Logo
२५ बैशाख २०८१, मंगलबार
(March 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राउत समर्थकबाट दोहोरिन थाले पुरानै गतिविधि : आफ्नो जित भएको दाबी, नारा कायमै

काठमाडौँ : शुक्रबार सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको थियो । उक्त सहमति भएको भोलिपल्ट नै राउतका कार्यकर्ताले आफ्ना पुरानै गतिविधि सञ्चालन गरिरहेको पाइएको छ ।

सहमतिको २ नम्बर बुँदामा ‘हामी आफ्ना राजनीतिक, सामाजिक, आर्थिक लगायतका उद्देश्यहरु प्राप्तिका निम्ति शान्तिपूर्ण एवं लोकतान्त्रिक बाटोबाट अघि बढ्नु पर्छ भन्ने मान्यतामा दृढ छौं । नेपालको संविधानमा प्रयुक्त जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराई–मधेस लगायत देशका कतिपय स्थानमा रहेका सन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौं’ उल्लेख छ ।

तर, यहि सहमतिविपरित राउतका कार्यकर्ताले सहमति भएको भोलिपल्ट नै सिरहा लगायतका जिल्लामा स्वतन्त्र मधेसको झण्डासहित प्रदर्शन गर्दै आफ्नो जित भएको दाबीसहित नारावाजी गरेका छन् । राउत र सरकारबीच भएको सहमतिको भाषाको विषयलाई लिएर सत्तारुढ दलमै विवाद भइरहेका बेला राउतका कार्यकर्ताबाट भएको यस्ता गतिविधिलाई सर्वसाधारणले समेत प्रश्न गरेका छन् ।

खासगरी गठबन्धन र राउतबीच भएको ११ बुँदे सहमतिको ६ नम्बर बुँदामा ‘स्वतन्त्र मधेस गठवन्धन तथा यसका नेता–कार्यकर्ताद्वारा यसअघि तयार पारिएका र पहिले प्रचारमा गएका किताव, पर्चा–पम्पलेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाईन सामाग्री आदिलाई भविष्यमा कारवाहीको बिषय बनाईने छैन’ भनिएको छ ।

त्यस्तै आगामी दिनमा संविधानको व्यवस्था र यस सहमति प्रतिकूलका प्रचार सामाग्रीहरु उत्पादन तथा वितरण गरिने छैन भनिएको छ । यसको अर्थ पूराना झण्डा या प्रचार सामाग्री प्रदर्शन या प्रकाशन नगर्ने भन्ने हो । तर, सहमतिको मसी सुक्न नपाउदै राउत समर्थकका पुराना गतिविधि दोहोरिन थालेपछि अनेकन आशंका उब्जिएको छ । ‘स्वतन्त्र मधेस’ को गतिविधिलाई बल पुग्नेगरी स्वयम् सिके राउतले पनि आफ्ना फेसबुकमा प्रचार सामग्री राखेका छन् ।

प्रकाशित मिति: Mar 10, 2019

प्रतिक्रिया दिनुहोस्