हिजोका हण्डीधारीहरु पत्रकारहरु जुनसुकै शासनकालमा मान मनितो हुने चलन कहिलेसम्म ?
आचार्यजीबाट ग्रेट धोका
पत्रकार गोविन्द आचार्यजीले पत्रकार महासँघको गएको चुनावताका मसँग फोनमा भन्नुभएको थियो, ‘कुसुम कमरेड, मेरो विरोधमा महासँघको अध्यक्षमा राजाको शासनमा हण्डी खाएका पत्रकार पनि खडा हुँदैछन्, उनलाई हराउनैपर्छ । उनी राजाबादी हुन्, अब गणतान्त्रिक पत्रकारहरुकै युग सुरु गर्नुपर्छ ।’
मैले मित्रलाई सघाउन भनी विभिन्न पत्रिका र अनलाइनमा ज्ञानेन्द्रको हण्डी खाने ति पत्रकारलाई महासंघमा हराउनुपर्छ भनेर लेखें । उनीसँग मेरो निजी पुर्वाग्रह त केही थिएन, मान्छे बेसै थिए । तर, गोविन्दजी, विष्णु सापकोटा (जुगल)जी र महेश्वरजीको सल्लाह र गणतान्त्रिक आवेगमा त्यसो गरिएको थियो ।
आखिर उनलाई महासँघको चुनावमा हराइयो र आचार्यजीलाई अध्यक्षको आसनमा बिराजमान पनि गराइयो । केही दिनअघि तिनै हण्डीधारीले राष्ट्रपतिबाट पदक थापेछन् । त्यतिले नपुगेर आज राष्ट्रिय पत्रकारीता पुरस्कारबाट पनि तिनै हण्डीधारी पत्रकारलाई वरिष्ठ पत्रकार सम्मान दिन लागिएको रहेछ ।
प्रचण्डको हालीमुहाली भएको सरकारमा प्रचण्ड प्रधानमन्त्री हुँदाका सल्लाहकार एवं महासँघका अध्यक्ष आचार्यजीको सल्लाहले यसमा काम नगर्ने कुरै आएन । हिजो मलाई हण्डी खाने पत्रकारको खोइरो खन्न उक्साउने, तर आज आएर तिनैलाई सम्मानीत गर्ने यस्तो दोहोरा चाला देख्दा मेरो मन खिन्न भएको छ ।
आखिर हामीले पनि २८ वर्षदेखि व्यवसायिक पत्रकारिता गर्दै आएका हौं । ज्ञानेन्द्रको शासनकालमा पक्राउ परेर महेन्द्र पुलीस क्लबमा रात काटेकै हौं । माइतीघरमा मण्डलामा प्रहरीको डण्डा खाएकै हौं ।
तर, हामीजस्ता लोकतन्त्रबादी श्रमजीवी पत्रकार राज्यका सुविधा, पुरस्कार र सम्मानको छेउसम्म पनि पुग्न नसक्ने, तर हिजोका हण्डीधारीहरुको चाहिँ जुनसुकै शासनकालमा मान मनितो हुने चलन कहिलेसम्म ? नेपाली पत्रकारितामा ‘धमला प्रवृत्तिहरु’ कै रजगज कहिलेसम्म ?
फेसबुकबाट