Logo
१९ बैशाख २०८१, बुधबार
(March 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्किङको समस्या बढेपछि काठमाडौँका ५ स्थानमा स्मार्ट पार्किङ सुरु

काठमाडौँ :  काठमाडौँ महानगरपालिकाले आगामी वैशाखदेखि नयाँ सडक आसपासका ५ स्थानमा ‘स्मार्ट पार्किङ’ सुरु गर्ने भएको छ । महानगरले ब्हिल्स ट्रलीयोर्स प्रालिसँगको सहकार्यमा यो सेवा शुरु गर्न लागेको हो ।

सवारीको अत्यधिक चाप व्यवस्थापन हुन नसक्दा सो क्षेत्रमा समस्या भएपछि यस किसिमको व्यवस्था गर्न लागिएको हो । वैशाखदेखि नयाँ सडकको रामेश्वर मिठाई पछाडिको भाग, विशाल बजार अगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडिको स्थानमा स्मार्ट पार्किङ शुरु हुनेछ । ती स्थानमा एक पटकमा करीब ८०० मोटरसाइकल र ४० वटा गाडी पार्किङ गर्न सकिन्छ ।

प्रालिका सूचना प्रविधि इञ्जिनीयर हरिश अग्रवालका अनुसार ती ठाउँमा स्मार्ट अटोमेटेड पार्किङ प्रणाली शुरु हुनेछ ।नयाँ सडक जानु अघि उपभोक्ताले मोबाइलबाटै कुन ठाउँ खाली छ भनेर हेर्न र पार्किङ गर्ने ठाउँ सुनिश्चित गर्न सक्छन् ।

त्यस ठाउँको व्यवस्थापनका लागि ‘गोप्रो’ क्यामरा सहितका पार्किङ सहयोगी राखिनेछन् । उनीहरुसँग भएको क्यामराले त्यस क्षेत्रमा भएका गतिविधि आवाजसहित अभिलेख गरेर राख्छन् ।

ती क्षेत्रमा पार्किङ गर्दा दुई पाङ्गे सवारीका लागि प्रतिघण्टा कर बाहेक २०, चार पाङ्ग्रेका लागि प्रतिघण्टा ५० र ६ पाङ्ग्रे वा सो भन्दा माथिका लागि प्रतिघण्टा २०० शुल्क लाग्नेछ । यसरी सङ्कलन गरिएको रकमबाट सञ्चालकले महानगरलाई राजश्व बुझाउनेछन् । काठमाडौँमा भएका सवारी साधन मध्ये औसतमा १० प्रतिशत समय मात्र सडकमा गुड्छन् । बाँकी समय पार्किङ गरिएका हुन्छन् । त्यसैले पार्किङको समस्या बढेको हो ।

प्रकाशित मिति: Mar 28, 2019

प्रतिक्रिया दिनुहोस्