्यसपछि न्हूसँग गरेको कुराकानीको ‘स्क्रिन सर्ट’ गर्दै पठाइन् । राजनले अमृतालाई सम्झाउन खोजे । तर, अमृता राजनलाई जथाभावी गाली गर्दै प्रश्न सोधिरहिन् ।

राजन : भोलि नेपाल आउँछु अनि बसेर सल्लाह गरौंला ।

अमृता : तँ नेपाल आउन्जेल म मरिसक्छु ।

राजन : त्यस्तो नभन । केही भएको छैन । म आउँछु ।

अमृता : रातीको २ बजे संसार त्याग्दै छु ।

राजन : के भयो ?

अमृता : ठिक २ बजे म आत्महत्या गर्छु । भोलि नेपाल आएर मेरो शव पशुपति लैजानु ।

राजन : त्यसो नभन ।

यतिबेलासम्म रातीको ११ बजेको हुन्छ । त्यसपछि उनीहरुबीच पटक–पटक गर्दै करिब ३० मिनेट जति म्यासेन्जरमा फोन हुन्छ ।

अमृताले त्यसपछि पनि राजनलाई म्यासेज गरिन्, ‘अब म मर्छु ।’ राजन सम्झाउन खोजिरहन्छन् । पहिलो पटक ११ः ५० मा अमृताले सलको पासो झ्यालको ग्रिलमा बाँधेर फोटो खिचेर राजनलाई पठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

त्यसपछि राजनले जति सम्झाउने प्रयास गरेको भएपनि उनले नमानेको प्रहरीले जनाएको छ ।  घाँटीमा पासो लगाएर राजनलाई फेरि म्यासेज गर्दै उनले भनेकी छिन्, ‘म मर्न लागें । एक्लै मर्न गाह्रो हुँदोरहेछ ।’

राजनले लेखे, ‘म छु नि त । त्यस्तो नगर । त्यसो भए म पनि मर्छु ।’

प्रहरीका अनुसार तनावका आपसरी भनाभनका बीच अमृताले ११ः५७ मा राजनलाई पासो घाँटीमा लगाउँदै भिडियो कल गरिन् । राजन हेर्न सक्दैनन् र म्यासेज गरिरहन्छन् । तर उनको केही लागेन ।

@रातोपाटीबाट

प्रकाशित मिति: Aug 18, 2019

प्रतिक्रिया दिनुहोस्