Logo
२४ बैशाख २०८१, सोमबार
(March 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महिनावारी स्वच्छता अभियानमा प्रियंका र आयुष्मानले चाले आधुनिक कदम

काठमाडौं :  अभिनेत्री प्रियंका कार्की र उनका प्रेमी अभिनेता आयुष्मान देशराज जोशीले धनुषाको तीन विद्यालयमा शौचालय निर्माण तथा प्याड वितरण गरेका छन् । उनीहरुले केही समय पहिले स्थापना गरेको आयंका फाउण्डेशनमार्फत निर्माण गर्दै छात्रालाई प्याड लगाउन समेत सिकाएका हुन् ।

फाउण्डेशनले धनुषाको जनता मावि, हरिपुर निगाहपुर मावि र आधारभूत माविमा एक कार्यक्रमका बीच उक्त सामग्री वितरण गरेको हो । हरेक विद्यालयमा २ वटा शौचालय, फल दिने ९ वटा बोटबिरुवा, २ थान डस्टबिन, सय थान ब्याग र ५० थान पुनः प्रयोग गर्न मिल्ने प्याड पनि वितरण गरेको अभिनेत्री प्रियंकाले बताइन् ।

फाउण्डेशनका कोषाध्यक्ष एवं सल्लाहकार सरोज ओली समेतको उपस्थिति रहेको कार्यक्रममा छात्रालाई महिनावारी सम्बन्धि सचेतना अभिवृद्धि पनि गरिएको छ । एउटा झोलामा ४ थान प्याड, २ थान अन्डरवेयर, साबुनलगायतका सामग्री रहेको उनले जानकारी दिईन् ।

कार्यक्रममा उनले प्याड प्रयोग गर्ने तरिका समेत छात्राहरुलाई सिकाएकी थिइन् । यस्तै, अभिनेता आयुष्मान देशराज जोशीले महिनावारी लाज र महिलाको मात्र विषय नभएको बताए । महिनावारी भएको समयमा महिलाको पीडा कम गर्न पुरुषले पनि सहयोग गर्नु पर्नेमा जोड दिए । न महिनावारी, न महिना पारी, म हुँ महिनाभरी लेखिएको टिर्सट लगाएर कार्यक्रममा उपस्थित भएका उनले यो आयंका फाउण्डेशनको तर्फबाट पहिलो सामाजिक काम भएको बताए ।

प्रियंका र आयुष्मानलाई खानेपानी मन्त्रालयले महिनावारी स्वच्छता दूतमा नियुक्त गरेको थियो । फाउण्डेशनलाई शौचालय निर्माणमा पञ्चकन्या ग्रुपले सहयोग गरेको छ भने प्याड वितरणमा केजीएच गू्रपले सहयोग गरेको हो । यस्तै, झोला, डस्टविन र बिरुवालगायतका सहयोग सामग्री प्रियंका र आयुष्मानले व्यक्तिगत रुपमा सहयोग गरेका हुन् ।

प्रकाशित मिति: Mar 5, 2019

प्रतिक्रिया दिनुहोस्