Logo
११ श्रावण २०८१, शुक्रबार
(July 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिविको लापरवाही : नतिजा प्रकाशनमा संस्थागत नभई व्यक्तिगत त्रुटी भएको पुष्टि

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशनमा संस्थागत नभई व्यक्तिगत त्रुटी भएको त्रिविका रजिष्टार डिल्लीराम उप्रेतीले प्रष्ट पारेका छन् ।

संघीय संसद अन्र्तगत प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको मङ्गलबार बसेको बैठकमा रजिष्टार उप्रेतीले परीक्षा सञ्चालन देखि नतिजा प्रकाशनसम्मका प्रक्रियाहरुको फेहरिस्त प्रस्तुत गर्दे मार्क्स्लिपबाट मार्क लेजरमा नम्बर चढाउने समयमा व्यक्तिको त्रुटीका कारण ९ हुनुपर्नेमा ६९ भएको बताए ।

यद्यपि, ६९ अंक पाएका सुरेन्द्र कोइरालाले गोल्डमेडल भने प्राप्त नगरेको दावी गरे ।

बैठकमा सांसदहरुले परीक्षा प्रणालीदेखि नतिजा प्रकाशन सम्मको व्यवस्थापन चुस्त बनाउन त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको ध्यानाकर्षण गराएका थिए ।

९ अंक ल्याएका सुरेन्द्र कोइरालालाई अगाडि ६ थपेर ६९ पुर्याएको समाचार बाहिर आएपछि समितिले त्यसबारे छलफल गर्न रजिष्ट्रार र उपकुलपति तीर्थराज खनियाँलाई समितिमा बोलाएका थिए ।

समिति सदस्य गजेन्द्रबहादुर महतले त्रिविको लापरवाही र त्रुटीको जिम्मेवारी पनि सरकारले लिनुपर्ने र सरकार संचालनसँग जोडिने भएकाले त्यसतर्फ गम्भीर बन्न रजिष्ट्रारको ध्यानाकर्षण गराए ।

अर्का सदस्य अञ्जना विशंखेले भनसुन गरेर नम्बर थप गर्न सकिन्छ कि भन्ने अभिप्रायले रिटोटलिङ हुने गरेको र त्यसका लागि आफुहरुलाई समेत आग्रह गर्ने गरिएको बताइन् ।

‘माथि माथिकालाई भन्नुपर्दैन कम्प्युटरमा बस्नेहरुसँग तपाईहरुको कस्तो छ ?’ भन्ने प्रश्न सोध्ने गरिएको भन्दै उनले संलग्नलाई कारवाही गरि भविश्यमा त्यस्तो घटना नदोहोरिने प्रतिवद्धता जनाउनुपर्ने धारणा राखिन् ।

समिति सभापति जयपुरी घर्तीले नियतले नभई कर्मचारीले त्रुटी गरेको भनेर उम्कने अवस्था नभएको भन्दै परीक्षा र नतिजा प्रणालीमा देखिएका गम्भीर त्रुटी रोक्नेतर्फ गम्भीर बन्न आग्रह गरिन् ।

प्रकाशित मिति: Jul 2, 2019

प्रतिक्रिया दिनुहोस्