Logo
१२ श्रावण २०८१, शनिबार
(May 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘असुरक्षित’ भएपछि जानीजानी प्रहरीको फन्दामा युनुस अन्सारी परेको खुलासा

जाली नोटका कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका युनुस अन्सारीको ज्यानमाथि पछिल्लो खतरामा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । आफ्नो ज्यानमाथि खतरा भएकै कारण युनुसले पछिल्लो पटक आफूलाई जानी-जानी पक्रन लगाएको हुनसक्ने प्रहरीको आशंका रहेको छ ।

गत जेठ १० गते ७ करोडभन्दा बढी नक्कली भारतीय नोट लिन युनुस आफै त्रिभुवन विमानस्थल पुगेका थिए । त्यही बेला उनलाई नक्कली नोट ल्याएका पाकिस्तानी नागरिकसँगै पक्राउ गरिएको थियो । ‘विमानस्थलमा युनुसको उपस्थितिले उनी किन यति असावधान बने भन्ने प्रश्न उठेको छ । उनको ज्यानमाथि पछिल्लो समय थ्रेट बढेको थियो । कतै उनी पक्राउ पर्ने उद्देश्यले नै विमानस्थलमा त आएका थिएनन् । यसबारेमा पनि हामीले अनुसन्धान गरिरहेका छौँ,’ प्रहरी स्रोतले बतायो ।

त्रासमा थिए युनुस

यसअघि पनि जाली नोटको कारोवारमा संलग्न युनुसले पटक–पटक जेल जीवन बिताइसकेका छन् । जेलमै रहेको बेला उनीमाथि हत्याको प्रयास भएको थियो । २०७४ साल फागुनमा रिहा भएका उनी पछिल्लो समय आफूलाई सुरक्षित महसुश गरिरहेका थिएनन् । भारतीय जाली नोट तस्करीमा उनको संलग्नताले गर्दा भारतीय अण्डरवल्र्डका डन र भातरीय गुप्तचर संस्था ‘रअ’ को थ्रेटमा युनुस लगातार परिरहेका थिए ।

भारतीय मिडियाले भने युनुसलाई अन्डरवल्र्ड डन दाउन इब्राहिमको ‘नजिकको मान्छे’ भनेर चिनाएको छ । युनुसले दाउद र पाकिस्तानी एजेन्सी आइएसआईका लागि काम गर्ने बताएको छ । युनुसका पिता पूर्वमन्त्री सलीम मिया अन्सारी हुन् । दुवै जना भारतीय एजेन्सीको ‘रडार’ मा रहेको भारतीय मिडियाले उल्लेख गरेको छ ।

यसपटक जाली भारतीय नोटसहित पक्राउ पर्न अघि उनलाई हत्या गर्ने चेतावनी समेत दिइएको थियो । प्रहरी स्रोतका अनुसार यसअघि जेलमा भएको बेला हत्या गर्ने प्रयास गरेका मनमित सिंह भाटियाले नै उनलाई मार्ने चेतावनी दिएका थिए ।

युनुसले आफ्ना निकटस्तहरुलाई असुरक्षित रहेको कुरा पटक–पटक भन्दै आइरहेको प्रहरीले अनुसन्धानका क्रममा फेला पारेको हो । सन् २०११ मार्च १० मा अन्सारीमाथि भारतीय आपराधिक गिरोहका मनमित सिंह भाटिया सुन्धारास्थित कारागारभित्रै पुगेर आक्रमण प्रयास गरेका थिए ।

नक्कली भारतीय रुपैयाँ कारोबारको आरोपमा अन्सारी त्यतिबेला एक वर्षदेखि जेलमा थिए । कारागारभित्र आफन्तलाई भेट्न गएका भनिएका भारतीय नागरिक मनमितले अन्सारीमाथि गोली प्रहार गरेका थिए । हाल उनी जेलमा छन् । प्रहरी उच्च स्रोत भन्छन्, ‘कारागारमा रहेका भारतीय नागरिक मनमितले युनुस अन्सारीलाई नेपाल प्रहरीले केही नगरे आफूले त्यसै नछाड्ने धम्की दिएको पाइएको छ ।’

‘रअ’ को संलग्नता ?

