Logo
२ जेष्ठ २०८१, बुधबार
(July 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल-चीन सीमाको केरूङसम्म जान पाइने परिचयपत्र लिनेहरुको संख्या १० हजार बढी

नेपाल चीन सीमाको केरूङसम्म जान पाइने सीमा परिचयपत्र लिने रसुवाली दश हजार नाघेका छन् । अध्यागमन कार्यालय रसुवाका अनुसार हालसम्म परिचयपत्र लिनेको सङ्ख्या १० हजार ६३० पुगेको छ ।

यस्तोे परिचयपत्र लिनेमा जिल्लाका उत्तरगया, कालिका, नौकुण्ड, गोसाइँकुण्ड र आकाछोदिङ्मो गाउँपालिकामा स्थायी बसोबास गरिआएका र सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकलगायत विभिन्न जिल्लाबाट बसाइँ सरिआएका नागरिक रहेको बताइएको छ ।

सीमाक्षेत्रका बासिन्दाले अध्यागमन कार्यालयबाट प्रदान गरेको परिचयपत्रका आधारमा रसुवागढी नाकाबाट निर्बाध रूपले परिचयपत्र देखाई केरूङसम्म आवतजावत गर्नाका साथै केरूङमा बसेर व्यापार व्यवसाय समेत गरिरहेको अध्यागमन कार्यालयले जनाएको छ ।

परिचयपत्रको समयावधि एक वर्षसम्म बहाल रहने र एकएक वर्षमा नवीकरण गर्नुपर्ने प्रावधान रहेको बताइएको छ । करीब चार वर्षअघि अध्यागमन कार्यालय स्थापनापछि रसुवागढी नाकाबाट १० हजार १९१ पर्यटक चीन प्रस्थान गरेको र १३ हजार ७० जना चीनबाट आएको बताइएको छ ।

बीसभन्दा बढी राष्ट्रका नागरिक ओहोरदोहोर गरेको बुझिएको छ । गत आर्थिक वर्षमा अध्यागमन कार्यालयले प्रवेशाज्ञा शुल्कवापत रु ८६ लाख ५३ हजार राजश्व असुली गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।

प्रकाशित मिति: Jul 24, 2019

प्रतिक्रिया दिनुहोस्