प्रहरी सुरक्षा घेरामा सुरक्षित बसेका युनुसलाई जेलभित्रै पनि खतरा टरेन । ०६७ साल फागुन २६ गते युनुसमाथि जेलभित्रै गोली प्रहार भएको थियो । तीनवटा सुरक्षा घेरा पार गरेर युनुस बसेको ठाउँंमा भारतीय अपराधी भनिएका मनमित हतियारसहित पुग्नुले नेपाल प्रहरीमाथि पनि प्रश्न उठेको थियो ।

त्यतिबेला युनुसलाई भारतीय गुप्तचरी संस्था ‘रअ’ र नेपाल प्रहरीकै सहयोगमा हत्या गर्ने योजना बनाइएको टिप्पणीहरु पनि भए । हत्या प्रयासपछि युनुसका बाबु एवं पूर्वमन्त्री सलिममिंया अन्सारीले ‘रअ’ सँग मिलेर तत्कालिन नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख डीआईजी राजेन्द्रसिंह भण्डारीले हत्या गर्ने योजना बनाएको आरोप लगाएका थिए ।

यसअघि लाजिम्पाटमा मारिएका जमिम साह र घन्टाघरअगाडी मारिएका फैजान अहमदको हत्यामा पनि मनमित सिंह गिरोहको हात रहेको विभिन्न अनुसन्धानले देखाएको थियो ।

२०६८ असोज ९ गते राजधानीको घन्टाघरअघि अहमदको गोली हानी हत्या गरिएको थियो । घटनामा संलग्न व्यक्तिका आधारमा अन्सारी, शाह र अहमदलाई गोली हान्ने मनमित सिंहको समूह रहेको निष्कर्ष केन्द्रीय अनुसन्धान ब्युरोले निकालेको थियो ।

युनुसलाई कारागारमा गोली हान्ने मनमित सिंह भाटिया, फैजान हत्याका मुख्य योजनाकार पल र जमिम घटनाका योजनाकार त्रिलोकबीच सम्बन्ध रहेको त्यतिबेला नै पुष्टि भएको थियो । जेलमा रहेका मनमितको पक्षमा वकालत गर्न वकिललाई रकम त्रिलोकको समूहले दिएको प्रहरी अनुसन्धानले देखाएको थियो ।

युनुस पक्राउको शृङ्खला

युनुस पहिलो पटक २०६६ पुस १७ गते थापाथलीस्थित ब्लुस्टार कम्प्लेक्सको कोठा नम्बर ६११ बाट पक्राउ परेका हुन् । २५ लाख ४४ हजार ५०० नक्कली भारतीय रुपैयाँ र तीन किलो ७०० ग्राम खैरो हेरोइनसहित पक्राउ परेका थिए । नक्कली भारुसहित अन्सारीसँगै काशीराम अधिकारी, सजाद महमद कुरामा र महमद इकवाल पनि पक्राउ परेका थिए ।

२०६७ असोज ७ गते युनुस अन्सारी, वीरेन्द्र कुमार साह, मुहर अन्सारी, उसा मुदिम अलाम, अफ्ताव अलाम अन्सारी, चोकल महतो, बहक अब्दल बहब, विनोख खत्री र टेक बहादुर कार्कीसहित दोस्रोपटक पक्राउ परे । काठमाडौं महानगरपालिका–९ बाट ४० लाख ९० हजार नक्कली भारतीय रुपैयाँसहित उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

त्यस्तै प्रहरीले २०७० माघ ९ गते युनुस अन्सारीसहित ३ जनालाई नक्कली भारतीय रुपैयाँसहित ठमेलस्थित पोताला गेष्टहाउसबाट पक्राउ गर्यो । अन्सारी २०७४ फागुनमा रिहा भएका हुन् ।  ३ वर्ष नौ महिना जेल सजाय भोगेर रिहा भएका अन्सारी अन्सारी जाली नोटको कारोबारमा संलग्न रहेको आरोपमा गत शुक्रबार फेरि पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा नक्कली नोट ल्याउने तीन जना पाकिस्तानी नागरिक र रिसिभ गर्न विमानस्थल पुगेका तीन नेपाली नागरिक गरी ६ जना रहेका छन् । कतार एयरको फ्लाइटबाट दोहा हुँदै नक्कली नोटसहित काठमाडौं आएका पाकिस्तानी नागरिक ४९ वर्षीय मोहमद अख्तर, ३९ वर्षीय नादिया अनवर र ६७ वर्षीय नसिर उद्दिन पक्राउ परेका हुन् ।

विगतमा नेसनल टेलिभिजन सञ्चालनमासमेत संलग्न रहेका अन्सारी प्रतिबन्धित भारु दुई हजारका नोट लिन रौतहट जिल्ला रमौली बैरिया नगरपालिका–१ बस्ने सालो सुयल खानलाई लिएर विमानस्थल पुगेका थिए । उनीहरुको गाडी चालक सूर्यविनायक नगरपालिका ५ बालकोट बस्ने सुदन रानाभाट थिए भन्दै सुजन पन्तले रातोपाटीमा लेखेका छन् ।

प्रकाशित मिति: May 27, 2019

प्रतिक्रिया दिनुहोस्